मीटू आरोपबाट मुक्त भएका अलि जाफर रोएपछि...

२०७६ बैशाख १८ बुधबार १५:५९:०० मा प्रकाशित

एजेन्सी । पाकिस्तानमा जन्मिएका बलिउड नायक तथा गायक अलि जाफर विरुद्ध केहि समयअघि नायिका मीशा शफीले यौन उत्पीडनको आरोप लगाएकी थिइन् ।

भारतमा मीटू अभियान व्यापक हुँदा मीशाले बलिउडमा स्थापित हुने क्रममा रहेका अलि जाफर विरुद्ध आरोप सार्वजनिक रुपमा लगाएकी थिइन । उक्त आरोपपछि जाफरले धेरै कामहरु गुमाउनु परेको थियो ।

उक्त विषय अदालत नै पुगेको थियो । जाफरले पनि उक्त विषय व्यापक बनेर आफ्नो करियर नै ध्वस्त हुन थालेपछि मीशा विरुद्ध १ अर्ब रुपैंयाको मानहानीको मुद्दा दर्ता गरेका थिए ।

जाफरले पाकिस्तानी टेलिभिजन जियो टिभीसँग कुरा गर्दै मीशाले आफुलाई किन त्यस्तो आरोप लगाएको बुझ्न नसकेको बताइन् । उनले मीशाको सबै आरोप झुटो भएको र आफु विरुद्ध उनले सामाजिक संजाल मार्फत् गरेको प्रहारले आफु र आफ्नो परिवारलाई ठुलो चोट पुगेको उनले बताए । सो कुरा बताउने क्रममा उनले आँशु नै खसालेका थिए ।

एक छोरा र एक छोरीका पिता अलिले बताएअनुसार मीशाले उनको करियर बर्बाद पार्न मिडियामा अभियान नै चलाएकी थिइन् । कुराकानीको क्रममा जाफरले यस्तै यौन हिंसाको आरोप लागेपति मेक्सिकन गायक अर्मान्डो भेगा गिलले आत्महत्या गर्नु परेको पनि सम्झिए ।

मीशाले गत वर्ष अप्रिल महिनामा जाफर विरुद्ध आरोप लगाउँदै भनेकी थिइन, ‘अलिलाई मैले धेरै पहिले देखि चिनेको र उनीसँग मैले धेरै पटक स्टेजमा गाएको छु । उनको व्यवहार र स्वभावले मलाई विश्वासघात गरेको महसुस गर्ने गरेकी छु, र मलाई थाहा छ म एक्लो (पिडित) होइन । ’

अदालतले मीशाको आरोप खारेज गरिदिएको छ । अब मीशाले जाफरको मानहानी मुद्दाको सामना गुर्नपर्नेछ । यो विषयलाई जाफरले ट्वीट गर्दै सार्वजनिक गरेका छन् ।  

ताजा खबर