एयर इन्डियासँग रिसाइन् तापसी पन्नू

२०७६ बैशाख २३ सोमबार ११:५६:०० मा प्रकाशित

एजेन्सी । भारतीय एयरलायन्सहरुले यात्रुसँग गर्ने दुव्र्यवहार चर्चित छ । सामान्य नागरिक देखि लिएर ठुला हस्तीहरुलाई समेत तुच्छ व्यवहार गर्ने भारतीय एयरलायन्सहरुको सामाजिक संजालमा चर्को आलोचना हुने गरेको छ ।

नेपाली नागरिक तथा नेपालका सेलिब्रेटीलाई मात्र नभएर भारतीय नागरिकहरु र भारतीय सेलिब्रेटी पनि यस्ता भारतीय एयरलायन्सको दुव्र्यवहारको शिकार पटक पटक बन्ने गरेका छन् । यो काममा भारतको राष्ट्रिय ध्वजाबाहक एयर इन्डिया अग्र पंक्तिमा रहेको छ ।

सामान्य नागरिकहरुलाई अनेक बहानामा दुख दिन रमाउने यस एयरलायन्सका कर्मचारीले बलिउड नायिका तापसी पन्नूलाई पनि अनावश्यक दुख दिएको थाहा भएको छ ।

तापसी अन्य नायिका जस्तो चुप लागेर भने बस्ने स्वभावकी भने होइनन् । उनले एयर इन्डियाको कर्मचारीको कर्तूत सामाजिक संजाल मार्फत् सबैलाई बताएकी छिन् ।

उनले आफ्नो व्यस्त जीवनशैलीबाट फुर्सद पाइ बिदा मनाउन जान लाग्दा उक्त घटना भएको ट्वीटर मार्फत् बताएकी छिन् । उनले लेखेकी छिन्, ‘जब एयर इन्डियाले तपाईंको यात्राको शुरुवात खराब बनाउने पक्का छ, तपाईंलाई थाहा छ ? आफुलाई जान मनलागेको स्थान पुग्नु नै यो खराब यात्रा भन्दा ठुलो हो ।’ उनले कता जाने क्रममा यस्तो भएको भन्ने खुलाएकी छैनन् ।

उनले यसरी खराब व्यवहार र अनावश्यक ढिलाईको बारेमा खुलेर लेखेपछि एयर इन्डियाले ट्वीट मार्फत् जवाफ दिंदै के भएको हो जानकारी गराउन आग्रह गरेको थियो ।

तापसीले भने के भएको थियो आफ्नै कर्मचारीसँग सोध्नु बेश हुन्छ भन्दै रुखो जवाफ पठाएकी छिन् ।

यसअघि गत अप्रिल २७ तारिखको दिन पनि गायिका श्रेया घोषालले पनि एयर इन्डियाले आफुलाई दुख दिएको भन्दै ट्वीट गरेकी थिइन् ।

बलिउडमा थुप्रै काम गरिरहेकी तापसी अहिले फिल्म ‘साँड कि आँख’ मा व्यस्त छिन् । उक्त फिल्म आगामी अक्टोबर २५ मा रिलिज हुने तालिका रहेको छ ।

 

 

 

ताजा खबर