नेकपामा ११ महिनामा केके भए ?

२०७६ बैशाख ८ आइतबार २१:२५:०० मा प्रकाशित

काठमाडौं– एकता भएको औपचारिक घोषणा गरिएको वर्ष दिन पुग्न लाग्दा पनि अन्यौलमै रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तल्लो तहको एकता भोलि सोमबार घोषणा गर्ने तयारी छ।

२२ अप्रिल अर्थात वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन हुने भनिएको नेकपाको तल्लो तह कमिटी एकताका लागि नेताहरुले छलफललाई तीव्रता दिएका छन्।

आइतबार बिहान साढे ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहालले करिब २ घण्टा छलफल गरेका थिए। उक्त छलफलमा वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल पनि सहभागी थिए।

आजै साँझ बस्ने बैठकले जिल्ला तहलगायत बिषयको टुंगो लगाउने बताइएको छ। त्यस्तै अध्यक्षद्वयले तयार पारेको प्रतिवेदन पदाधिकारीहरुको अन्तिम प्रस्ताव पनि बैठकमा पेश हुनेछ।

आइतबार बिहान बसेको बैठकमा दाहालले जनप्रतिनिधि पनि पार्टीको प्रमुख हुन पाउने प्रस्ताव गरे। उक्त प्रस्तावमा केहि समय छलफल चल्यो। छलफलबाट दाहालको उक्त प्रस्ताव सहमति नजिक पुगेको थियो। यो बिषयमा पूर्वमाओवादीभित्र खासै विवाद नरहेपनि पूर्वएमालेभित्र भने ओली र नेपालबीच चर्को विवाद थियो।

नेपालले उक्त प्रस्ताव स्वीकारेपछि उनको अर्को माग पनि भने पुरा हुने भएको छ। नेपालको अडान अनुसार नै पोलिटब्युरो कमिटी गठन हुने भएको छ।

आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष दाहालले बताए अनुसार स्थायी कमिटीका सदस्यहरुले दिएको सुझाव पनि विधानमा समेटिएको छ। त्यस्तै राजनीतिक प्रतिवेदन पनि छिट्टै छापिने अध्यक्ष दाहालले बताए।

आन्तरिक विवाद र समाधानका प्रयासबीच नेकपा यो विन्दुसम्म आइपुगेको हो। यसबीचमा नेकपा थुप्रै आन्तरिक विवादबाट गुज्रिएको छ। एकतालाई पूर्णता दिन अनेकौं कार्यदल पनि गठन गरिएका छन्। पार्टी एकता घोषणापछिको ११ महिनाको नेकपाको  यात्रा यस्तो छः

११ महिनामा एक बैठक
एकता भएको लामो समय बित्दा पनि नेकपा कम्युनिष्ट पार्टीहरुले दाबी गर्नेजस्तो संगठित निर्णयले चलेन। दुई अध्यक्षकै ठाडो आदेशमा पार्टी सञ्चालन भइरह्यो। नेकपाका स्थायी कमिटि सदस्य अग्निप्रसाद सापकोटाका अनुसार पार्टी एकताको ११ महिनामा नेकपाको केन्द्रिय समितिको बैठक जम्मा एक पटक बस्यो।

लामो समयसम्म केन्द्रीय समितिको बैठक नबसेपछि गत फागुन ११ गते नौ जना केन्द्रीय सदस्यले बैठक माग गर्दै अध्यक्षद्वयलाई सम्बोधन गरेर महासचिव विष्णु पौडेललाई ज्ञापनपत्र बुझाएका थिए। केन्द्रीय सदस्यहरु डा. विजय पौडेल, प्रेम खनाल, ठाकुर गैरे, विश्वनाथ प्याकुरेल, माधव अर्याल, हरि राई, रामकुमारी झाँक्री र जयन्ती राईले केन्द्रीय कमिटी बैठक माग गर्दै ज्ञापनपत्र बुझाएका थिए। नेकपाको केन्द्रीय कमिटीमा ४४१ जना रहेका छन्।

स्थायी कमिटी बैठक पनि जम्मा दुई पटक बसेको छ। ०७५ को दसैंअघि र ०७५ मंसिर २८ देखि पुस १३ सम्म बसेको थियो।

पहिलो स्थायी कमिटी बैठकमा सामान्य छलफल मात्र भएको थियो। उक्त बैठकले केहि निर्णय गरेको छैन्। त्यस्तै दोस्रो स्थायी कमिटी बैठकमा अध्यक्षद्वयले प्रतिवेदन पेश गरेका थिए। अध्यक्षद्वयको प्रतिवेदनमा भीम रावल र हरिबोल गजुरेललगायतले सुझाव दिएका थिए।

दोस्रो बैठकमा नेकपाका नेता वामदेव गौतमले फरक मत व्यक्त गरेका थिए। त्यसपछि एकता प्रक्रिया टुंग्याउनका लागि उक्त बैठकले नेकपाका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा ९ सदस्यीय कार्यदल बनाएका थिए।

त्यसो त नेकपाको राजनीतिक प्रतिवेदनमा सहमति जुटे पनि हालसम्म उक्त प्रतिवेदन छापिन सकेको छैन्। पूर्वमाओवादीका नेताहरु अध्यक्ष ओलीका कारण प्रतिवेदन छापिन नसकेको आरोप लगाउँदै आएका छन्। नेकपाको विधान भने छापिएको छ तर स्थायी कमिटी बैठकमा केहि सदस्यहरुले दिएको सुझाव नसमेटिएको भन्दै विवाद छ। विधानमा स्थायी कमिटी बैठक प्रत्येक ३ महिना बस्ने उल्लेख छ तर स्थायी कमिटीका सदस्यहरुले २–२ महिनामा स्थायी कमिटी बैठक बस्नुपर्ने सुझाव दिएको एक स्थायी कमिटी सदस्यले बताए। त्यस्तै १५–१५ दिनमा सचिवालय बैठक बस्ने भन्ने पनि उल्लेख गरिएको छ।

कार्यदलका ताँती 
एकता प्रक्रियालाई टुंग्याउनका लागि हालसम्म चार वटा कार्यदल बनिसकेको छ। पछिल्लो पटक बनेको ९ सदस्यीय कार्यदल पनि विघटन भएको छ।

पहिलो कार्यदल
एकता घोषणा लगत्तै विभिन्न तहका एकीकरण प्रक्रिया पूरा गर्न बेग्लाबेग्लै कार्यदल बनाइएको थियो। ती कार्यदल यस्ता थिएः

प्रवास एकीकरणका लागि 
नारायणकाजी श्रेष्ठ, बिन्दा पाण्डे, युवराज कार्की र टेकबहादुर पाठक

प्रदेश १ एकीकरणका लागि
भीम आचार्य, राम कार्की, शेरधन राई र सावित्रीकुमार काफ्ले 

प्रदेश २ एकीकरणका लागि
सत्यनारायण मण्डल, विश्वनाथ शाह, नागेन्द्र चौधरी र प्रभु साह 

प्रदेश ३ एकीकरणका लागि
अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, काशीनाथ अधिकारी र नारायण दाहाल

गण्डकी प्रदेश एकिकरणका लागि
किरण गुरुङ, हितराज पाण्डे, जगत विश्वकर्मा र हरि अधिकारी

प्रदेश ५ एकीकरणका लागि
शकंर पोखरेल, मणि थापा, दलबहादुर राना र गणेशमान पुन 

कर्णाली प्रदेश एकीकरणका लागि
युवराज ज्ञवाली, जनार्दन शर्मा, यामलाल कँडेल र मायाप्रसाद शर्मा

सुदूरपश्चिम प्रदेश एकीकरणका लागि
भीम रावल, लेखराज भट्ट, कर्ण थापा र लक्ष्मीदत्त जोशी 

दोस्रो कार्यदल
दोस्रो पटक फेरि नेकपामा अर्को कार्यदल बन्यो। दोस्रो कार्यदलमा भने पहिलो कार्यदललाई सहयोग गर्न गठित जिल्लास्तरीय कार्यदलमा पूर्वएमाले र पूर्वमाओवादीका सबै जिल्लाका इन्चार्ज, सहइन्चार्ज र पदाधिकारी रहेका थिए। दोस्रो कार्यदलको जिम्मा थियो जिल्ला तहको संख्या प्रदेशमा बनेको कार्यदललाई बुझाउने।

तेस्रो कार्यदल
तेस्रो कार्यदल दुई सदस्यीय बनेको थियो। जसमा रामबहादुर थापा बादल र विष्णु पौडेल सदस्य रहेका थिए। यी दुईको जिम्मेवारी थियो प्रदेश कमिटीको सदस्यको खाका पेस बुझाउने। उनीहरुले खाका केन्द्रीय सचिवालयमा बुझाएका थिए।

चौथो कार्यदल
चौथो कार्यदल ९ सदस्यीय बनेको थियो। जसमा रामबहादुर थापा बादल, विष्णु पौडेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे लेखराज भट्ट, शंकर पोखरेल, बेदुराम भुसाल र रघुवीर महासेठ सदस्य रहेका थिए। यो कार्यदललाई पोलिटब्युरो गठन, विधान परिमार्जन, प्रदेश कमिटी गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन र तल्लो तहको एकता प्रक्रियाको कामको खाका तयार पारेर पुस मसान्तसम्म बुझाउनुपर्ने जिम्मेवारी दिइएको थियो। तर यो कार्यदल पनि विघटन भयो।

कार्यदल विघटनले जन्माएको विवाद 
सचिवालयले ९ फागुनमा एकता प्रक्रियालाई टुंगोमा पु-याउन बनेको कार्यदल भंग गर्ने निर्णय गरेपछि नेकपामा फेरि अर्को विवाद शुरु भयो। कार्यदल विघटन भएपछि कार्यदलमा रहेका ९ सदस्यमध्ये ५ जना सदस्यहरु वर्षमान पुन, योगेश भट्टराई, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्टले फागुन १२ गते ७ पृष्ठ लामो ८ बुँदे समानान्तर प्रतिवेदन समेत बुझाएका थिए। कार्यदललाई  सचिवालयबाट भंग गराउने काम पार्टी विधानको धारा ३३ (ग) विपरीत भएका उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ। उनीहरूले पोलिटब्युरो सदस्य नभएको जिल्लामा वरिष्ठतम केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्ज बनाउनुपर्ने लगायतका सुझाव दिएका थिए।

उक्त प्रतिवेदनमा उल्लेख भएअनुसार विधानको धारा १८ (घ) २ अनुसार १ सय ४७ सदस्यीय पोलिटब्युरो गठन गर्दा केन्द्रीय कमिटीमा रहेको पूर्वघटकको सदस्य संख्याको अनुपातमा राख्नुपर्ने छ। त्यस्तै २२१ सदस्यीय सल्लाहकार प्रस्ताव गरिएको थियो।

कार्यदल संयोजक रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेलको अनिच्छाले काम हुन नसकेको आरोप लगाइएको प्रतिवेदनमा उल्लेख छ।

०७५ असोज ५ गते वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र माधवकुमार नेपाल देश बाहिर गएको नेकपाको सचिवालय बैठक बसेको बस्यो। उक्त बैठकले पदाधिकारी चयन गर्ने निर्णय गरेको थियो। तर नेता नेपालले महासचिव विष्णु पौडेलमार्फत फरक मत नै राखेका थिए।

नेपाल स्वदेश आएलगत्तै ओली संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन अमेरिका गएका थिए भने दाहाल श्रीमती सीताको उपचारको लागि थाइल्याण्ड गए। कार्यबाहक अध्यक्ष नेपालले पाए। कार्यबाहक अध्यक्ष भएकै बेला नेपालले ०७५ असोज ११ गते संसद्मा समेत चर्को बिरोध गरेका थिए। उनले संसद्मै भने ‘मेरो देश डुब्नै लाग्यो किनारा लगाइदेउ, माझि छौ कि कोहि किनारा लगाइदेउ।’

दुवै अध्यक्ष देशबाहिर रहेका बेला नेपालले स्थायी कमिटी सदस्यहरुलाई बोलाएर बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा चियापान आयोजना गरे। नेपालले आयोजना गरेको कार्यक्रममा नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, सुवाचन्द्र नेम्वाङ, अष्टलक्ष्मि शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, बर्षमान पुन, अग्निप्रसाद सापकोटा, अमृतकुमार बोहोरा, योगेश भट्टराई, रघुजी पन्त, गिरीराजमणि पोखरेल, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, भीम आचार्य, देव गुरुङ, देवेन्द्र पौडेल, मुकुन्द न्यौपाने, गणेश शाहलगायतका नेताहरु सहभागी भएका थिए।

त्यतिबेला देखिकै ‘एक व्यक्ति एक पद’ भन्दै अडान लिएका नेपालले उक्त अडान अहिले पनि छाडेका छैनन्। प्रदेश नम्बर ५ काम मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको बिषयमा चर्को विरोध छ। 
पोखरेल मुख्यमन्त्री, स्थायी कमिटी सदस्य र प्रदेश ५ को इन्चार्जसमेत हुन्। त्यस्तै गुरुङ पनि प्रदेश ४ का मुख्यमन्त्री, स्थायी कमिटी र प्रदेश इन्चार्ज छन्। उनीहरु दुबै जना ओली समूहका हुन्।

एकता प्रक्रिया टुंग्याउन चन्द्रागिरीमा २३ घण्टा छलफल
अध्यक्षद्वयले नेकपाको एकता प्रक्रिया टुंग्याउनका लागि चन्द्रागिरीमा २३ घण्टा छलफल गरेका छन्। चैत २८ गते भएको उक्त छलफलमा नेकपाका महासचिव विष्णु पौडेल र गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा पनि सहभागी थिए। उक्त छलफलमा के–के भयो भन्ने अझै सार्वजनिक हुन सकेको छैन। एकता प्रक्रिया टुंग्याउन मात्रै छलफल केन्द्रीत रहेको बताइएको छ।

नेकपाका एक नेताका अनुसार ओलीले तयार पारेको प्रस्तावमा  नेता नेपालसँग एकताको केहि विषयहरुमा सहमति हुन नसकेपछि अध्यक्षद्वयले गोप्य छलफल गरेका थिए।

एकताबारे दुई अध्यक्षका अनेक भनाई 
पार्टी एकताबारे यो ११ महिनामा दुई अध्यक्षले पटक–पटक अनेकौं बयान दिएका छन्। यसबारे अध्यक्ष ओलीभन्दा प्रचण्ड चर्का सुनिन्छन्।

दाहालले पार्टी एकता प्रक्रियाबारे धेरै जिल्ला पुगेर धेरै प्रतिक्रिया दिए। कहिले यहि महिनामा टुंगिन्छ त कहिले २/४ दिनमै टुंगिन्छ भन्ने प्रतिक्रिया दिए। तर दाहालको प्रतिक्रियाले दिन बित्यो, हप्ता बित्यो, महिना बित्यो र बर्ष दिन बित्नै लाग्दा पनि एकता प्रक्रिया अझैं टुंगिएन्।  उनले विभिन्न मितिमा यस्ता दावी गरेका थिएः

पुस ९ः दाहालले गृहजिल्ला चितवनमा पुगेर भने ‘पुषमा हुने स्थायी कमिटीको बैठकले तल्लो तहसम्मको एकता प्रक्रिया टुंग्याउछ।’

पुस २२ः बुटवलस्थित नेकपाको ५ नम्बर प्रदेश कार्यालयमा अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै एमाले र माओवादी बीचको एकता कुनै प्रतिक्रियावादीले दिएको बरदान नभएको दाहालले बताएका थिए। उनले माघ महिनाभित्रै पार्टीका सबै तहमा एकता हुने दाबी गर्दै उनले माघ महिनामै पार्टी केन्द्रको बैठक बोलाएर एकतालाई अनुमोदन गरिने बताएका थिए। कार्यकर्ताको मनोबल बढाउँदै दाहालले भनेका थिए ‘पार्टीको स्थानीय तहमा एकता गर्ने क्रममा सबै जिल्लालाई रुपन्देहीले उछिनेको छ, स्थानीय नेताहरुलाई बधाई।’

समयले हरेक ब्यक्तिलाई पाठ सिकाउने बताउँदै अध्यक्ष प्रचण्डले पहिलो संबिधानसभामा माओवादीमा पलाएको दम्भ र एमालेले सिकेको पाठले आफु र केपी ओली पार्टी एकताको चरणसम्म पुगेको पनि बताएका थिए। 

फागुन २८ः त्यसो त दाहालले प्रदेश नम्बर १ को विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै अबको एक/दुई दिनभित्रै पार्टीको तल्लो तहको एकताको प्रस्ताव तयार पारिने बताएका थिए। दाहालले भनेका थिए ‘आज बिहान मात्रै मैले प्रधानमन्त्री केपी ओलीसँग बालुवाटारमा छलफल गरेको छु, अब एकता प्रक्रिया छिट्टै टुंगिन्छ।’

चैत २७ः दाहालले चितवनको माडीमा पार्टीका अगुवा कार्यकर्ता भेलामा पार्टी एकताको बाँकी काम अब छिट्टै टुङ्गिने आश्वासन दिए। उक्त भेलामा उनले भनेका थिए ‘अप्रिल २२ सम्म तल्लो तहसम्मको पार्टी एकता टुंङ्गिने बताएका थिए। नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको दिन २२ अप्रिल (९ बैशाख)मा तल्लो तहसम्मको कमिटी सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताएका थिए।

यो बीचमा ओली धेरै जिल्लाको कार्यक्रममा सहभागी भए। तर दाहालले जस्तो पार्टी एकता प्रक्रियाबारे ओलीले थरिथरिका धेरै प्रतिक्रिया भने दिएनन्। ओलीले प्राय जसो सरकारकै काम कारवाहिबारे बोलिरहेका हुन्छन्, भने कहिले प्रतिपक्ष दललाई कटाक्ष गरिरहेका हुन्छन्। ओलीले पछिल्लो दुइ महिनाको बीचमा एकता प्रक्रियाबारे खासै बोलेका छन्।

चैत १४ः प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको ३ नम्बर प्रदेश कमिटीका पदाधिकारीको शपथ ग्रहण तथा प्रथम बैठकलाई सम्बोधन गर्दै तल्लो कमिटी एकता प्रक्रिया छिट्टै टुंगिने बताएका छन्।

ओलीले पार्टी भित्र गुट उपगुट नचल्ने बताउँदै नेतृत्वले कसैलाई पनि काखा र पाखा नगर्ने बताएका थिए। उनले भने ‘हामी वैचारिक रुपमा स्पष्ट र सांगठनिक रुपमा बलियो पार्टी हौं।’ उनले यहाँ अन्तकुन्तरबाट गुट सञ्चालन गरेर पार्टीलाई कमजोर र कार्यकर्तालाई अन्यौल पार्ने काम कसैले पनि गर्नु नहुने बताए। ओलीले पार्टी एकताका कारण कतिपय क्षमतावान कार्यकर्ताहरुले जिम्मेवारी नपाए पनि धैर्य गर्न सुझाव दिए।  (नागरिक न्युजको समाचार विश्लेषण)

ताजा खबर