पर्दा उघारेर हिँडेका माधव नेपाल कता हराए ?

काठमाडौं – ७० औं कम्युनिस्ट पार्टी स्थापनाको अवसरमा ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नाम घोषणा कार्यक्रम कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा थियो।
घोषणा कार्यक्रम १२ बजे हुने बताइएको थियो तर निर्धारित समयभन्दा करिब डेढ घण्टा ढिला सुरु भयो। सुरुमा करिब साढे १२ बजेतिर वरिष्ठ नेता झलनाथ खनाल आइपुगे।
खनाल कुर्सीमा बसेको केही समयपछि पनि कार्यक्रम शुरु नभएपछि उनी बाहिर निस्किए। त्यसको केही समयपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसँगै खनाल फेरि अगाडि मञ्चमा रहेको कुर्सीमा गएर बसे। उनीहरुले अध्यक्षद्वयको पर्खाइमा निकै समय कुरे।
करिब सवा १ बजेतिर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँगै कार्यक्रममा हात हल्लाउँदै आइपुगे वरिष्ठ नेता माधवकुमार नेपाल। कार्यक्रम प्रस्तोता महासचिव विष्णु पौडेलले कम्युनिस्ट पार्टीबारे केही समय लिखित व्याख्या गरे, त्यसपछि दाहाललाई मन्तव्यका लागि बोलाए।
कार्यक्रममा दाहालले बोल्दाबोल्दै केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले ७७ वटै जिल्ला कमिटीको अध्यक्ष र सचिवको फोटोकपी ल्याएर महासचिव पौडेललाई दिए। पौडेले र श्रेष्ठ मिलेर सचिवालयका ९ सदस्यहरुलाई उक्त लिस्ट वितरण गरे।
दाहाल कार्यकम्रमा बोल्दै थिए, नेता नेपालले सरसर्ती लिष्ट हेरे, त्यसपछि जुरुक्क उठेर हिँडे। नजिकै रहेका प्रवक्ता श्रेष्ठले केही सोधे नेपालले पारि जान लागेको संकेत गर्दै पर्दा उघारेर बाहिर निस्किए।
विश्व कम्युनिस्ट आन्दोलनदेखि नेपाल कम्युनिस्ट आन्दोलनबारे दाहालले लामो व्याख्या गरे। त्यसपछि एकता प्रक्रियाबारे पनि केही समय बोले। बोल्ने पालो आयो ओलीको। लामो मन्तव्य सकाएर मञ्चमा रहेको कुर्सीमा बसेर सरसर्ती जिल्ला अध्यक्ष र सचिवको लिस्ट दाहालले नियाले।
त्यतिबेलासम्म पनि नेता नेपाल नआएपछि दाहालले पल्ला छेउमा बसेका महासचिव पौडेललाई केही सोधे। पौडेलले हातले इसारा गर्दै उही नेता नेपाल बाहिर निस्किएको पर्दातिर देखाए। अनि दाहालले छेउमै बोलाएर महासचिव पौडेललाई केही सोधे।
करिब साँढे ३ बजेतिर ओलीले आफ्नो मन्तव्य सके। तर कार्यक्रममा एकैछिन बसेका नेता नेपाल कार्यक्रम सकिँदासमेत आएनन्।
एकता प्रक्रियामा सुरुदेखि असन्तुष्ट नेता नेपाल सोमबार भएको घोषणा कार्यक्रममा किन पूरै सयम बस्न सकेनन्? यो एकता प्रक्रियाबारे नेता नेपालको असुन्तुष्टि यसैबाट सहजै बुझ्न सकिन्छ। नेता नेपालको यो कदम कार्यक्रम बहिष्कार हो वा विशेष कामले उनी बाहिरिएका हुन्।
नेपालले नेकपा अध्यक्ष दाहालसामु आफ्ना पक्षका जिल्ला नेतृत्वलाई एकता प्रक्रियामा बाहिर राखिएको भन्दै बेलाबेलामा असन्तुष्टि राख्दै आएका थिए। उनले पार्टीको जिल्ला कमिटी एकताको निर्णय स्थायी कमिटी बैठकबाट हुनुपर्ने माग गरेका थिए।
यसबारे पुष्टि गर्न खोज्दा उनीनिकट नेताहरुसँग सम्पर्क ग¥यौं, तर सबैले बैठक चलिरहेको भन्दै बोल्न चाहेनन्। (नागरिक दैनिकबाट)