आफ्नै भविष्य खोज्दै मौसम भविष्यवाणी

२०७६ बैशाख १४ शनिबार ०६:५३:०० मा प्रकाशित

काठमाडौँ । गएको चैत १७ गते बारा र पर्साका केही निश्चित क्षेत्रमा आएको टोर्नाडोपछि मौसमी भविष्यवाणी र पूर्वचेतावनीमा नेपाल कति कमजोर छ भन्ने स्पष्ट भयो र बहस पनि सघन हुँदै छ । 

त्यस घटना टोर्नाडो हो वा हावाहुरी भन्ने खुट्याउन नेपाली वैज्ञानिकलाई केही दिन लाग्यो । त्यसपछि नेपालको मौसम पूर्वानुमानको स्तरबारे चर्चा सुरु भयो ।  केही वर्ष पहिलेसम्म मौसमको जानकारी पाउन सर्वसाधारण धेरैले आकाशतिर आँखा लगाउँथे तर हिजोआज मोबाइल एप्सतिर धेरैको आँखा जान्छ । हवाइ उडान, कृषि, स्वास्थ्य सेवादेखि आमा मानिसका दैनिकीमा मौसमी सूचना महत्वपूर्ण मानिन्छ । नेपालमा सर्वसाधारणलाई मौसमबारे जानकारी दिन थालेको ५० वर्ष पूरा भए पनि प्रविधि र जनशक्तिका हिसाबले हामी निकै पछाडि रहेको जानकारी सार्वजनिक हुँदै छ ।
छिमेकी मुलुक आफ्ना विकास कार्यक्रमका लागि एक वर्ष अघि नै मौसमको पूर्वानुमान गर्न सक्षम भइसक्दा पनि नेपाल अझै जनशक्ति र प्रविधिका हिसाबले पुरातन र चुनौतीपूर्ण अबस्थामा रहेको नेपाली मौसमविद्हरू बताउँछन् । 
 

मौसम पूर्वानुमानको महत्व 

दैनिक कामका साथै योजनावद्ध विकासका कार्यक्रममा समेत मौसम पूर्वानुमान अनिवार्य छ । विद्युत् उत्पादन, कृषि उत्पादनजस्ता विकासजन्य काममा मात्र हैन स्वास्थ्य, पर्यटन, शिक्षा, रोजगारीका अवसरमा समेत मौसम अध्ययनको प्रयोग बढ्न थालेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा एग्रोमेट्रो अवधारणामा काम सुरु भएको विज्ञ रामेश्वर रिजालको भनाइ छ । 

उहाँका अनुसार मौसम पूर्वानुमानकै सहयोगले सुक्खा र बाढी सहन सक्ने धान, मकै, गहँु तथा तरकारीको बिउको जातको आविष्कार गरिएको छ । 

“विषादी तथा मलको प्रयोग, सिँंचाइको प्रयोग र बाली लगाउने र भित्र्याउने काम पनि मौसमको पूर्वानुमानकै आधारमा किसानले गर्छन् ,” उहाँको भनाइ छ ।

स्वास्थ्यका क्षेत्रमा नेपालमा रोगव्याधीको विविध अध्ययन मौसम परिवर्तनकै आधारमा भएका पाइन्छन् । स्वास्थ्य सेवा विभागका स्वास्थ्य प्रशासक डा.समीरकुमार अधिकारीका अनुसार विशेष खालको स्वास्थ्य समस्या समेत मौसम अनुसार देखापर्ने गर्छ । “सर्पको टोकाइ वर्षात्मा बढी देखिन्छ,” अधिकारीले थप्नुभयो, “त्यस्तै मलेरिया, कालाजार, डेंगु जस्ता रोग पनि मौसमी रूपमा नेपालमा देखिन थालेको छ ।”
“पहिले पहिले तराईमा मात्र देखिने कालाजार अब हिमाली भेग डोल्पामा पनि देखियो,” उहाँले प्रष्ट्याउनुभयो, “मलेरिया र औलो मुगुमा देखियो अनि डेंगु घना सहरमा मात्र हैन दार्चुलामा पनि भेटियो ।”
 

पूर्वानुमानको इतिहास

पाँच दशक अघिसम्म पनि नेपाल मौसमसम्बन्धी जानकारीका लागि भारतमा निर्भर थियो । भारतले वि.सं. २००८ मा कोसी ब्यारेज स्थापना गर्न बर्षा र पानीको बहावको अध्ययन गर्न हिमाली भेगसहित देशका १०४ स्थानमा जल तथा मौसम केन्द्र स्थापना गरेको थियो । 
भारतमा भने ब्रिटिसले ल्याएको आधुनिक उपकरणका कारण मौसम पूर्वानुमानमा आत्मनिर्भर थियो ।

नेपालमा २०२४ सालभन्दा अघिदेखि जलस्रोत सर्वेक्षण विभागले हावापानी तथा जलविज्ञानसम्बन्धी काम गथ्र्यो । तर त्यो अन्य क्षेत्रको लागि नभई जलस्रोतको अध्ययनका लागि मात्र हुन्थ्यो ।

नेपालमा २०२४ सालमा जलस्रोत तथा जलवायु विज्ञान विभाग स्थापना भयो । त्यही साल नेपाल विश्व मौसम सङ्गठनको सदस्य बन्यो । विभागको पहिलो निर्देशक रामप्रसाद नेपाल नियुक्त हुनुभयो । त्यही साल वरिष्ठ मौसमविद् जनकलाल नायवा श्रेष्ठ पहिलो मौसम अधिकृत बनेर विभागमा प्रवेश गर्नुभयो । हाल उहाँ ७५ वर्षको उमेरमा पनि मौसमकै क्षेत्रमा काम गरिरहनु भएको छ ।

कमजोर पूर्वाधार चुनौती 

नेपालमा सन् १९८३ ताका जनसङ्ख्या तथ्याङ्क विश्लेषण गर्न पहिलो पटक कम्प्युटर ल्याइएको थियो । कम्प्युटर प्रविधि मौसम पूर्वानुमान र विश्लेषणमा प्रयोग हुन भने ४० को दशक नै कुर्नुप¥यो । ५० वर्षको इतिहासमा हालसम्म पनि उही पुरानै कालखण्डको सामान्य कम्प्युटरमा निर्भर छ नेपालको पूर्वानुमान । जलतथा मौसम विज्ञान विभागको स्थापना चरणमा सय हाराहारी जनशक्तिले त्यति नै सङ्ख्यामा रहेका स्टेसन व्यवस्थापन गर्थे । 

हाल देशभरमा वर्षा मापन, हावापानी र स्वचालित केन्द्र गरी कुल ५८७ वटा स्टेसन छन् । ती सबैको व्यवस्थापनका लागि २५१ जनशक्ति परिचालित छन् । दक्ष जनशक्तिको टड्कारो अभाव विभागले झेलिरहेको मौसमविद्को भनाइ छ ।

“ उच्च हिमाली क्षेत्रमा स्टेसन स्थापना गरी काम गर्न सकिएको छैन,” मौसमविद् विकास नेपालले थप्नुभयो, “भौगोलिक असहजताले कुनै बेला परियोजनामार्फत हस्तान्तरण भएका केन्द्र पनि व्यवस्थापन गर्न सकिएन ।” उहाँका अनुसार सिनप्टिक केन्द्र(संक्षिप्त सूचना दिने केन्द्र)ले हरेक तीन घन्टामा तथ्याङ्क पठाउँछ । उहाँका अनुसार अटोमेटिक मौसम केन्द्रले भने हरेक १० मिनेटमा तथ्याङ्क दिन्छ । 

मौसमसम्बन्धी सूचना सामाजिक सञ्जाल, फोन तथा इमेलबाट सङ्कलन भएर क्षेत्रीय स्टेसनहुँदै केन्द्रमा पुगेपछि विश्लेषण गरिन्छ । त्यसपछि मात्र सर्वसाधारणमा सूचना वितरण गरिन्छ । गाउँका युवा विदेश गएकाले त्यस्ता स्टेसन हेर्न जिम्मा बुढापाका र किशोर किशोरीको भरमा रहेको छ । 
भाडामा लिएको जग्गाबाट पटक पटक स्टेसन सार्नुपर्ने चुनौती छ । उच्च हिमाली भेगमा केन्द्र स्थापना गर्न नसक्नु तथा मानिसलाई मौसम र जलवायुको चेतना नहुनु अर्को चुनौती छ । 

जलविज्ञ रुद्रबहादुर परियारले नेपालका नदी छेउछाउमा दुई सय स्टेसन रहेको जानकारी दिनुभयो । मानिसले हेरेर नदीको सतह हेर्ने व्यवस्थापनमा काम हुन्छ । अटोमेटिक, डाटा लेभल, भेलोसिटी सेन्सर र राडार लेभल सेन्सरको माध्यमबाट तथ्याङ्क विश्लेषणमा सहयोग पुग्ने उहाँको भनाइ छ । 

मौसमविद् सुजन सुवेदी नेपालको मौसम पूर्वानुमान विकासोन्मुख र चुनौतीपूर्ण अवस्थामा रहेको बताउनुहुन्छ । यस अन्तर्गत मौसमको विश्लेषण गर्ने र अनुमान गर्ने काम पर्छ । कमजोर प्रविधिको उपस्थितिमा पूर्वानुमान गर्नुपर्ने अवस्था चुनौती रहेको उहाँको भनाइ छ ।
 

प्रविधि र जनशक्ति 

नेपालले पहिलो चरणमा चीन र भारतको भूउपग्रह प्रयोग गरेको थियो । अहिले जापानको हिमवारी भूउपग्रहको तस्बिरबाट मौसम विशलेषण गरिन्छ । अझ नयाँ प्रविधिमा रडारसँगै वायुमण्डलको १६ किलोमिटरमाथिसम्मको अवस्था बुझ्न बेलुनमा यन्त्र राखेर परीक्षण भइरहेको छ ।
त्यसैगरी ‘लो प्रेसर चार्ट’को माध्यम र हिमवारी स्याटलाइट तस्बिर विश्लेषणमा सघाउन मौसम पूर्वानुमान महाशाखामा १० जना पूर्वानुमानकर्मी र नौ जना अवलोकनकर्ता मौसमविद्ले काम गर्छन् । २४ घण्टामा दुइपटकसहित तीन दिनको मौसम पूर्वानुमान महाशाखाले गर्दै आएको छ । 
मौसमविद् इन्दिरा कँडेलका अनुसार ‘स्याटलाइट मोडेल’ले समात्न नसकेको मौसमको अवस्थितिलाई ‘न्युमेरिकल क्लाइमेट मोडेल’सँगै अन्य औजार तथा इम्पिरिकल मोडेल र ग्लोवल मोडेलको प्रयोगले विश्लेषण गरिदैछ । 

“तर पनि विश्वका अन्य देशका तुलनामा जसरी र जतिमात्रामा मौसम र जलवायुको जानकारी दिनुपर्ने हो सकेका छैनौँ,” उहाँले भन्नुभयो, “किनभने विश्वका अन्य देशसँग भएका प्रविधि हामीसँग छैन । ”

विभागसँग रिसर्च तथा डेभलपमेन्ट विभाग नै छैन । यसैको अभावमा बारम्बार पूर्वानुमान गलत सावित हुँदा विभागले अपजस पाउने गरेको महानिर्देशक सरजुकुमार वैद्य स्वीकार्नुहुन्छ । 

उहाँले भन्नुभयो, “नेपाल दिगो रूपमा सबल बन्न ‘रिसर्च’ अनिवार्य छ ।” नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा वातावरण र मौसम हेर्ने प्राज्ञ  छन् । तर त्यहाँ पनि शाखा र आवश्यक उपकरण नहुँदा अध्ययन गर्न नसकिएको प्राज्ञ मदनलाल श्रेष्ठ बताउनुहुन्छ । 
 

के हो मौसम पूर्वानुमान ?

पृथ्वीको वातावरणमा उतारचढाव ल्याउने हावा, पानी, तापक्रम, बादल, चट्याङ, आँधी, कुहिरो, शीतलहर, हिमपात लगायतका तत्वहरूको समग्र रूप नै मौसम हो । “यी तत्वहरू मौसमका अङ्गप्रत्यङ्ग हुन् । तिनको हालको अवस्थामा आउने फरकपनको अनुमान गर्ने काम नै सामान्यतया मौसम पूर्वानुमान भनेर भन्न सक्छौँ,” मौसमविद सुजन सुवेदी अथ्र्याउनुहुन्छ । 

उहाँका अनुसार वायुमण्डलको निश्चित समयको अवस्था मौसम पूर्वानुमानले देखाउँछ । कम्तिमा ३० वर्षको मौसमको तथ्याङ्कको औसत प्रवृत्ति हुने उहाँको मत छ । 
 

विश्व मौसम सङ्घ र नेपाल

विश्व मौसम सङ्घ संयुक्त राष्ट्रसङ्घअन्तगर्त रहेर विश्वको मौसम तथा जलवायु हेर्ने निकाय हो । यसको मुख्य कार्यालय जेनेभामा छ । विश्वका १९२ देश पक्ष राष्ट्र छन् । नेपाल २०२४ सालमा पक्ष राष्ट्र बन्यो । सङ्घ अन्तर्गत १३ वटा क्षेत्रीय कार्यालय विश्वमा छरिएका छन् । नेपालमा सोही साल आधिकारिक रूपमा मौसम हेर्ने सरकारी निकायको स्थापना भयो । जसका लागि सङ्घले हावापानी केन्द्र स्थापना र तालिममा सघाएको थियो । 
सङ्घअन्तर्गत रहेको विश्व जलवायु कार्यान्वयन तथा सेवा विभागका प्रमुख डा.रुपकुमार कोलीले नेपालको भौगोलिक विविधता मौसम पूर्वानुमानका लागि निकै चुनौतीपूर्ण छ । 

यहाँ हरेक पल मौसममा परिवर्तन आइरहने भएकाले पनि पूर्वानुमान कठिन रहेको उहाँ बताउनुहुन्छ । “हिमालको मौसम फरक छ ,पहाड र तराईको मौसम फरक छ,” उहाँले थप्नुभयो, “त्यही अनुसारको मौसम पूर्वानुमानका लागि फरक फरक व्यवस्थापन र जनशक्ति आवश्यक पर्छ ।” 
लामो अवधिको भन्दा पनि छोटो अवधिको मौसम पूर्वानुमान गर्न रडारसँगै स्वचालित मौसम केन्द्र, विगत र भविष्यको तथ्याङ्क प्रशोधन, अत्याधुनिक प्रविधि र कम्प्युटरको प्रयोगमा नेपालले तत्काल ध्यान दिनुपर्नेछ । सुपर कम्प्युटर ल्याउन नसके पनि एडभान्स कम्प्युटर प्रयोग गर्नुपर्ने सुझाव उहाँको छ । अन्य देशको सामरिक अवस्था प्रायः एकैखालको रहँदा एकै विधि र प्रविधि अपनाए पुग्छ । तर नेपाल त्यो भन्दा फरक अवस्थामा रहेकाले फरक फरक विधि र प्रविधिमा काम गर्नुपर्ने हुन्छ ।

“नेपालले आफै सबै खर्च बेहोर्न नसक्ने हुँदा क्षेत्रीय कार्यालयको सहयोग लिनुपर्छ’’ उहाँ थप सुझाउनुहुन्छ, “सुपर कम्प्युटर किन्न नेपालजस्ता साना मुलुकले नसक्नेहुँदा विश्वव्यापी रुपमा सहज र निःशुल्क उपलब्ध प्रविधिको भरपुर प्रयोग गर्ने वातावरण बनाउनुपर्छ ।”

विश्वमा प्रयोगमा आइरहेको वायुमण्डलीय, विश्वव्यापी र समुद्री मोडेलको प्रयोगमा पकड जमाएर पनि मौसम पूर्वानुमानको जग बलियो बनाउनसक्छ । कुनै देशसँग मिलेर संयुक्त रुपमा पूर्वानुमानकार्यमा सहकार्य गर्न सक्ने बताउनुभयो ।

नेपालले आग्रह गरेमा सङ्घले दक्ष जनशक्तिका लागि आवश्यक प्राविधिक तालिम, सहज पहुँचको बाटोसँगै विविध क्षेत्रसँग जलवायुलाई जोडेर काम गर्ने परियोजना र अवसरको सिर्जना गर्न सक्छ ।

छिमेकमा मौसम पूर्वानुमान
 

भारत

छिमेकी भारत सन् १८७५ मा जलवायु र मौसमको अवस्था पत्ता लगाउने प्रविधि भित्रियो । बेलायती औपनिवेशिक सरकारले १२५ स्थानभन्दा बढी हावापानी केन्द्र स्थापित थिए । भारतले छोटो अवधिमा एकदिनदेखि १० दिनसम्मको मौसम पूर्वानुमान गर्छ । 

नेपालमा हालै सम्पन्न जलवायुसम्बन्धी गोष्ठीमा सहभागी हुन आउनु भएका भारतको जलवायु अनुसन्धान, सेवा प्रमुख तथा वैज्ञानिक डा. डीएस पैले भन्नुभयो, “४५ दिनदेखि नौ महिना सम्मको लामो पूर्वानुमान गर्छौँ,” 

उहाँका अनुसार सुपर कम्प्युटरसँगै यसका लागि आवश्यक सफ्टवेयर कम्पनीले नै दिने गर्छ । यसले सहजै प्राप्त तथ्याङ्कलाई फरक फरक विधिबाट विश्लेषण गरेर सरल बनाइदिन्छ । 
 

जापान 

सोही कार्यक्रममा सहभागी जापानी मौसम वैज्ञानिक टाकुयाका अनुसार जापानमा सुनामी, टाइफुन आँधी, टोर्नाडो, भूकम्प, बाढी पहिरो,ज्वालामुखीको उच्च जोखिममा रहेकोले पलपलको मौसमको जानकारी राखिन्छ । 

“हाम्रोमा ठाडो पहाड छ पानी परेपछि बाढी सिधै मानववस्तीमा पस्छ,” उहाँले भन्नुभयो, “१० देखि १५ मिनेटको समयमा जोखिम क्षेत्रका जनधनको सुरक्षा गर्न जल तथा मौसम प्रणाली सक्रिय राख्नुपर्छ ।” जसका लागि जापान सरकारले आफै स्थानीय मोडेलको विकास गरेको छ । 
 

श्रीलङ्का

अत्यधिक बाढीको प्रकोप हुने श्रीलङ्कामा यी दुई देशमा जस्तो सुपर कम्प्युटर छैन । तर सामान्य कम्प्युटरभन्दा उच्चकोटीको कम्प्युटर मौसम पूर्वानुमानको तथ्याङ्क विश्लेषणका लागि सरकारले व्यवस्था गरेको मौसमविद् सिरोमिनी जयवद्र्धनेले जानकारी दिनुभयो । १० दिनदेखि तीन महिनासम्मको लामो अवधिको पूर्वानुमान गरि बाढीको डुबानबाट सुरक्षित राख्न सरकार र मौसमविद् सचेत रहने गरेको उहाँले सुनाउनुभयो । 
 

बङ्गलादेश

बङ्गलादेशमा भने उच्च प्रविधिको एमटीसी ११ र माइक ११ मोडेलको कम्प्युटर प्रयोग गरिन्छ । तीनदेखि १० दिनसम्मको मौसम पूर्वानुमान    गरिन्छ । “मनसुनजस्तो मौसमी पूर्वानुमानले काम गर्दैन,” मौसमविद् उदय राइहानले भन्नुभयो, “पूर्वतयारी गर्न सकिने खालको पूर्वानुमान    चाहिन्छ ।” 

साइक्लोन, टोर्नाडो र बाढी यहाँको सङ्कट भएकाले त्यसबाट जोगिन सक्ने पूर्वानुमान जरुरी ठानिन्छ । टोर्नाडोका लागि भने कुन बाटोमा गएको छ भन्ने जानकारी दिन सो अगाडि बढेको स्थानबाट सुरक्षित स्थानमा जाने पूर्वानुमान गरिन्छ । 
 

म्यानमार र माल्दिभ्स 

म्यानमारकी मौसमविद् येयेसोले डिएमए मोडेलमा हरेक महिनामा तीन पटक मौसम पूर्वानुमान गरिने बताउनुभयो । माल्दिभ्स टापु नै टापु रहेको देश भएकाले यहाँको मौसम पूर्वानुमान चुनौतीपूर्ण रहेको मौसमविद् गसिथ मोहम्मद जाहिद बताउनुहुन्छ । उहाँका अनुसार हरेक टापुमा किसानलाई जग्गा भाडामा दिएर काम लगाइने हुँदा मौसमको बढी प्रयोग कृषिका लागि हुने गरेको छ । 
 

भुटान 

सानो देश भुटानमा विपत्तिबाट जोगिनसँगै मौसम पूर्वानुमानलाई एग्रो मेट्रोलोजीको रूपमा प्रयोग गरिएको कृषि अनुसन्धानकर्मी सागर आचार्यले जानकारी दिनुभयो । किसानलाई मोबाइल एसएमएस,इमेल तथा मोबाइल एप्सबाट मौसमको जानकारी पुर्याएर सरकारले सहयोग गर्छ ।

औंला भाँच्दै भविष्यवाणी गरिन्थ्यो
भरियालाई पेट्रोल बोकाएर स्टेशन चलाइयो 
वरिष्ठ मौसमविद् 
जनकलाल नायवा श्रेष्ठ

“भर्खर नेपालमा सुरु भएको अन्तर्राष्ट्रिय हवाई उड्डयन सेवालाई मौसम अवस्थाबारे सूचना दिनुपर्ने भएकाले विभागको स्थापना भएको थियो,” श्रेष्ठले भन्नुभयो, “२०२५ पुस १ गतेबाट सर्वसाधारणलाई मौसमको जानकारी दिन सुरु ग¥यौँ ।” त्यो बेला मौसम तथा जलवायु अध्ययन गरेको जनशक्ति अभाव थियो । 

रेडियो नेपालको बेलुकाको समाचारपछि र गोरखापत्रमा छाप्न गाडीमा आफै सामग्री पठाएको सम्झना अझै उहाँसँग ताजा छ । 
वि.सं.२०२४–२५ सम्म एकवर्षभित्र झन्डै १२ वटा हवाई उड्डयन क्षेत्र तथा करिब १५ वटा कृषि केन्द्रमा मौसम केन्द्रको स्थापना गरिए । त्यो काम त्यति सहज थिएन । 

भारतले नेपालमा स्थापना गरेका केन्द्र हस्तान्तरण पनि नहुने हटाउने काम पनि भएन यसले गर्दा अप्ठेरो थियो । “जे त पर्ला भनेर किला र काठ बोकेर जहाँ भारतको स्टेसन थिए त्यही त्यही आफैंले काठ ठोकेर स्टेसन बनाइयो,” उहाँ थप्नुभयो, “अन्यत्र बनाउँदा तथ्याङ् यताउता होला भनेर त्यसो गरियो ।” 

आफ्नै आवा प्रविधि भएका चारवटा सिनप्टिक केन्द्र जुम्ला, काठमाडौं, विराटनगर र सिमरामा स्थापना गरिए । डोकोमा पेट्रोल बोकाएर त्यसबाट त्यस्ता केन्द्र चलायमान गरिन्थ्यो । म काठमाडौंको साहुको छोरो । कहिले हिमाल नहिँडेको व्यक्ति । जुम्ला जाँदा पिढीको चिसामो बास प¥यो । “रातभरि जाँतो चल्यो निदाउनै सकिएन,” उहाँले विगत सुनाउनुभयो, “भोलिपल्ट अनिँदो हिउँको उकालो लाग्दा ज्वरो नै आयो ।” काम गर्न जाँदा पाएको १० रुपियाँ भत्ता भरियाले लान्थे । अहिलेको जस्तो डिजिटल प्रविधि नभएकाले हातैले लेखेर अवाबाट पाएका तथ्याङ्क कागजको नक्सा हेरेर औंला भाच्दै विश्लेषण गरिन्थ्यो । विश्लेषण गर्न क्यालकुलेटर मेसिन र आकाशवाणीको प्रविधिमात्र उपलब्ध थियो ।

विभागको मौसम भविष्यवाणी शाखामा देशका हरेक शाखाले तीन–तीन घन्टामा जानकारी उपलब्ध गराउँथे । विश्लेषण गरेपछि वार्षिक बुलेटिन प्रकाशन गरेर हरेक सरकारी निकायमा बाडिन्थ्यो । 

हावापानीकेन्द्रका हेरालुलाई वार्षिक रुपमा तलब दिइन्थ्यो । वि.स.ं २०२९ सालमा विभागलाई नहर बिभागमा गाभी सिँचा तथा जलवायु विज्ञान विभागमा परिणत गरिएको थियो ।

पछि जलवायु विज्ञानको अर्थमा अस्पष्टता आएको ठानी जलवायु विज्ञानलाई टुक्र्याएर जल भनेको जलस्रोत र वायु विज्ञान भनेको हावापानी विज्ञान भन्दै सिंँचाइ तथा जलवायु विज्ञान विभाग नामाकरण गरियो । (गोरखापत्र दैनिकबाट)

ताजा खबर