कलामा देखियो भोटेकोशीको सभ्यता

२०७६ बैशाख १३ शुक्रबार १०:२६:०० मा प्रकाशित


काठमाडौँ, १३ वैशाख । सिन्धुपाल्चोक, भोटेकोशीमा विकास भएको सभ्यता संरक्षण, प्रवद्र्धन तथा विकास गर्ने लक्ष्यका साथ तीनदिने कला कार्यशाला सम्पन्न भएको छ ।

भोटेकोशी गाउँपालिका–४ फुल्पिङ्कट्टीमा १५ कलाकारसहित पुगेको पुरातत्व विभागको टोलीले अध्ययन तथा चित्र बनाएका हुन् । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘भोटेकोशी सभ्यताको सौन्दर्य पर्यटन गुरुयोजना निर्माण एवं कला कार्यशाला’ को थैपी नारायण मन्दिर परिसरमा गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले उद्घाटन गरेका छन् । उनले पर्यटन प्रवद्र्धनमा कलाको भूमिका महत्वपूर्ण रहने बताउँदै भोटेकोशी गाउँपालिकामा रहेका प्राचीन सम्पदाको संरक्षणमा आफूले काम गर्ने बताए ।

जैमन थैपी नारायण गुठी व्यवस्थापन समितिका सदस्य देवलाल श्रेष्ठले मन्दिरको प्राचीनता निकै पुरानो भएको बताए । पुरातत्व अधिकृत तथा कार्यक्रमका संयोजक प्रकाश खड्काले प्राचीनकालमा नेपाल र तिब्बतबीचको मध्यविन्दुका रुपमा भोटेकोशी क्षेत्र प्रसिद्ध रहेको बताए । उनले प्राचीन नेपाली कला र प्राचीन तिब्बती कलाको सुन्दर समिश्रण अझैसम्म जीवन्त रहेको जानकारी दिए ।

जैमिन थैपी नारायण परोकार केन्द्रका अध्यक्ष अनेश नेपालले ओझेलमा परेको यस क्षेत्रको विकासका लागि कला कार्यशाला तथा प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै भने, “दिनप्रतिदिनको विकास र आधुनिकताको प्रभावबाट भोटेकोशी सभ्यताका लोकसम्पदा, लोकसंस्कृति, लोकधर्म, लोकपरम्परा, लोककला पनि अछुत रहन सकेका छैनन् । तसर्थ यस क्षेत्रको विकास र समृद्धिका लागि कला कार्यशाला गरिएको हो ।”

जैमन थैपी नारायण गुठी व्यवस्थापन समितिका अध्यक्ष मेखबहादुर खड्काले भोटेकोशीको विकासका लागि यस क्षेत्रमा रहेका सम्पदाको विकासका लागि काम गर्नुपर्ने भनाइ व्यक्त गरेका छन् ।

कार्यशालाका संयोजक तथा सहभागी कलाकार दिवेश प्रधानले कलामार्फत सभ्यताको संरक्षणमा कलाकारले चित्र बनाएको बताए ।

कार्यशालामा कलाकार देवेन्द्र थुम्केली, राजेन्द्र याकामी, रवीन्द्र श्रेष्ठ, चन्द्रा श्रेष्ठ, कान्छाकाजी भासिमा, विक्रम प्रजापति, विकास बिशङ्खे, प्रकाश मानन्धर, लक्ष्मीप्रसाद खोटेजा, राधेश्याम कर्माचार्य र सूर्यराम सुवाल सहभागी थिए । भोटेकोशी सभ्यतालाई दिगो रुपमा जीवन्त राख्न मौलिक एवं पर्यावरणीय अनुकूल गुरुयोजना निर्माण र त्यहाँको कला संस्कृतिको प्रदर्शनी तथा प्रवद्र्धन गर्न कला कार्यशालाको आवश्यकता महसुस गरिएको कलाकार राकेशचन्द्र श्रेष्ठले बताए ।  रासस

 

ताजा खबर