‘छक्का पन्जा’ पछि ‘छ माया छपक्कै’

२०७६ बैशाख १८ बुधबार ०७:३२:०० मा प्रकाशित

काठमाडौं – फिल्म ‘छक्का पन्जा’ निर्माण समूहले नयाँ फिल्म ‘छ माया छपक्कै’ को औपचारिक घोषणा गरेको छ। राजधानीमा सोमबार पत्रकार तथा सञ्चारकर्मीमाझ फिल्म युनिटले समूहमा नयाँ कलाकारका रूपमा नायिका केकी अधिकारीलाई सार्वजनिक गर्दै फिल्मको घोषणा गरेको हो।

फिल्म ‘छक्का पन्जा’ सिरिजको निर्देशन गरिरहेकी निर्देशक दीपाश्री निरौला नयाँ फिल्ममा ‘निर्देशक सल्लाहकार’का रूपमा देखिँदैछिन्। फिल्मको निर्देशन दीपेन्द्र लामाले गर्नेछन्।

यसअघि ‘घामपानी’ र ‘गोपी’ फिल्म निर्देशन गरेका निर्देशक लामाले आफ्नो फिल्म ‘छक्का पन्जा’को सिरिज नहुने बताए। ‘अघिल्ला संस्करणका फिल्मसँग ‘छ माया छपक्कै’को कुनै सम्बन्ध रहनेछैन। फरक कथा र फरक विषयबस्तुमा फिल्म बनाउनेछौं’, निर्देशक लामाले भने, ‘दर्शकले अघिल्ला संस्करणको भन्दा नयाँ स्वाद पाउनुहुनेछ।’

फिल्मका कलाकार तथा निर्माता दीपकराज गिरीले दीपेन्द्रको काममा आफुहरूले कुनै हस्तक्षेप नगर्ने बताए। ‘निर्देशकलाई स्वतन्त्र छोड्नुको अर्थ उसलाई छाडा हुन दिनु हो। निर्देशक भनेको गाडीको ड्राइभर जस्तै हो। ड्राइभरलाई स्वतन्त्र छोडिदियो भने उसले जुनसुकै बेला गाडी पनि दुर्घटना गर्नसक्छ’, दीपकले भने, ‘उसले नराम्रो काम गर्न खोज्यो भने हामीले हस्तक्षेप गर्नुपर्ने हुन्छ। तर दीपेन्द्रजीले निश्चित दायरमा रहेर स्वतन्त्रताको उपभोग गर्न पाउनुहुनेछ।’

 

अघिल्ला संस्करणका फिल्मसँग ‘छ माया छपक्कै’को कुनै सम्बन्ध रहनेछैन। फरक कथा र फरक विषयबस्तुमा फिल्म बनाउनेछौं।

फिल्मको घोषणा अघि नायिका केकी अधिकारी, कलाकारत्रय दीपकराज गिरी, केदार घिमिरे र जितु नेपालले फिल्मको कथाबस्तु झल्काउने प्रहसन गरेका थिए। फिल्मले सहरमा हुर्किएकी एक युवती र एक सोझो र अधबैसे पुरुषबीचको प्रेमकथा देखाउनेछ। फिल्मकी निर्देशन सल्लाहकार निरौलाले केही दिनमा बाँकी कलाकार पनि फाइनल हुने बताइन्।

आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आइएमईको प्रस्तुतिमा निर्माण हुने फिल्ममा रोहित अधिकारी सोलो निर्माता छन्। जेठ पहिलो साताबाट छायांकन सुरु हुने फिल्ममा हरि हुमागाइँको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी, विपिन मल्लको सम्पादन, निर्देशक लामाकै कथा, दीपकराजको पटकथा, दीपक, केदार, जितु र अभिमन्यु निरवीको संवाद हुनेछ।

नागरिक दैनिकको समाचार अनुसार, जितु र केदार कार्यकारी निर्माता रहने फिल्ममा सुमन गिरी ‘भान्जा’, ताराचन्द्र बजगाईं ‘निशान’, दीपेन्द्र खनियाँ, केशव न्यौपाने, सुरज बम ठकुरी र रविन डाँगी सह–निर्माता छन्। फिल्म यसै वर्षको दशैंमा रिलिज हुनेछ।

ताजा खबर