सुन्दर र जैविक विविधताले भरिएको पाँच पोखरी

२०७६ बैशाख १८ बुधबार १२:११:०० मा प्रकाशित

घुमघाम गर्नको लागि जानैपर्ने स्थानको पहिलो शर्त हो, उक्त स्थानको सुन्दरता । अझ त्यो स्थान धार्मिक दृष्टीले महत्वपूर्ण भएमा अद्भुद आनन्द आउने घुमफीरमा रुचाउनेहरु बताउँछन् ।

यस्तै प्राकृतिक सुन्दरताले भरिएको र धार्मिक रुपमा उत्तिकै महत्व भएको कारणले पनि पाँच पोखरीले आन्तरिक तथा बाह्या पर्यटकहरुलाई आकर्षित गर्न सकिरहेको बताइन्छ ।  

समुद्री सतहबाट करिब ४१ सय मिटर उचाइमा रहेको पाँच पोखरी क्षेत्रलाई गन्तव्य बनाएर आउने पर्यटकको ठुलो संख्याले पनि नेपालको पर्यटन वर्ष २०२० सफल हुन सक्ने बताइन्छ ।  

इन्द्रावती नदीको मुहान पाँच पोखरी सिन्धुपाल्चोक जिल्लामा रहेको छ । उक्त स्थान जान अनेक विकल्प भएपनि सामान्यतया जोरपाटीबाट मेलम्ची अनि त्यहाँबाट भोटाङ हुँदै जान सकिन्छ । त्यस्तै लाम्टाङ केन्जिङ उपत्यकाबाट तिलमान्स भञ्ज्याङ हुँदै पनि जाने विकल्प रहेको छ । यद्यपी सबैभन्दा सहज भनृ जोरपाटी–मेलम्ची–भोटाङ रहेको बताइन्छ ।

प्राकृतिक रुपमा औधी सुन्दर र जैविक विविधताले भरिएको यस क्षेत्रमा प्राकृतिक सुन्दरता, मनमोहक झरना,  गुराँसका अनेक फुल, कलात्मक मानेहरूको दर्शन, देउराली, चौरीका बथानहरू र लोभलाग्दो हिमालको दृश्यावलकोन गर्न सकिन्छ ।

यस क्षेत्रलाई धार्मिक आस्थाको रुपमा व्याख्या गर्ने गरेको पाइन्छ । किंवदन्ति अनुसार यस स्थानमा भगवान शिव र उनको अर्धाङ्गिनी पार्वती बस्ने गरेको मानिन्छ । त्यस्तै पाँचवाट पोखरीलाई भने उनै शिव पार्वतीको छोरीको रूपमा मानिने गरेको बताइन्छ । ति पाँच पोखरीको नाम जेठी, माहिली, साँहिली, काँइली र कान्छी भनेर प्रख्यात छ ।

धार्मिक आस्था रहेकाहरुले विश्वास गरेअनुसार यस क्षेत्रमा स्वर्गका राजा इन्द्र आई तपस्या पनि गरेको मान्ने गरिएको छ । उनले तपस्यापछि शान्ती प्राप्त गर्न सकेको स्थानिय बुझाइ रहेको छ । इन्द्रले तपस्या गरेको ठाउँबाट बग्ने भएको हुनाले इन्द्रावती नदी नाम रहन गएको भनाइ छ ।

त्यस्तै ऋषि विश्वामित्रले पनि पाँच पोखरीमा तपस्या गरेको विश्वास रहेको छ ।

प्राकृतिक रुपमा अलौकिक र धार्मिक रुपमा पनि प्रख्यात यस पाँचपोखरीमा भाद्र शुक्ल पूर्णिमाको दिन ठूलो मेला लाग्ने गरेको छ । उक्त अवसरमा ठुलो संख्यामा हिन्दु र बुद्ध धर्माबलम्बीहरु त्यहाँ पुग्ने गरेका छन् । हिन्दुहरुले उक्त दिन अर्थात् जनैपूर्णिमामा स्नान गरेर नयाँ जनै लगाउने गरेका छन् ।

प्रकृतिले अनुपम स्वरुप दिएको यो क्षेत्रमा कस्तूरी मृग, रतुवा, घोरल, झारल र विभिन्न किसिमका चराचुरुङ्गीहरू पनि पाइन्छ । त्यस्तै  सुनपाती, भैरुङ्गपाती, पदमचाल, भुतकेश, पाँचऔँले यार्सागुम्बा जस्ता दुर्लभ जडिबुटी पनि पाइन्छ ।

सुन्दरता, जैविक विविधता र धार्मिक महत्वका कारण पनि पाँच पोखरीको बारेमा बताउन सकेमा ठुलो संख्यामा पर्यटकहरु आकर्षित गर्न सकिने विश्वास रहेको छ ।

 

ताजा खबर