बाठी कोइलीको छलमा सोझी जुरेली

२०७६ बैशाख २२ आइतबार ०७:०४:०० मा प्रकाशित

काठमाडौँ, २२  वैशाख। ʻबाठी कोइली, सोझी जुरेलीʼ यी दुई चरालाई अध्ययन गर्ने चराविद्हरू यसै भन्छन् । भारतबाट नेपाल छिरेका कोइलीका विभिन्न प्रजातिले भने नेपाली चराको गुँडमा फूल पार्न भ्याइसकेको वरिष्ठ चराविद् डा.हेमसागर बराल बताउनुहुन्छ । काफल पाक्यो बोल्ने नेपाली कोइली बाहेक अन्यत्रबाट आएका कुहु कोइली, कुकु कोइली, पूर्र्वीय कोइली, चिवे कोइली, जुरे कोइली नेपालमै बच्चा कोरल्न व्यस्त छन् तर सबै कोइलीले आफ्नो होइन अर्काको गुँडमा बच्चा हुर्काएर लैजान्छन् ।

पहाडी चरो सानो जुरेली गुँडमा नभएका बेला कोइलीले उसका फूल फालेर आफ्ना फूल पार्छे । “जुरेलीले पत्तो नपाई स्याहार गर्दै बस्छे्,” बरालले थप्नुभयो, “बच्चा निस्कँदा बडेमानको चरा निस्कन्छ ।” सानो चरा फिस्टेको अवस्था पनि यतिबेला जुरेलीका झैँ हुन्छ । “सानो चराले सकिनसकी चारा खोजेर दिनभर खुवाउन हैरानी नै पर्छ,” अर्का चराविद् बासु बिडारी थप्नुहुन्छ, “फेरि कोइली सारै खन्चुवा हुन्छे ।” 

चितवन राष्ट्रिय निकुञ्ज आसपास बच्चा कोरल्ने फिस्टे चरोले हरेक वर्ष कोइलीका बच्चा हुर्काउँछे । कोइलीले थाहा नपाइ पारेको अण्डा छँदा भने उसको आफ्नै बच्चा पनि सँगै हुर्काउने चराविद् बिडारीले बताउनुभयो । 

उहाँका अनुसार चारवटा सानो चरा बराबर कोइलीको एउटा बचेराको भार हुन्छ । त्यो सकस आफ्नै बच्चा सम्झेर उनीहरू बेहोर्छन् । अझ

आपूmलाई बाठो ठान्ने कागको गुँडमा पनि कुकु कोइलीका बचेरा निस्कने बेला भयो । 

“बाठो कागको फूलसँग कोइलीले छलेर मिसाएको फूलबाट निस्केको बचेरा पहिले त कागजस्तै हुन्छ,” बराल भन्नुुहुन्छ, “तर ठूलो हुँदै जाँदा कागभन्दा ठूलो हुन्छन् ।” काग छक्क पर्छ । कोइलीका बच्चा स्याहार्न भने छाड्दैन । कोइली भने बेलाबेला लुकेर बच्चा हेर्ने र घुम्न जान्छे ।  

 जुरे कोइलीले पनि बगाले भ्याकुरको गुँडमा बच्चा कोरल्न छाड्छे । पूर्वीय कोइली घना जंगलमा रमाउने हुँदा त्यस्तै वातावरणमा बस्ने चराकोमा फूल पारेर हिंड्छ । 

यतिबेला नेपाली चरा जुरेली, फिस्टे, काग, काँडे भ्याकुर, गौंथली, बकुल्ला लगायत विभिन्न प्रजातिका चरा ओथारा बसिसकेका छन् तर जुरेली, काग, फिस्टेजस्ता चराले भने अरुका बच्चा कोरल्दै गरेको पत्तो पाएका छैनन् । 

बच्चा हुर्केपछि कोइलीले फर्कनेबेला फकाउँदै सँगै लान्छन् । जान नमान्ने बचेरा पछि आफ्नो अस्तित्व बुझेपछि अर्को वर्ष आउने हुलसँग जाने गर्छन् । 

गर्मी लाग्दै गर्दा नेपाल आएका हिउँदे चरा आफ्ना देश फर्किसके । बच्चा कोरल्ने अनुकूूल मौसम खोज्दै र चिसो छल्न हिँडेका चराका हुलका लागि नेपाली पर्यावरण अनुकूल भएको चराविद्हरू बताउँछन् ।

झण्डै ५० प्रजातिका चरा यतिबेला नेपालमा बच्चा कोरल्न बाहिरबाट आइपुग्छन् । कोइली बाहेक अन्य चराले आफ्नै गुँडमा आफै बच्चा   कोरल्छन् । 

मुरली चराका दुई प्रजाति कटुस टाउके र नीलपुछ«ेले पनि बच्चा कोरल्न गुँड लाइसकेको चराविद्का जानकारीमा छ । खडखडे हाँस, स्वेत आखिभाँैं चरा, ट्याक ट्याके चरा, मलाहा चिल, कालो गरुड पनि नेपाल भित्रिसके । कालो गरुड पूर्वी युरोप क्षेत्रबाट नेपाल आउँछ । त्यस्तै स्वेत आँखिभौँ रुसबाट नेपाल आइपुग्छ । 

श्रीलंकाबाट नेपाल आएको स्वर्गचरीले पनि चितवन राष्ट्रिय निकुञ्जमा फूल पारेर ओथारा बस्ने तर्खर गरेको बताइन्छ । लामो पुच्छर हुने यो चरा निकै सुन्दर हुन्छ । बच्चा कोरल्नकै लागि हरेक वर्ष नेपाल आउने चरा हो यो । 

लाल ठुँडे ठेउवा, भुँडीखोर, जलकौवा, बकुल्ला, भ्याकुर लगायत झण्डै दुई सय चराले यस मौसममा बच्चा कोरल्ने गरेको चराविद् टीकाराम गिरिले जानकारी दिनुभयो । 

उहाँका अनुसार बढीजसो दक्षिणी भेगबाट आउने फिरन्ते चरा र रैथाने चराका लागि बच्चा कोरल्ने अनुकूल मौसम फागुन, चैत र वैशाख महिना  हो । 

चार–पाँच वर्षको तुलना गर्दा पछिल्लो समय चराले अलिक छिटो बच्चा कोरलेको पाइएको उहाँ बताउनुहुन्छ । “कोटरे, गौंथली, जुरेली, बकुल्लाजस्ता स्थानीय चराले पनि छिटो छिटो गुँड बसालेको हो कि भन्ने महसुस गरिएको छ,” उहाँले थप्नुभयो, “जलवायु परिवर्तन र तापक्रम वृद्धिको असर हुनसक्छ ।” 

गोरखापत्रका अनुसार, यस सम्बन्धमा अझै विस्तृत अध्ययन भने हुन नसकेको उहाँको भनाइ छ । मौसम परिवर्तनका कारण चराको बसाइ सराइ, रहन सहनसँगै बच्चा कोरल्ने बानीमा पनि फरक आउने वरिष्ठ चराविद हेमसागर बराल बताउनुहुन्छ । हाल नेपालमा ८८७ प्रजातिका चरा रहेको अध्ययनले देखाएको छ ।

ताजा खबर