देवानन्दको कलाबाट प्रभावित एक पत्रकारको टिप्पणी 

२०७६ बैशाख १७ मंगलबार ०७:५२:०० मा प्रकाशित

हिन्दी सिनेमा संसारका अत्यन्तै लोकप्रिय नायक देवानन्दद्वारा अभिनित दुइटा क्लासिक फिल्म सीआईडी (१९५६) र कालापानी (१९५८) यु ट्युबमा हेरेँ । सीआईडी गुरुदत्त पाडुकोणले र कालापानी देवानन्द स्वयंले बनाएका हुन् । यी दुबै फिल्मको निर्देशन भने राज खोसलाले गरेका थिए । सीआईडीको सङ्गीत ओपी नैय्यरले तयार गरेका थिए भने कालापानीको सचिन देव बर्मनले । 

यी दुवै फिल्मको सङ्गीतको जति प्रशंसा गरे पनि कम हुन्छ । ती फिल्मका सबैजसो गीतहरू आज पनि त्यत्तिकै लोकप्रिय छन् । दुवै फिल्मका गीतकार मजरूह सुल्तानपुरीले गज्जबको काव्यिक कल्पनाशीलता देखाएका छन् । कालापानी फिल्मको ‘हम बेखुदी में तुमको पुकारे चले गए’ बोलको गीतलाई समुच्चय हिन्दी फिल्म संसारमा प्रस्तुत भएका थोरै उत्कृष्ट शायरीहरूको प्रथम पंक्तिमा राख्न सकिन्छ । 

दुवै फिल्म नायक प्रधान हुन् तर पनि निर्देशक राज खोसलाले दुवै फिल्ममा नायिका सह–नायिकाहरूबाट कथाले मागे अनुसारको सन्तुलित अभिनय गराएका छन् । आफ्नो कम्पनीको ब्यानरमा बनेको पहिलो फिल्म सीआईडीमा निर्माता गुरुदत्तले वहिदा रहमानलाई ब्रेक दिएका थिए । निगेटिभ भूमिकामा देखापरेकी त्यतिबेला त्यस्तै १६र१७ को उमेरकी वहिदा रहमानले पहिलो फिल्ममै आत्मविश्वासपूर्ण अभिनय गरेकी छन् सीआईडीमा । फिल्ममा नायिकाको भूमिकामा आएकी शकीलाका लागि भने अभिनय कला देखाउने खासै ठाउँ थिएन । देवानन्दसँग नाचगान गर्दा उनी राम्री भने देखिएकी छिन् ।

विख्यात हास्य – कलाकार र निर्माता निर्देशक मेहमूदले सीआईडी फिल्ममा भाडाको हत्याराको सानो भूमिकाबाट रजतपटको सुनौलो यात्रा शुरू गरेका थिए । त्यसअघि मेहमूद आफ्नो समयका नामि निर्माता निर्देशक पीएल् सन्तोषीको कार ड्राइभर थिए । सीआईडीमा अर्का नामि हास्य कलाकार जोनी वाकरको पनि महत्वपूर्ण भूमिका छ । उनले आफ्नो हास्य विशेष शैलीमा त्यसको निर्बाह गरेका छन् र दर्शकलाई प्रिय लाग्दछन् । 

देवानन्द आफ्नो समयको ठूलो स्टार बन्नु अघिको अथवा बन्ने प्रक्रियामा रहेको बेलाको ’कालापानी’ हरेक दृष्टिले उत्कृष्ट फिल्म बनेको छ । फिल्ममा देवानन्दले त गज्जबको अभिनय गरेका छन् नै फिल्मकी नायिका मधुबाला र सह–नायिका नलिनी जयवन्तले पनि जीवन्त अभिनय गरेका छन् । फिल्मका केही फ्रेमहरूमा मधुबालाको अलौकिक सौन्दर्यको झल्की देख्न सकिन्छ । अर्कोतिर नायकको प्रेममा समर्पित तवायफको भूमिकामा रहेकी नलिनी जयवन्त पनि राम्री लाग्छिन् र आफ्नो भावप्रवण अभिनयबाट दर्शकलाई मन्त्रमुग्ध पार्दछिन् । 

कालापानीमा किशोर साहू, आगा, मुकरी, जानकीदास, सप्रु, कृष्ण धवन आदि सहायक कलाकारहरूले पनि राम्रो काम गरेका छन् । एक निर्दयी वकिलका भूमिकामा आएका किशोर साहूले गरेको उत्कृष्ट अभिनय स्मरणीय छ । यी दुई फिल्मले निर्देशक राज खोसलाको सिनेमा विधामाथिको नियन्त्रणको राम्रो दृष्टान्त प्रस्तुत गर्दछन् । (बरिष्ठ पत्रकार हरि अधिकारीको टिप्पणी)
 

ताजा खबर