स्थानीय पाठ्यक्रम निर्माण

२०७६ बैशाख १९ बिहीबार १३:१७:०० मा प्रकाशित

भक्तपुर, १९ वैशाख । मध्यपुरथिमि नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेको विद्यालयका आधारभूत तहको पाठ्यक्रम निर्माण गरेको छ ।

उक्त नगरपालिकाको स्थानीय पाठ्यक्रम निर्माण समितिले आयोजना गरेको स्थानीय पाठ्यक्रम निर्माणसम्बन्धी कार्यशाला गोष्ठीमा पाठ्यक्रमको अन्तिम रुप दिइएको थियो थियो । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाभित्रका कक्षा १ देखि ८ सम्मका आधारभूत तहमा अध्ययन गर्ने विद्यार्थीका लागि स्थानीय विषयवस्तु समेटेर ‘मध्यपुरथिमि म्हसिका’ अर्थात् मध्यपुरथिमिको परिचय नामकरण गरी पाठ्यक्रम तयार पारिएको बताए ।

उनले भने, “मध्यपुरथिमिको भौगोलिक अवस्थिति, इतिहास, पर्यावरण, कला, सम्पदा, प्रचलित स्थानीय संस्कार, संस्कृति, स्थानीय बोलीचाली, नेपाल भाषाको प्रचलित लिपि, रञ्जना लिपि, परम्परागत पेशा, व्यवसाय, स्थानीय सीप प्रबिधि र स्थानीय उपचार विधि समावेश गरेर पाठ्यक्रम निर्माण गरेका छौँ ।” नेपालका स्थानीय तहमध्ये आफ्नै स्थानीय पाठ्यक्रम लागू गर्ने मध्यपुरथिमि नगरपालिका दोस्रो नगरपालिका बनेको बताउँदै उनले नयाँ पाठ्यक्रमलाई आगामी जेठ १ गतेदेखि कक्षा एक देखि छसम्म मध्यपुरभित्र रहेका १८ सार्वजनिक र ५२ वटा सामुदायिक गरी ७० वटा विद्यालयमा लागू गरिने बताए ।

त्यसपछि क्रमैसँग अन्य कक्षामा पनि स्थानीय पाठ्यक्रम लागू गर्दै लैजाने योजना रहेको नगर प्रमुख श्रेष्ठले बताए । स्थानीय पाठ्यक्रम प्रयोगात्मक शैलीमा अध्यापन गराइनेछ  । पाठ्यक्रम निर्माणका लागि नगरपालिकाले शिक्षाविद् एवं प्राध्यापक रामकृष्ण दुवालको संयोजकत्वमा बालप्रमी स्कूलका प्रधानाध्यापक चरणकेशरी श्रेष्ठ र अमिनिटी स्कूलका प्रिन्सिपल सूर्यबहादुर भण्डारी सदस्य रहने गरी स्थानीय पाठ्यक्रम निर्माण समिति गठन गरेको थियो । उक्त समितिले निर्माण गरेको पाठ्यक्रममा पटक पटक विज्ञहरुसहितको छलफलपछि आज आयोजित कार्यशालामा अन्तिम रुप दिएको हो । कार्यशालामा प्रा डा प्रकाशमान नानी श्रेष्ठ, धर्मसुन्दर वज्राचार्य, इञ्जिनीयर राजेन्द्र श्रेष्ठ, बुद्धिकुमार द्योलगायले सुझावसहितको टिप्पणी गर्नुभएको थियो । पाठ्यक्रम सैद्धान्तिक र प्रयोगात्मक स्वरुपमा रहने गरी १२८ पाठ्यसामग्री समेटेर निर्माण गरिएको थियो । रासस

 

ताजा खबर