बाबुराम र मधेशवादी मिल्दा प्रचण्ड किन उत्तेजित ?  

२०७६ बैशाख २० शुक्रबार १२:०६:०० मा प्रकाशित

काठमाडौं । गत मंगलबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संघीय समाजवादी फोरम नेपाल नेतृत्वको सरकारले भ्रष्टाचार गरेर बेइमानी गरेकाले आफ्नै पार्टीको नेतृत्वमा प्रदेश २ मा सरकार बनाउन सक्ने बताएपछि एक किसिमले सत्तारुढ दलकै सत्ता समिकरणमा समेत हलचल मच्चिएको थियो । 

नेकपाका अर्का अध्यक्ष दाहालले प्रदेश २ मा नेकपाले सरकार बनाउने बताएकै कारण राजनैतिक वृत्तमा तातो बहस शुरु भएको हो । ललितपुरको खुमलटारमा पार्टी प्रवेशको कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै दाहालले प्रदेश २ मा नेकपा सबैभन्दा ठूलो पार्टी भएको नाताले सरकार पनि नेकपाले नै बनाउनुपर्ने बताएका थिए । प्रदेश २ मा बेथिति र अराजकता मौलाएको उनकोे निक्र्यौल थियो । प्रदेश २ को विकासका लागि नेकपाले अब नेतृत्व लिनुपर्ने बेला आएको उनको भनाइ थियो । प्रदेश २ मा नेकपानै सबैभन्दा ठूलो पार्टी भएकाले पनि प्रदेश २ को सरकार र मन्त्रीहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेको हेरेर बस्ने अवस्था नरहेकाले प्रदेश दुई  सरकारको नेतृत्व नेकपाले लिने भनाई उनले राखेका थिए । उपेन्द्र यादवको नेतृत्वमा रहेको तत्कालिन मधेशी जनाधिकार फोरम नेपालबाट अलग भई राजनैतिकरुपले निस्कृय जीवन बिताईरहेका फोरमकै तत्कालिन कोषाध्यक्ष ई.अमर यादवलाई पार्टी प्रवेश गराउने क्रममा दाहालका उपरोक्त अभिब्यक्तिहरु सार्वजनिक भएका हुन् । 

प्रदेश २ मा हाल सरकारको समिकरणमा रहेका संघीय समाजवादी दलका २९ र राष्ट्रिय जनता पार्टी नेपालका २५ सांसद रहेको संयुक्त सरकार   छ । यस बाहेक केन्द्र सरकारको नेतृत्वमा रहेको नेकपाका प्रदेशमा ३२ सिट छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको १९ सिट रहेको छ । 
प्रदेश २ को सरकारमा रहेको राजपाले केन्द्र सरकारसँग असन्तुष्टि जनाउँदै केन्द्रमा आफ्नो पार्टीले दिएको समर्थन फिर्ता लिएर सडक संघर्षमा जाने घोषणा यस अघि नै गरिसकेको छ । यस्तोमा केन्द्रमा सत्ता साझेदार नै रहेको संघीय समाजवादी फोरमको नेतृत्वमा रहेको प्रदेश सरकारका विरुद्ध सत्तासीन पार्टीकै अध्यक्षले सार्वजनिक बक्तव्य दिनुलाई राजनैतिक पर्यवेक्षकहरु अर्थपूर्ण रहेको बताउँछन् । 

विगत केही दिन यता सत्ता राजनीतिमा तिब्र गतिमा देखा परेको राजनैति उतार चढावकै कारण पनि अध्यक्ष दाहालले राजनैतिक ‘बार्गेनिंग’का हिसाबले मंगलबार आफ्नै सहयोगीलाई धम्क्याउन खोजेको अर्थमा लिईएको छ । नेकपा सरकारको सत्तासाझेदार पार्टी संघीय समाजवादी फोरमलाई आफ्नै पार्टीबाट बढिरहेको सरकार छाड्ने दवाव र उसले पछिल्लो समय पार्टी संगठन विस्तारका क्रममा बिचार मिल्ने अन्य राजनैतिक पार्टीहरुसँग बढाएको एकताको प्रस्तावमा पहिलो शर्त सरकार छाड्नु पर्ने जवाफ आएपछि पनि यतिबेला फोरम सरकारमै रहने वा सरकार छाडेर सडकमा जाने अन्तरद्वन्दबाट गुज्रिरहेको छ । 

फोरम निकट सुत्रका अनुसार यतिबेला पार्टी डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकता गर्ने बिषयमा सघन छलफलमा रहेका दुबैबीच एकताका सम्बन्धमा सहमती जुटेको छ । बुधबार राती अबेरसम्म बसेको संघीय समाजवाली फोरम र नयाँशक्ति नेपाका नेताहरुको बैठकले दुबै पार्टीबीचको एकता प्रकृयालाई अन्तिम रुप दिएका हुन् । नेतृत्वका बिषयमा यस अघि कुरा नमिलेर बिचमै तुहिएको एकता वार्ताले यस पटक भने नयाँ शत्तिःका संयोजक डा.बाबुराम भट्टराईलाई पहिलो वरियतामा अध्यक्ष, दोश्रो वरियतामा कार्यकारी अधिकार सहितको अध्यक्ष फोरमका उपेन्द्र यादव र तेश्रो वरियतामा फोरमकै अशोक राई रहने गरि सहमती कायम भएको छ ।  एकतापछि बन्ने पार्टीको नाम ‘नयाँ समाजवादी फोरम नेपाल’ राख्ने सहमति जुटेको छ ।

 यस्तै पार्टीको छाप फोरमकै हुने सहमति भए पनि झण्डका बारेमा भने दुबै पार्टीको आ आफ्नै अडान रहेको श्रोतले बताएको छ । समाचार सूत्रका अनुसार सबैमा सहमती भएको अवस्थामा झण्डाकै विवादमा रुमलिने स्थिति भने छैन । यसमा पनि नेताहरु बिच सहमती कायम हुने छ । फोरमले प्रयोग गरिरहेको चुनाव चिन्ह मशाललाई नै चुनाव चिन्हका रुपमा प्रयो गर्ने बिषयमा पनि दुबै पार्टीबीच सहमती भएको छ । यहि सहमतीलाई औपचारिकता दिन  नयाँ शक्तिले आज शुक्रबार र फोरमले भोली शनिबार केन्द्रीय समितिको बैठक बोलाएको छ । 

मंगलबार बेलुका पनि दुबै पार्टी नेताहरुबीच एकताका बिषयमा छलफल चलेको थियो । भएको छलफलले फोरममको आगामी बैशाख २१ गते बस्ने केन्द्रीय समितिको बैठक र नयाँ शक्ति पार्टीको आज बैशाख २० गते बस्ने कन्द्रीय समितीको बैठकबाट एकता प्रस्ताबको अनुमोदन गराए पछि दुबै पार्टीबीचको एकतालाई मुर्तरुप दिलाउने निष्कर्ष निकालिएको थियो । फोरमका तर्फबाट अध्यक्ष उपेन्द्र यादव र सह अध्यक्ष राजेन्द्र श्रेष्ठ र नयाँ शक्ति पार्टीका तर्फबाट संयोजक डा. बाबुराम भट्टराई र नवराज सुवेदी छलफलमा सहभागी थिए । यो छलफलका क्रममा पनि संघीय समाजवादीले सरकार छाडेर थाँती रहेका मागहरुलाइ बोकेर सडक संघर्ष गर्नुपर्ने कुरा उठेको र त्यसमा फेरमका तर्फबाट समेत सहमती आएको समाचार सूत्रले बताएको छ । 

एकता घोषणा र सरकार त्यागको घोषणा

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी बिच एकताको प्रयास भने यो नै पहिलो पटक हैन । यस अघि अघिल्लो पटक स्थानीय निर्वाचन लगत्तै यी दुबै पार्टीबीच एकता हुने हल्लाले राम्रै आकार लिएको थियो । तर पार्टी नेतृत्वका सवालमा दुबै नेताबीच सहमती कायम हुन नसकेकै कारण एकता प्रयासले सफलता नपाएपछि दुबै दल झण्डै एक बर्ष एकताको सम्बन्धमा निस्क्रिय जस्तै थिए । पछिल्लो पटक शुरु एकता वार्ताको प्रारम्भमै संघीय फोरमका तर्फबाट केही कार्यकारी अधिकार सहितको  वरिष्ठ नेताको पद विधानमै सिर्जना गरेर डा.भट्टराईलाई ब्यवस्थापन गर्न सकिने प्रस्ताव राखिए पछि वार्ताले गति लिएको हो ।

 एकताको बिषयमा निकै सकरात्मक स्थिति बन्दै गएको बताउने फोरम निकट सूत्रले, छिट्टै एकताको निर्णय सार्वजनिक हुने बताएको छ । विभिन्न शक्ति केन्द्रले खेलेर एकता प्रयास मै भाँजो हाल्ने सम्भावनालाई हेर्दै वार्तामा भएका प्रगतीलाई भने गोप्य राखिएको हो । 
 

फोरमको बैशाख २८,२९ र ३० मा जनकपुरमा गर्ने भनिएको महाधिवेसन पनि यो एकताकै कारण प्रभावित हुनेभएको छ । नयाँ शक्तिसँगको एकताले साकार रुप पछिको अहिलेको स्थितिमा फोरमले एकता महाधिवेसन गर्ने निर्णयका साथ महाधिवेसनलाई ६ महिना पर धकेल्ने छ । यस सम्बन्धमा भोली २१ गते शनिवार बस्ने पार्टी केन्द्रिय समितिको बैठकले निर्णय लिने बताईएको छ । 

राजपासँग पनि एकता

उता एकिकृत पार्टीको नेतृत्वलाई लिएर अबरुद्ध हुँदै आएको फोरम र राजपाको एकता वार्ता पनि अगाडी बढेको बुझिएको  छ । राजपाका तर्फबाट वार्ता संयोजक तोकिएका राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले राजपाका वरिष्ठ नेता महन्थ ठाकुरलाई पार्टीमा सर्वमान्य नेताका रुपमा स्वीकार गरिए एकिकृत पार्टीको अध्यक्षमा फोरम अध्यक्ष उपेन्द्र यादवलाई स्वीकार गरिने सन्देश फोरमलाई पठाएपछि यतिबेला फोरमका खेमामा थप उर्जा बढेको देखिएको छ । मधेशमा मधेशका एजेण्डा उठाएर आफ्नो दह्रो उपस्थिति दर्ता गराएका ठूला क्षेत्रीय दलहरुसमेत नयाँ शक्ति समेत मिलेर एकिकृत पार्टी निर्माण हुने सन्देश प्रचारित भएसँगै आफ्नो खास गरि पूर्व माओवादी पक्षको दह्रो उपस्थिति देखिएको प्रदेश २ मा समेत पार्टीको रानैतिक उपस्थिति खस्कने भय यतिबेला पुष्पकमल दाहालमा परेको राजनैतिक विश्लेषकहरुको विश्लेषण रहेको छ । यसैले पनि उत्तेजना स्वरुप दाहालको मंगलबारको अभिब्यक्ति सार्वजनिक भएको मधेश विज्ञहरुको तर्क रहेको छ । 

दाहाललाई चुनौती

दाहालको मंगलवार सार्वजनिक भएको प्रदेश २ को टिप्पणीका सम्बन्धमा संघीय समाजवादी फोरमका एक केन्द्रीय सदस्यले   भने, ‘प्रदेश दुईको राजनैतिक अंक गणित हेर्ने हो भने हामी र नेकपाको संख्यामा झिनो फरक छ । फोरम संख्यात्मक हिसाबले त्यहाँ नेकपाका तुलनामा अल्पमतमा रहेकै कारण मधेशका मुद्दामा समान विचार बोकेको राजपासँगको समिकरणमा हामीले सरकार बनाएका हौं । अब प्रचण्डजी आफ्ना ३२ जना प्रदेश सभासद लिएर कोसँग मिलेर सरकार बनाउने दाउमा हुनुहुन्छ त्यो हामीले बुझेका छैनौं । किनभने राजपाको साथ वहाँहरुले पाउनु हुने छैन । हैन अब काँग्रेससँगै मिलेर प्रदेश दुईमा सरकार बनाउने हो भने पनि सरकार निर्माणका लागि वहाँहरुसँग आबश्यक संख्या नै पुग्दैन पुगि हाले पनि नेपालको राजनीतिमा त्यो चरम सत्तास्वार्थ भन्दा अर्को अर्थ लाग्दैन ।’

यस्तै प्रदेश सरकार गिराएर आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने दाहालको घोषणाका सम्बन्धमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको खरो प्रतिकृया सार्वजनिक भएको छ । साप्ताहिक विमर्शको समाचार अनुसार, राउतले दाहाललाई सरकार बनाउन कसैले नरोकेको बताएका   छन् । राउतले, ‘प्रचण्डकै नेतृत्वमा रहेको केन्द्रीय सरकारले कत्तिको सुशासन कायम गरेको छ ? बालुवाटारको जग्गालाई कत्ति संरक्षण गरेको   छ ? उहाँले अरुतिर हेर्नुभन्दा आफूतिर फर्केर हेर्दा राम्रो हुन्थ्यो कि भन्दै अरुका बारेमा टिप्पणी गर्नेले पहिले आफ्नो अनुहार राम्ररी ऐनामा हेरेको    भए राम्रो हुने’ खरो टिप्पणी गर्दै प्रदेश २ मा नेकपाको नेतृत्वमा सरकार बनाउनसमेत चुनौती दिएका छन् ।  
 

ताजा खबर