नेकपा पोलिटव्यूरो १४७ सदस्यीय हुने, यी हुन् सम्भावित नाम

२०७६ बैशाख १३ शुक्रबार १६:४५:०० मा प्रकाशित

काठमाडौं । एघार महिना लामो तानातानपछि पार्टी एकतालाई गति दिएको सत्तारूढ दल नेकपा जिल्ला तहको सांगठनिक एकता सम्पन्न गरेलगत्तै एक सय ४७ सदस्यीय पालिटब्युरो गठनको गृहकार्यमा जुटेको छ ।

कुल केन्द्रीय सदस्यको एक तिहाइ सदस्य पोलिटब्युरोमा छानिनुपर्ने पार्टी विधानको प्रावधानअनुसार चार सय ४१ केन्द्रीय सदस्यको एक तिहाइ अर्थात् एक सय ४७ सदस्यीय पोलिटब्युरो गठनमा यतिबेला नेकपाका शीर्ष नेता जुटेका छन् । पोलिटब्युरोमा एकताका क्रममा गरिएको सहमतिअनुसार, पूर्व एमाले पक्षबाट ५५ प्रतिशत र पूर्व माके पक्षबाट ४५ प्रतिशतको अनुपातमा पोलिटब्युरो गठनको तयारी थालिएको हो । यो अनुपातका आधारमा पोलिटब्युरोमा एमालेले ८२ र माकेले ६५ जना सदस्य पाउनेछन् ।

यो अनुपातमा समीकरण मिलाउँदा पूर्व एमालेमा पोलिटब्युरो सदस्य रहिसकेका प्रायः सबै नेता समेटिने छन् । यसअघिको एमाले पोलिटब्युरो ५९ सदस्यीय थियो । त्यसमा रहेका मध्ये पनि तीनजना गणेश तिमिल्सिना राष्ट्रिय सभाका अध्यक्ष, सानु श्रेष्ठ प्रदेश तीनका सभामुख र अग्नि खरेल महान्यायाधिवक्ताको जिम्मेवारीमा पुगेकाले तीन स्थान खाली नै छन् । यसरी हेदा पूर्व एमालेबाट २६ जना नयाँ अनुहार पोलिटब्युरोमा थपिँदै छन् । तर माकेमा भने पछिल्लो अनुपातले समस्या खडा गरेको पाइएको छ । पूर्व माकेस्रोतका अनुसार, यतिबेला अध्यक्ष प्रचण्डलाई आफ्नो भागमा परेको ६५ स्थानमा ककसलाई अटाउने र कसलाई पर सार्ने भन्ने समस्याले पिरोलेको छ । पूर्व माकेकै एउटा खेमा युद्धकालमा रहेको दलको ९५ सदस्यीय केन्द्रीय समितिमा रहेका प्रायलाई समेट्नुपर्ने दबाव सिर्जना गर्न लागिपरेको छ ।

अदृश्य रूपमा सभामुख कृष्णबहादुर महराले नेतृत्व गरेको यो समूह पार्टी शान्तिप्रक्रियामा आइसकेपछि एकतामा संलग्न दलका नेतालाई पोलिटब्युरोमा समेट्न नहुने भन्दै अध्यक्ष प्रचण्डमाथि दबाव सिर्जना गर्न लागिपरेका छन् । उनीहरु यतिबेला शान्तिप्रक्रियापछि एकतामा आएको नारायणकाजी श्रेष्ठको समूह र डिलाराम आचार्यको समूहलाई पोलिटब्युरोमा ल्याउन नहुने भन्दै अध्यक्षमाथि दबाव बढाउँदै गएका छन् । आफूलाई कमजोर बनाउनकै लागि दलमा नारायणकाजीको प्रवेश गराइएको बुझाइमा रहेका महराले यो अभियानमा आफ्ना छोरा र निकटस्थ केन्द्रीय सदस्यहरुलाई परिचालन गरेको पूर्व माकेकै एक केन्द्रीय सदस्यले बताएका छन् ।

 यतिबेला पूर्व माकेभित्र एउटा नेताले अर्को नेतालाई खुइल्याउने प्रतिष्पर्धा नै चलेको छ । नारायणकाजीविरुद्ध रहेको यो मत पोलिटब्युरोमा नारायणकाजी र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलबाहेक अन्यलाई स्थान दिनु नहुने अडानमा रहेको छ । यसका पछाडि उनीहरुले, नारायणकाजी र नेकपाकै वरिष्ठ नेता माधव नेपालबीचको घनिष्ठता बढेको तर्क राख्दै कुनै पनि बेला नारायणकाजीले धोका दिने भन्दै अध्यक्ष प्रचण्डको कान भर्ने अभियान थालेका छन् ।

 शान्तिप्रक्रियालगत्तै माकेसँग एकता गरेका डिलारामको समूहलाई भने पूरै बाइपास गर्नुपर्ने महराले अघिसारेको समूहको दबाव छ । माकेप्रति अविश्वास गर्दैआएका डिलारामहरु दलको अवधारणाभित्र समेटिन नसक्ने उनीहरुको धारणा रहेको स्रोत बताउँछ । यसैले पनि सर्सर्ती हेर्दा हिजो जिल्लामा समायोजन मिलाउन पूर्व एमालेमा परेको सकस यतिबेला पोलिटब्युरोमा नेताहरुलाई समायोजन गर्न पूर्व माके पक्षलाई परेको बुझ्न सकिन्छ । 

जिल्लामा हैरानी खेपेको एमाले पक्ष भने पोलिटब्युरो गठनमा सुबिधाजनक स्थितिमा देखिएको छ । एकतापछि बोनसमा आएको थप २३ स्थान र रिक्त रहेका ती स्थान गरी कुल बाँकी २६ स्थानमा विगतमा पोलिटब्युरोमा रहिसकेर एमालेको नवौँ महाधिवेशनमा पराजित भएका तर पछि केन्द्रीय समितिमा थपिएका खगराज अधिकारी, नरेश खरेल र धर्मनाथ साह यसपालि एमालेको तर्फबाट नेकपाको पोलिटब्युरोमा थपिने सम्भावित नाम   हुन् ।

तीनपटक वा त्यसभन्दा बढी केन्द्रीय सदस्य भइसकेका नेता गुरु बराल, देवराज घिमिरे, केशवलाल श्रेष्ठ, घनेन्द्र बस्नेत, केदार न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, प्रमेश हमाल, भानुभक्त ढकाल, रामचन्द्र यादव र जयन्ती राई यसपटक पोलिटब्युरोमा पर्ने सम्भावना भएका थप नाम मानिन्छन् ।

नेकपा पोलिटब्युरोमा पर्न केन्द्रीय सदस्यहरूले शीर्ष नेतालाई दबाव दिने क्रम बढेको छ । एमालेतर्फबाट पोलिटब्युरोमा महिलाबाट सुजिता शाक्य, जनजातिबाट शेरबहादुर तामाङ, मधेसीबाट श्रीप्रसाद साह, मुस्लिमबाट नजिर मियाँ र दलितबाट चूडामणि जंगलीको सम्भावना रहेको स्रोतले बताएको छ । विमर्श साप्ताहिकको समाचार अनुसार, यसअघि पहिले एमालेको पोलिटब्युरोमा रहेका तर बीचमा पार्टी छाडेर अशोक राईसँग गए पनि पछि फर्किएका विजय सुब्बालाई पोलिटब्युरोमा समेट्ने विषयमा भने नेताबीच नै विवाद देखिएको छ ।

ताजा खबर