भू-माफियाको भित्री कथा: को को छन् संरक्षक बनेका पूर्वमन्त्री र नेता

२०७६ बैशाख १४ शनिबार ०७:४५:०० मा प्रकाशित

काठमाडौं । ललिता निवासको जग्गा प्रकरण सम्बद्ध प्राप्त विवरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त दीप बस्न्यातको समेत संलग्नता पाईएको छ । बस्न्यात निर्माण तथा भौतिक योजना मन्त्रालयको सचिव हुँदैका बखत प्रधानन्यायाधीश निवासले चर्चेको जग्गामध्ये २ रोपनी १४ आना र प्रधानमन्त्री निवासले चर्चेको २ रोपनी १० आना जग्गा समेत नापीको फिल्ड बुकमा पर्ती भनेर जनिएको कुल ३५ रोपनी जग्गामा जबर्जस्ती नक्कली मोही खडा गराउने निर्णय भएको थियो ।

सरकारी निवास तथा कार्यालयको जग्गा र सम्पत्ती तत्कालिन अवस्थामा भौतिक योजना मन्त्रालय मातहत रहेको शहरी बिकास विभाग अन्तर्गत रहने र बस्न्यात मन्त्रालयमा शहरी विकास सचिवका हैसियतमा रहेकै कारण उनकै योजना अनुसार तत्कालिन भवन विभागले उठाएको टिप्पणीका आधारमा २०६६ चैत २९ गतेको मन्त्रिपरिषद् बैठकले नाराञ्चा महर्जन नामको बतासे मोही खडा गरि बालुवाटारको जग्गा विस्तार गरिएको थियो । 

बस्न्यातको बदमासी

जानकार स्रोतले बताए अनुसार,दीप बस्न्यातले आफु भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव रहेकै बेला पर्ती सरकारी र राजकुलोको जग्गासमेत नक्कली मोहीका नाममा दर्ता गरिदिन मन्त्रिपरिषद्मा पेस गरेका थिए । बस्न्यातले भवन विभागले उठाएको टिप्पणी सदर गर्दै मन्त्री परिषदमा पेश गरेको प्रस्तावमा,‘२०२१ र ०४७ सालको नापीमा सरकारी पर्ती जग्गा भनी स्पष्ट किटान गरिएको जग्गा समेत मोहीका नाममा कायम गरिनुपर्छ’ भनी उल्लेख गरेका थिए । उनले मन्त्रिपरिषदमा प्रस्तावका साथ पेस भएको नापीको फिल्डबुकमा मोही नभएको जग्गा भनी स्पष्ट उल्लेख भएको भएपनि ‘सचिवकै प्रस्तावका आधारमा त्यतिखेर मन्त्री परिषदले निर्णय गरेको थियो ।

मन्त्री परिषदको यो निर्णय आउनासाथ बस्न्यातकै दवावमा उनैले खडा गरेका नक्कली मोहीले जगामा आफ्नो हक कायम गर्नासाथ जग्गा बेचेका थिए । नक्कली मोहीका नामबाट बिक्री भएका यी जग्गा शोभाकान्त ढकालकी श्रीमती उमा ढकाल, रामकुमार सुवेदीकी श्रीमती माधवी सुवेदीका नाममा खरिद भएको देखिएको छ ।  उनका परिवारका सदस्यको नाममा किनिएको छ ।’ मोही नै नभएको जग्गामा बस्न्यातको प्रस्तावमा ‘नाराञ्चा महर्जन’ नामको मोही खडा गरी जग्गा दर्ता गराएको भेटिएको हो ।

कथा बिष्णु पौडेलको

पछिल्लो क्रममा ललिता निवास प्रकरणमा जोडिएका नेकपा महासचिव विष्णु पौडेलसँग विवादित जग्गा व्यापारी तथा कुमारी बैंकका सञ्चालक सदस्य शोभाकान्त ढकालको घनिष्ट सम्बन्ध रहेको समेत खुल्न आएको छ । समाचार स्रोतका अनुसार ललिता निवासको विवादित जग्गामध्येको आठ आना जग्गा महासचिव पौडेलका छोरा नवीन पौडेलको नाममा  कानुनी प्रक्रियामा खरिद देखाइएपनि नजराना वापत् प्राप्त भएको हो ।  अधिकरण गरिसकिएको बालुवाटारको जग्गा व्यक्तिको नाममा पु¥याउन ठूलो गिरोह लागेको थियो । त्यो गिरोहमा शोभाकान्त ढकाल पनि थिए । ढकाल नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलका विश्वासपात्र हुन् । पौडेलका लागि उनले आर्थिक जोहो गराउँथे । बालुवाटारको जग्गा प्रकरणमा संलग्न भएर शोभाकान्तले नेता देखि कर्मचारी सम्मलाई नजराना दिलाए । 

छोराका नाममा जग्गा

बालुवाटारमा आठ आना जग्गा विष्णु पौडेललाई दिलाउँदा उनका छोरा नवीन पौडेलका नाममा पास गराए । नवीन बालुवाटारमा आठ आना जग्गा खरिद गर्ने हैसियतका थिएनन् । उनले त्यो तहको व्यापार व्यवसाय पनि गरेका थिएनन् । तर, विष्णु पौडेलले शक्ति केन्द्रमा माहोल मिलाउन योगदान दिएका कारण उपहार स्वरुप जग्गा दिलाए । जुन जग्गा व्यक्तिको नाममा पु¥याउन शक्ति सन्तुलन मिलाउन विष्णुले साथ दिए, त्यही जग्गामध्येबाट आठ आना जग्गा दिलाए । आर्थिक जोहो गर्न निकै सिपालु शोभाकान्तलाई विष्णुले सांसद बनाउने प्रयास समेत गरेको नेकपाकै एक उच्च नेताले बताए । विष्णु पौडेलकै करबलमा समानुपातिकतर्फको सुचीमा ढकालको नाम राखिएको थियो । उनको नाममा विष्णु पौडेलले अडान लिएका थिए । आफूलाई आर्थिक जोहो गराउनेको चाहना पूरा गर्ने विष्णुको चाहना भने पूरा भएन । शोभाकान्त सांसद बन्न पाएनन् । 

नेकपाभित्रको दाउपेच

ललिता निवासको जग्गामा विष्णु पौडेल मुछिएपछि धेरैले अब कारबाहीमा पूर्णविराम लाग्ने आशंका गरेका थिए । नेकपाभित्र पौडेल प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीका खास मान्छे मानिन्छन् । राजनीतिक जीवनको लामो समय ओलीको साथमा रहँदै आए । नेकपा एकीकरणमा समेत विष्णुको महत्वपूर्ण भूमिका थियो । त्यसैको पुरस्कार स्वरुप एमाले र माओवादीबीचको एकीकरणपछि महासचिव बने । त्यसमा प्रचण्ड समेत सहमत भए । ईश्वर पोखरेल र भीम रावल जस्ता हेभिवेटलाई पछि पार्दै विष्णु पौडेल महासचिव बन्नुलाई शक्तिकेन्द्रसँगको दरिलो सम्बन्धलाई समेत कारण मानिएको थियो । 

विष्णु पौडेल सामान्य परिवारबाट आएर नेकपाका धनाढ्य नेतामध्ये भएका छन् । उनले पार्टीमा लामो योगदान गरेकाहरुलाई पछि पार्न सके । यसमा बुटवलका व्यापारीहरुको सहयोग मुख्य कारण बन्यो । उनको व्यापारीसँगको हिमचिमले चुनाव नहार्ने अवस्था बन्न सक्यो । पहिलो संविधानसभा चुनावमा माधवकुमार नेपाल देखि एमालेका अधिकांश मुख्य नेताहरु पराजित हुँदा विष्णु पौडेल जितेर संसदमा आएका थिए । व्यापारीको चाहना अनुसार चलिदिने भएकाले उनी व्यापारी व्यवसायीको प्रिय बन्न सके । त्यसैले भूमाफियाको प्रभावमा समेत परे । 

पौडेलको भूमिकामै प्रश्न

बालुवाटारको जग्गामात्र नभई अन्य विवादास्पद प्रकरणमा समेत विष्णु पौडेलको भूमिकाबारे चर्चा हुन थालेको छ । नेकपाभित्र धेरै नेताहरुले उनको भूमिकाप्रति प्रश्न उठाएका छन् । कतिपयले विष्णुको राजीनामा समेत मागेको बुझिएको छ । नेकपाको हाइकमाण्ड बैठकमा समेत यो विषय उठेकाले विष्णु पौडेलको पद धरापमा परिसकेको छ । उनको बचाऊ गर्न आउने स्वयं बदनाम भइरहेका छन् । पौडेलले विज्ञप्तिमार्फत् बालुवाटार जग्गा प्रकरणमा आफ्नो भूमिका नभएको दाबी गरे । प्रतिआना ७ लाखले किनेको भन्दै विष्णु पौडेलले संलग्नता नभएको छुपाउन   खोजे  । जबकि उक्त जग्गा खरिदकै बखत आधा लाखमा किनबेच भएको तथ्य भेटिन्छ । सरकारी मूल्यांकन देखाएर पौडेलले सर्वसाधारणलाई गुमराहमा राख्न खोजे । तर, घटनाको यथार्थ बाहिर आएपछि अत्तालिएका छन् । 

बालुवाटार जग्गा प्रकरणमा पूर्वमन्त्री छविराज पन्त, अख्तियारका पूर्व प्रमुख दिपबहादुर बस्न्यातलगात समेत मुछिएका छन् । यसबाहेक प्रमुख दलका प्रभावशाली नेता देखि कर्मचारीहरुले समेत बाँडीचुँडी जग्गा हात पारेका हुन् । 

भूमाफियासँग ककस्को साँठगाँठ

सुशासन, भ्रष्टाचारविरोधी अभियानको गफ हाँकेर आदर्श छाँट्ने प्रभावशाली नेताहरुको भू-माफियासँगको साँठगाँठ भेटिएको छ । आवरणमा विवादास्पद व्यक्तिहरुको भूमिका देखिएपनि उनीहरुलाई साथ र संरक्षण दिनेमा नेताहरु देखिएका छन् । उनीहरुले बालुवाटारस्थित ललितानिवास, ठमेलस्थित छायाँ सेन्टर, हरिसिद्धि र रेडियो नेपालको जग्गा, मातातीर्थको जग्गामा व्यापक चलखेल गरेका थिए । मोटो कमिशन लिएर कर्मचारीलाई समेत दबाब दिएर सरकारी र सार्वजनिक जग्गा व्यक्ति र कम्पनिका नाममा दर्ता गराउन सफल भएका थिए । 

नारायणकाजी र छाँया सेन्टरको कनेक्सन

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलको बुटवल हुँदै काठमाडौंसम्म सक्रिय भूमाफियासँगको साँठगाँठ खुलिसक्यो । उनले त्यसवापत् पैसा र जग्गा समेत उपहार पाउँदै आए । भूमाफियासँगको साँठगाँठबाट लाभ लिँदै आएका नेकपाकै अर्का प्रभावशाली नेता हुन् नारायणकाजी श्रेष्ठ । छायाँ सेन्टर देखि नेपाल ट्रष्टको जग्गा व्यक्तिको नाममा पु¥याउन उनैले भूमिका खेलेको तथ्य खुलेकोछ । कमलपोखरी माँसेर छायाँ सेन्टर निर्माणका प्रमुख सूत्रधार पृथ्वीबहादुर पाण्डेसँग नारायणकाजी श्रेष्ठको लामो उठवस छ । माओवादीको एक पक्ष पाण्डेविरुद्ध प्रस्तुत हुँदा श्रेष्ठले संरक्षण दिएका थिए । कर्मचारीलाई दबाब दिएर छायाँ सेन्टर निर्माण नरोक्न उनैले भूमिका खेलिदिएका थिए । 

नारायणकाजी श्रेष्ठकै निर्देशनमा नेपाल ट्रष्टको एक सय ७३ रोपनी जग्गा व्यक्तिको नाममा पुग्यो । भूमिसुधार मन्त्रालयका अधिकारी देखि कलंकी मालपोतका कर्मचारीमाथि समेत दबाब सृजना गर्न लगाएर व्यक्तिको नाममा जग्गा रजिष्ट्रेशन पास गरिएको थियो । त्यसवापत् श्रेष्ठले शुभलाभ गरेका थिए । स्रोतका अनुसार तत्कालिन भूमिसुधारमन्त्री चन्द्रदेव जोशीलाई हटाउन श्रेष्ठले पनि भूमिका खेलेका थिए । पछिल्लो समय काठमाडौं उपत्यकाभित्र भूमिमाफियाबाट जग्गा कब्जा भएको घटनाहरुमा कम्युनिष्ट नेताहरुको भूमिका बढी देखिएको छ । 

पम्फा भुषाल र हरिसिध्दि कनेक्सन

नेपाल कम्युनिष्ट पार्टीकी नेता पम्फा भुषाल हरिसिद्धी ईट्टा तथा टायल कारखाना, रेडियो नेपालको जग्गा लिज प्रकरण देखि महेन्द्र आदर्श विद्याश्रमको जग्गा लिजमा दिने प्रकरणमा मुछिएकी छिन् । भुषालले आफ्ना मान्छे लगाएर हरिसिद्धीमा प्रभाव बढाएर त्यहाँको जग्गा विक्रीवितरणमा वातावरण बनाइदिएकी छिन् । हरिसिद्धीमा किसानको जग्गा अधिकरण गरेर कारखाना खोलिएको भएपनि धीतो राखी कारखाना डुबाएर जग्गा बेचिएको छ । जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठ दाजुभाईले योजनावद्ध तरिकाले कारखानालाई डुबाएर जग्गा सिध्याइसकेका    छन् । उनीहरुले जग्गा विक्रीमा अवरोध गर्न खोज्नेलाई पैसाले किन्दै आएका छन् । पछिल्लो समय पम्फा भुषालको खर्चबर्च लक्ष्मीबहादुरले हेरिदिएका छन् । पम्फालाई राजकाजी महर्जनको राम्रो साथ  छ । भर्खरै नेकपा ललितपुर जिल्ला सचिव बनाइएका राजकाजीले विद्यालयको जग्गाहरु लिजमा दिन बलमिच्याई गर्दै आएका छन् । 

जग्गा हडप्न प्रतिष्पर्धा

काठमाडौं उपत्यकामा सार्वजनिक जग्गा हडप्नेमा सबैभन्दा बढी कम्युनिष्ट पार्टीका कार्यकर्ता रहेका छन् । उनीहरुलाई तिनकै नेताको बलियो समर्थन रहने गरेको छ । विमर्श साप्ताहिकको समाचार अनुसार,इमाडोलको २५ रोपनी जग्गा हडप्ने खेलमा पनि नेकपाका धेरै कार्यकर्ता मुछिएको पत्ता लागेको छ । उनीहरुले जग्गा हडप्ने चाँजोपाँजो मिलाएर पैसा र जग्गा समेत उपहार पाएका थिए ।


 

ताजा खबर