खुला विश्वविद्यालयमा आम सञ्चार

२०७६ बैशाख १७ मंगलबार ०७:१९:०० मा प्रकाशित

ललितपुर, १७  वैशाख  । नेपाल खुला विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि आम सञ्चार अध्ययनको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । 
विश्वविद्यालय र नेपाल प्रेस इन्स्टिच्युटबीच आम सञ्चार अन्तर्गतको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा सहमति पत्रमा सोमबार हस्ताक्षर भई आगामी असोजदेखि पठनपाठन सुरु गर्ने सहमति भएको हो । 

खुला विश्वविद्यालय र नेपाल प्रेस इन्स्टिच्युट(एनपीआई)ले पत्रकार सम्मेलनको आयोजना गरी आम सञ्चार विषयको पठनपाठन हुने जानकारी गराउँदै शैक्षिक कार्यक्रम, पठनपाठनको गुणस्तर, पाठ्यक्रम, विधि र उद्देश्यबारे प्रष्ट्याएको छ । नेपाल खुला विश्वविद्यालयले हाल १६ वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्माले पत्रकारिता क्षेत्रमा गुणस्तरीय जनशक्ति उत्पादन गर्न शैक्षिक कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने दाबी गर्नुभयो । उहाँले पाठ्यक्रम विकासको काम अन्तिम चरणमा रहेको र शुल्क निर्धारण, भर्नाका लागि योग्यता टुङ्ग्याउन बाँकी रहेको स्पष्ट पार्नुभयो । छुट्टै ऐन बनाएर सञ्चालनमा रहेको विश्वविद्यालयबाट आर्जित शैक्षिक उपाधिको मान्यता, पठन पाठनको गुणस्तरबारे शङ्का नगर्न उपकुलपति शर्माले प्रष्ट्याउनुभयो । 

पहिलो चरणमा आम सञ्चार अन्तर्गत स्नातक र स्नातकोत्तर तहको भर्ना हुनेछ । विस्तारै दर्शनाचार्या (एमफिल) र विद्यावारिधसम्मको शैक्षिक कार्यक्रम सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ । 

एनपीआईका अध्यक्ष नीलकण्ठ उप्रेतीले विश्वविद्यालयबीच भएको सहमति बमोजिम एनपीआईले स्रोत व्यक्ति, प्रविधि तथा अन्य भौतिक पूर्वाधारहरू उपलब्ध गराउने जानकारी दिनुभयो ।

एनपीआईका महासचिव लक्ष्मण हुमागाईँले बजारको आवश्यकता बमोजिम पाठ्यक्रम निर्धारण हुने भएकाले उपाधि हासिल गरेपछि अवसरको खोजीमा भौँतारिने अवस्था नहुने दाबी गर्नुभयो । 

गोरखापत्रको समाचार अनुसार, विश्वभरि करिब ६८ खुला विश्वविद्यालय रहेकोमा एसियामा मात्रै खुला विश्वविद्यालयको सङ्ख्या ४१ रहेका छन् । २०७३ सालमा स्थापित नेपाल खुला विश्वविद्यालयमा २०७४ र २०७५ सालमा भर्ना भएका ६२६ विद्यार्थी अध्ययनरत छन् ।

ताजा खबर