एनबी ग्रुपका श्रेष्ठ दाजुभाइले गरे हरिसिध्दिको जग्गामा लुट

२०७६ बैशाख १९ बिहीबार ०७:५२:०० मा प्रकाशित

काठमाडौं - कारखाना खोल्न किसानबाट अधिग्रहण गरेको चार सय २० रोपनी जग्गा हरिसिद्धि इँटा तथा टायल कारखानाका सञ्चालकले षड्यन्त्रपूर्वक हडपेर हिनामिना गरेको पाइएको छ।

कारखानाका सञ्चालकले कतिपय जग्गा बिक्री गर्नुका साथै र बैंकमा धितो राखी ऋण नतिरेर लिलामीमा पु-याएको भेटिएको छ। पटकपटक गरी विभिन्न कम्पनिलाई एक सय रोपनीभन्दा बढी जग्गा बिक्री गरिएको छ। झन्डै तीन सय रोपनी जग्गा विभिन्न बैंकमा धितोमा राखी लिलामीको अवस्थामा पु¥याइएको छ। योजनाबद्ध रुपमा जग्गा कब्जा गरी बिक्री गर्न हरिसिद्धिका सञ्चालकमध्येका जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठ दाजुभाइको संलग्नता देखिएको छ। उनीहरु एनबी समूहका भनेर चिनिन्छन्।

किसानबाट अधिग्रहण गरिएको जग्गामध्ये २७ रोपनीको नेपाल क्यान्सर अस्पताल र ६ रोपनीको विजयद्वीप ल्याबरटरिजका नाममा लालपुर्जा बनेको छ। उनीहरुले उक्त जग्गामा नक्सा पास समेत गरेर भवन बनाई कम्पनी सञ्चालनमा ल्याएका छन्। बी एन्ड बी हस्पिटलले ४७ रोपनी, बागमती हाउजिङले २५ रोपनी र विना श्रेष्ठले दुई रोपनी जग्गाको लालपुर्जा निकालेका छन्। बाँकी जग्गामध्ये ७६ रोपनी नेपाल बंगलादेश बैंकमा धितो राखिएको छ। यस्तै एनसिसी बैंकमा दुई सय पाँच रोपनी धितो राखी ऋण लिई नतिरेपछि सोमध्ये एक सय २० रोपनी बैंकले नै सकार गरेको छ। बाँकी जग्गा एनसिसी बैंकमै रोक्का छ। एनसिसी बैंकले सकार गरेको जग्गामध्ये २५ रोपनी बागमती हाउजिङलाई बिक्री गरिएको छ।

एनबी वात्रा हस्पिटलका नाममा २३ रोपनी र काठमाडौं सेरामिकको नाममा तीन रोपनी जग्गा छ। यी दुवै कम्पनी एनबी समूहअन्तर्गतका हुन्। बचेको जग्गामध्ये केही सडकमा परेको छ भने अरु हरिसिद्धिकै नाममा छ।

हरिसिद्धिको जग्गा बैंकम राखी ऋण लिएर अन्य प्रयोजनमा प्रयोग गर्दै जाँदा लक्ष्मीबहादुर कालो सूचीमा परेका छन्। लक्ष्मीबहादुरले हरिसिद्धि कारखानालाई डुबाउनुका साथै कतिपय बैंकको निक्षेपसमेत जोखिममा पारे। आफूहरुले कानुनी प्रक्रिया अनुसार कम्पनी खोल्ने र आवश्यक पर्दा जग्गा बिक्री गर्ने गरेको उनले दाबी गरे। ‘कम्पनी सञ्चालनका लागि ऋण लिने र आवश्यक पर्दा बिक्री गर्ने गरिन्छ’, उनले भने। कारखाना खोल्न अधिग्रहण गरिएको जग्गा धितो राख्ने र बेच्ने काम किन गरेको भनी सोध्दा उनले विगतका अदालतका फैसलाले समेत कम्पनीको अधिकारको पक्षमा फैसला सुनाएको तर्क गरे।

हरिसिद्धि इँटा टायल कारखाना जग्गा प्राप्ति संघर्ष समितिका अध्यक्ष बेखा महर्जनले कारखाना खोल्न किसानको जग्गा अधिग्रहण गरिएकोमा धितो राखेर ऋण लिने र ऋण नतिरी बिक्रीमा पु¥याउने गतिविधि षड्यन्त्रपूर्वक गरिएको बताए। उनले भने, ‘बैंकमा धितो राखी ऋण लिन एनबी ग्रुपका सञ्चालकहरु आफैं बैंकको सञ्चालक भए।’ कारखाना खोल्न अधिग्रहण गरिएको जग्गा कुनै हालतमा अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने कानुनी व्यवस्था भएकाले आफूहरु जग्गा हडपेर बिक्री गर्नेहरुविरुद्ध कानुनी लडाइँ लडिरहेको उनले बताए। जग्गा प्राप्ति ऐन, २०३४ मा जुन प्रयोजनका लागि जग्गा अधिग्रहण गरिएको हो त्यसबाहेक फरक प्रयोजनका लागि प्रयोग गरेमा फिर्ता हुने प्रावधान छ।

जग्गा हडप्न चलखेल
सरकारले २०२१ फागुन २५ मा जग्गा प्राप्ती ऐन २०१८ को अधिकार प्रयोग गरी हरिसिद्धिको जग्गा अधिग्रहण गरेको थियो। यो जग्गा चीन सरकारको सहयोगमा हरिसिद्धि इँटा तथा टायल कारखाना खोल्न अधिग्रहण गरिएको थियो। सुरुमा सात सय रोपनी अधिग्रहण गर्ने भनिएकोमा अन्तिममा पाँच सय ७० रोपनीमात्र अधिग्रहण गरियो। त्यति बेला किसानलाई क्षतिपूर्तिबापत प्रतिरोपनी १५ सय रुपैयाँ दिइएको थियो। अधिग्रहण गरिएको जग्गा कारखाना सञ्चालनलाई बढी भएको भन्दै तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको तत्परतामा अभियान थालिएपछि डेढ सय रोपनी जग्गा किसानलाई नै फिर्ता गरियो।

नाफामा रहेको कारखाना घाटामा देखाउँदै निजीकरणका नाममा २०४९ फागुन १३ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता गराई भोलिपल्टै खरिद सम्झौता भएको थियो। खरिदकर्ता एनबी ग्रुपका जीतबहादुर र लक्ष्मीबहादुरले कारखाना अन्य व्यक्तिलाई ठेक्कामा चलाउन दिए। उनीहरुले जग्गा हडप्ने चाल चल्न थाले। उनीहरुले राज्यका जिम्मेवार निकायमा अधिकारीहरुलाई प्रभावमा पार्दै जग्गा बैंकमा धितो राखी ऋण लिने र बेचेर सकाउने खेल खेले। संघर्ष समितिका अध्यक्ष महर्जन भन्छन्, ‘भूमाफियाको शैलीमा जग्गा कब्जा गर्ने गतिविधि चलिरहेको छ।’

श्रेष्ठ दाजुभाइले जग्गा कब्जा गर्न कारखानाका सेयरधनीलाई समेत ढाँटेर घाटा देखाउँदै सेयरमा आफ्नो प्रभाव बढाउँदै लगे। जग्गा कब्जा गर्नकै लागि विभिन्न बैंकबाट ऋण निकालेर तिरेनन्। अनि जग्गा लिलामीमा पुग्यो। बेचिएको जग्गा श्रेष्ठ दाजुभाइको कूटिल योजनाको परिणाम भएको संघर्ष समितिका महर्जन बताउँछन्। ऋण लिन जग्गा धितोमा राख्दै कम्पनी डुबाउने र लिलामीमा पु¥याउने गतिविधि गर्ने क्रममा सबै जग्गा जोखिममा पु¥याइएको छ। राजनीतिक दबाब र गुन्डागर्दी गरेर भए पनि मालपोतका कर्मचारीलाई धम्क्याएर जग्गा पास गराउने गतिविधि हरिसिद्धिका सञ्चालकबाट हुँदै आएको छ। पछिल्लो समय २५ रोपनी जग्गा बिक्री गर्न खोज्दा मालपोतका कर्मचारीले रजिस्ट्रेसन पास गर्न नमानेपछि राजनीतिक दबाबदेखि गुन्डागर्दीसमेत गर्न खोजियो।

हरिसिद्धि इँटा तथा टायल कारखाना लिमिटेड सेयर संघर्ष समितिका संयोजक अच्युतकुमार मिश्रले उद्योगीको हातमा नभई बिचौलियाको हातमा पुग्दा कारखानाका साथै जमिन पनि बर्बाद भएको बताए। नागरिक दैनिकको समाचार अनुसार, आफ्ना मान्छेलाई सेयर किन्न लगाएर मनोमानी गर्ने र सम्पत्ति कब्जा गरी बिक्री गर्ने गतिविधिमा लक्ष्मीबहादुर श्रेष्ठ मुख्य नाइके भएको उनले बताए। ‘सञ्चालकका रुपमा र कम्पनीका रुपमा जोजो जोडिए ती सबै श्रेष्ठ दाजुभाइका एस म्यानहरु हुन्’, उनले भने। एनबी ग्रुपका महाप्रबन्धक लक्ष्मीबहादुर भने उल्टै भूमाफियाले जग्गा हात पार्न आफूहरुविरुद्ध लागेको दाबी गर्छन्।

हरिसिद्धिको जग्गा : कसको नाममा कति ?

एनसिसी बैंक : ९५ रोपनी
बागमती हाउजिङ : २५ रोपनी
बी एन्ड बी हस्पिटल प्रालि : ४७ रोपनी
नेपाल क्यान्सर अस्पताल : २७ रोपनी
विजयद्वीप ल्याबरटरिज : ६ रोपनी
विना श्रेष्ठ : २ रोपनी
एनबी बात्रा हस्पिटल : २३ रोपनी
काठमाडौं सेरामिक : ३ रोपनी
एनसिसी बैंकमा धितो : ८५ रोपनी
नेपाल बंगलादेश बैंकमा धितो : ७६ रोपनी

ताजा खबर