कहिल्यै झगडा नपरेको जोडी

२०७६ बैशाख ९ सोमबार ०७:२६:०० मा प्रकाशित

काठमाडौं । आजभन्दा ४५ वर्षअघि नाटकबाट आफ्नो अभिनय यात्रा सुरु गरेका कलाकार वसन्त भट्टलाई दशक अघिको टेलिसिरियल ‘तीतो सत्य’ले दर्शक माझ लोकप्रिय बनाइदियो । तितो सत्यमा प्रहरीको भूमिकामा हप्तैपिच्छे देखिनेभएकाले दर्शकको नजरमा उनी परे । 

वसन्तले त्यसपछि थुप्रै चलचित्रमा अभिनय गर्ने अवसर पाए । दर्जनौं चलचित्रमा काम गरिसकेका वसन्तले तितोसत्यमा अभिनय गर्न थालेपछि चलचित्रमा धेरै अफर आउन थालेको बताउँछन् । २०४९ सालमा सपना सुवेदीसँग बिहे गरेका वसन्तले एक वर्षको चिनजानको अन्तरालमा जीवनसाथी रोजेको बताउँछन् । आफू बस्दै आएको घरबेटीकै छोरीलाई बिहे गरेका वसन्तका एक छोरा र एक छोरी छन् । छोरा अमेरिकामा छन् भने छोरीको बिहे भइसकेर अमेरिकामै छिन् । उनै वसन्तले बिहे गरेको २७ वर्ष पुग्दै गर्दा जीवनमा भोगेका तीतामीठा क्षणहरू शेयर गरेका छन् । 

१५ वर्ष कान्छी घरबेटीको छोरीसँग बिहे

वसन्त सरकारी जागिरे पनि थिए । जागिर खाने सिलसिलामा काँकडभिट्टामा भाडामा बस्नेक्रममा सपनाको घरमा पुगेको बताउँछन् । ‘त्यो एरियामा सपनाको घर अलि राम्रो थियो र त्यहाँ बस्ने निर्णय भयो, पछि छोरी छिन् भन्ने थाहा थियो, देखिरहन्थेँ तर बोलचाल लामो समयसम्म भएको थिएन ।’ वसन्तले २६ वर्ष अघिको कुरा सम्झिए । 

आफ्नो घरमा बिहेको कुरा चलेपछि सपना राम्रो लागेको र उनैलाई बिहे गर्छु भन्ने आफैले निर्णय गरेको उनी बताउँछन् । ‘घरमा मैले केटी देखेको छु भनेपछि नाई नास्ती हुँदैनथ्यो । सपनाको घरमा कुरा चलाइयो, कलाकार मान्छे त्यसमाथि सरकारी जागिर पनि भनेपछि उनको घरमा पनि नाई भन्ने कुरा भएन । उमेरको कुरामा रोकथोक भएन’ वसन्तले भने ।

सपनाले पनि बानी व्यवहार राम्रो भएकाले वसन्तसँग बिहे गर्न इच्छुक भएको बताइन् । ‘घरमा बस्ने दाई भनेर चिन्थेँ, एक्कासि बिहेको कुरा आउँदा अचम्म त लाग्यो तर पछि बानी व्यवहार सबै राम्रो लाग्थ्यो र बिहे गर्छु भनेकी हुँ’, सपनाले भनिन् ।

झगडा कहिल्यै परेन

वैवाहिक जीवनको २७ वर्षको अन्तरालमा अहिलेसम्म झगडा नपरेको वसन्त र सपना बतउँछिन् । आफूहरूबीच दुईचार दिन बोलचालै बन्द हुने गरी झगडा कहिल्यै नभएको र अहिले पनि २७ वर्ष कटेको अनुभूति नभएको बताउँछन् । ‘कहिलेकाँही कतै जाऊ, केही खाउँ भन्ने कुरामा यो होइन त्यो भन्ने विषयमा विवाद हुँदा पनि एकले अर्कालाई बुझ्ने भएकोले होला झगडा पर्नै पाउँदैन’, वसन्तले भने । 

सपनाले भने वसन्तको झट्ट रिसाउने तर छिनमै खुशी हुने बानी रहेको खुलाइन् । ‘दर्शकले सिरियलमा झट्ट रिसाएको देख्नुभएको छ होला, त्यो एउटा बानी चाँही रियल लाइफमा मिल्छ, अरू केही पनि मिल्दैन’, सपनाले भनिन् । उनीहरूले आफूहरूबीचको उमेरको अन्तरले पनि सोचाई र बुझाइ फरक हुने हुँदा कहिले काँही विचारमा फरकपन आउने स्वीकारिन् । 

बाहिर रिसाहा बूढा भन्छन्

सपनाले आफ्ना साथीभाइहरूबाट तिम्रो त बूढा रिसाहा छन् होला भन्ने कुरा धेरैबाट सुन्ने गरेको बताइन् । ‘टेलिभिजनको पर्दामा जुनरूपमा देख्छन् भित्र पनि त्यही रूप होकी भन्ने धेरैको अनुमान हुँदोरहेछ, कतिले सधैं यस्तो रिसाहा हुनुहुन्छ भनेर सोध्छन् तर भित्रीरूप साह्रो कोमल छ’, सपनाले भनिन् । 

वसन्तले पनि आफ्नो अनुहार केही रिसाहा प्रकारको रहेको स्वीकार्दै उनी भन्छन् ‘अलि रातो वर्ण र आँखा ठूलो भएकाले पनि मान्छेहरू तर्सिने खालको अनुहार छ । कतिपय दर्शक त टाडैबाट हेर्नुहुन्छ, नजिक पर्न चाहनुहुन्न ।’

अहिलेसम्म हलमा सँगै एकपटक मात्र

श्रीमान श्रीमती भइसकेपछि हलमा पुगेर फिल्म एकपटक मात्र हेरेको बताउँछन् । आफ्नै चलचित्र हलमा लाग्दा पनि श्रीमतीसँग चलचित्र हेरेको क्षण निकै कम भएको वसन्तले बताउँछन् । बिहे गरेपछि चलचित्र ‘लाहुरे’सँगै हेरेको सपनाले सम्झिन्छिन् । ‘लाहुरे हेरेपछि हलमा गएका छैनौं, खासै बाहिर घुम्न जाने रमाइलो गर्ने खालको सपना छैनिन्’, वसन्तले भने । 

तीतो सत्य जीवनको टर्निङ प्वइन्ट

वसन्तले आफ्नो कलाकारिताको जीवनको टर्निङ प्वइन्ट तितो सत्य टेलिसिरियललाई दिन्छन् । थुप्रै नाटकमा लेखन र अभिनयको काम गरेपनि तीतोसत्यमा प्रहरी (इन्स्पेक्टर)को भूमिकामा देखिन थालेपछि गाउँगाउँका दर्शकले पनि चिन्न थालेको र त्यसपछि थुप्रै चलचित्रमा पनि अफर आएको बताउँछन् । 

‘नाटक भनेको सिमित दर्शकले हेर्नुहुन्छ, तर जब टेलिभिजनको पर्दामा दीपकराज गिरी र दीपाश्री निरौलाको टिमको तीतोसँत्यमा हप्तैपिच्छे देखिन थालेँ, दर्शकहरूले चिन्न थाल्यो भने, अहिले पनि मलाई कतै बाहिर निस्किएँ भने, तीतोसत्यको इन्स्पेक्टर होइन भनेर फोटो खिचाउनु हुन्छ । तीतोसत्यलाई कहिल्यै भुल्न सक्दिन’, वसन्तले सम्झिए ।

अमेरिकाले मोह लागेन

आफ्नो एक छोरा र एक छोरी अमेरिका बस्दै आएका भए पनि आफूहरूलाई अमेरिकाको मोह कहिल्यै नलागेको बताउँछन् । परिवारसँग भेट्न मन लाग्दा समयसमयमा जाने गरेको त सधैंका लागी अमेरिका जाने मन नबनाएको वसन्तले बताए । ‘त्यहाँ काम गरेर बसौंला, उतै रमाइला भन्ने कहिल्यै लागेन, त्यहाँ धेरै समय बस्नै सक्दिनँ, नेपालको झल्कोले पिरोलिरहन्छ’ वसन्तले सुनाए । छोराले अमेरिकामै बस्ने गरी आउनुस भने पनि पछि बुढेसकाल लागेपछि मात्र जाने सोंच बनाएको वसन्त बताउँछन् ।

पारिश्रमिकमा गुनासो

वसन्तले पछिल्लो नेपाली फिल्मक्षेत्रमा आफूलाई मन नपरेको कुरा खुलस्त तरिकाले सुनाए । नेपाली फिल्मको स्क्रिप्टमा लेखिएको भूमिका अनुसार पारिश्रमिक तोकिने प्रवृति आफूलाई मन नपरेको बताउँछन् । उनले स्क्रिप्टमा लेखिएको भूमिकामा अभिनय गर्ने कलाकारलाई हेरेर र उसको काम हेरेर पारिश्रमिक तोकिनुपर्ने बताउँछन् । ‘रोल कस्तो छ त्यो अनुसार पारिश्रमिक छुट्याएको पाइन्छ तर कुन कलाकार छ, उसले कत्तिको राम्रो काम गर्छ त्यो अनुसार पारिश्रमिक हुनुपर्छ भन्ने लाग्छ । अहिले पनि वसन्तले निरन्तर चलचित्रमा काम पाइरहेका छन् । प्रदर्शन भएको उनको पछिल्लो फिल्म ‘गरुण पुराण’ हो । (हिमालय टाइम्स दैनिकबाट)

ताजा खबर