बुधबार मध्यरातसम्म किन सुतेनन् प्रधानमन्त्री

२०७६ बैशाख १९ बिहीबार १६:५८:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार मध्यरातीसम्म जागै बसे । उमेर र स्वास्थ्य  अवस्थाले चाँडै सुत्नुपर्ने उनी साँझको खानपान पछि सुतेनन् । बरु उनी आफ्नो सरकारको नीति तथा कार्यक्रमको मस्यौदा फाईनल गर्नमा लागे । 

बुधबार साँझ सदा झैं नेपाल टेलिभिजनको उनको प्रत्यक्ष अन्तर्वार्ता सकेर प्रधानमन्त्री ओली नीति तथा कार्यक्रमको अन्तिम तयारीमा जुटेको बुझिएको छ ।
शुक्रबार सङ्घीय संसद्को दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत हुने छ । 

सरकार गठनको झण्डै १५ महिना बित्न लाग्दा सरकारका कामकारबाही बारेमा जनस्तरबाट आशातित उपलब्धि नभएको गुनासो बढेसँगै प्रधानमन्त्री ओली आफैं सक्रिय भएको हुन सक्ने अड्कल गरिएको छ ।

बुधबार राति २ बजेसम्म प्रधानमन्त्री आफैं बसेर यो वर्षको नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएका छन् । प्रधानमन्त्री ओलीनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार यो वर्षको नीति तथा कार्यक्रम तयार पार्न ओली आफैं सक्रिय भएका थिए ।

‘सम्मानीय प्रधानमन्त्री ओलीज्यू हिजो राति दुई बजेसम्म आफैं खट्नुभएको छ । सबै तयारी भएर नीति तथा कार्यक्रम छपाईमा पठाईएको छ ।’– प्रधानमन्त्री निकट सूत्रले बतायो ।

 

   
 

ताजा खबर