ललितपुरको ऐतिहासिक ‘गोल्डेन टेम्पल’

२०७६ बैशाख २० शुक्रबार ११:३९:०० मा प्रकाशित

नेपालकै सबै बौद्धविहारमध्ये सुन्दर मानिने गोल्डेन टेम्पल अर्थात् हिरण्यवर्ण महाविहार त्यस क्षेत्रको आकर्षण नै हो । राजा भाष्करदेव बर्माले १२ औं शताब्दि तिर निर्माण गरेको यस महाविहार पर्यटकहरुको आकर्षणको केन्द्र विन्दु बन्ने गरेको छ ।

यो ललितपुरको क्वाबहालमा अवस्थित लोकेश्वर (गौतम बुद्ध) को स्वर्ण जडित पेगोडा शैलीयुक्त विहार हो । यस सुन जडित भएकोले पनि अंग्रेजीमा यसलाई गोल्डेन टेम्पल भनिएको हो ।  तिनतल्ले हिरण्यवर्ण महाविहारलाई नेवारीमा क्वाःबहाः भन्ने गरिन्छ ।

यस महाबिहारमा भगवान गणेशको बाहन मानिने मुसालाई दिनहुँ खाना खुवाउने चलन छ ।  सयौंको संख्यामा मुसाका लागि कम्तीमा १० स्थानमा खानेकुरा राख्ने परम्परा रहेको बताइन्छ ।

कुनैपनि दिन ती मुसालाई खाना खुवाउन छुटेको खण्डमा यहाँका बाफाचा अर्थात् पूजारी लाई सञ्चो नहुनुका साथै मन्दिरको कुनै न कुनै वस्तु हराउँछ भन्ने मान्यता रहिआएको छ ।

यस मन्दिरमा रहेको मुसाहरु मन्दिरभित्र कहिल्यै नमर्ने र मर्नुपरेमा बाहिर देखिने ठाउँमा आइपुग्ने गरेको बताइन्छ ।

ईस्वी सम्वत् १०४५ देखि १०४८ सम्म निर्माण भएको यस विहारलाई ‘हेमवर्ण महाविहार’ भनेर पनि शिलालेख, ताम्रपत्र, वंशावली र पुष्पिकाहरुमा उल्लेख गरेको पाइएको छ ।

प्रचलित किम्बदन्ती अनुसार, राजा भाष्करदेवलाई सपनामा देवताले मुसाले विरालोलाई लछारपछार गरेको जहाँ देख्छौ, त्यहि मेरो मूर्ति स्थापना गर्नु भनेकोले यस स्थानमा गरिएका मुर्ति स्थापना गरेको बताइन्छ । राजाले हालको क्वालखु टोलमा मुसाले विरालोलाई लखेटिरहेको अनौठो दृष्य देखेपछि नेपाल सम्वत १६५÷६७ तिर संस्कारित हिरण्यवर्ण महाविहार निर्माण गरिएको मानिँदै आएको छ ।

लामो समयदेखि चर्चामा रहेको यस स्थान हेर्न आउने अधिकांश पर्यटकले मन्दिरभित्रको शाक्यमुनी बुद्धको मूर्ति, मुसाको कथा र ऐतिहासिक कलाकृतिको अवलोकन गर्ने गरेको बताइन्छ । कपिलबस्तुबाट आएका शाक्यले यस भेगमा वस्ती बसाएको ऐतिहासिक किम्बदन्ती छ ।

आउँदै गरेको पर्यटन वर्ष २०२० मा विश्वका विभिन्न पर्यटकहरुमाझ यो स्थान लोकप्रिय हुने पक्का छ । यस्तो ऐतिहासिक महत्वको स्थानले नेपालको परिचयलाई अझै बलियो बनाउने बताइन्छ ।  

 

ताजा खबर