नेवानिलाई कमाउने मौका ?

२०७६ बैशाख ८ आइतबार १२:२९:०० मा प्रकाशित

काठमाडौं, ८ वैशाख । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेवानि) अहिले कर्मचारी संचय कोष र नागरिक लगानी कोषको नियमित किस्ता तिर्न नसकेर छट्पटाइरहेको थाहा भएको छ ।

एयरबस कम्पनीका दुईवटा वाइडवडी जहाज ए ३३० ल्याएपनि सोचे अनुरुप गन्तव्य बढाउन नसकेको कारण विगतकै गन्तव्यहरुमा ती जहाजको प्रयोग गरेर नेवानिले खासै आम्दानी गर्न सकिरहेको देखिँदैन । पुराना गन्तव्यहरुमा भने जहाजको कमी कारण फ्लाइट नै रद्द गर्नुपर्ने बाध्यताबाट मुक्त भने भएको छ । त्यसबाहेक नेवानिले ऋणको भारी बोकिरहेको ती जहाजबाट केहि फाइदा लिन सकेको देखिएको छैन ।

जापान, कोरिया, साउदी अरब र चीनको लागि उडान भर्ने योजनाहरुले मूर्त रुप लिन नसकेपनि नयाँ जहाज आए लगत्तै संचालन खर्च ह्वात्तै बढेको नेवानि आर्थिक रुपमा संकटमा परेको यसअघि नै बाहिरिइसकेको छ ।

हालकै गन्तव्यहरुमा पनि तिब्र प्रतिस्पर्धाको कारण नेवानिका जहाजहरुले अपेक्षाकृत कमाउन नसकेको बताइने गरेको थियो । पछिल्लो समय भने यो समीकरण परिवर्तन भएको बुझिएको छ ।

नेपालमा दैनिक ५ वटासम्म फ्लाइट संचालन गर्दै आएको जेट एयरवेजले नेपाल लगायत अन्य गन्तव्यहरुको फ्लाइट निलम्बन गरेपछि नेवानिको जहाजको ‘अकुपेन्सी’ ह्वात्तै बढेको छ । विशेषगरी नयाँदिल्ली र मुम्बई रुटमा नेवानिको फ्लाइट भरिन थालेपछि केहि दिनयता कमाइको दर पनि बढ्दै गएको बुझिएको छ ।

आर्थिक संकटले थलिएको जेटले दिल्ली–काठमाडौं–दिल्लीमा दैनिक ३ र मुम्बई–काठमाडौं–मुम्बईमा दैनिक २ उडानसम्म भर्दै आएको थियो । अकस्मात जेटले यसरी उडान रद्द गरेपछि अन्य एयरलायन्सको माग ह्वात्तै बढेको हो । भारतीय यात्रुहरुले एयर इन्डिया र इन्डिगोको विकल्पलाई प्राथमिकता दिने गरेका छन् भने नेपाली यात्रुहरु नेवानिकै जहाजलाई उक्त क्षेत्रमा यात्रा गर्न प्रयोग गर्न रुचाउने गरेका छन् ।

जेट एयरवेजले दिल्ली र मुम्बई क्षेत्रमा उडान भर्दै सन् २०१८ मा कुल ४ लाख ५० हजार ९ सय ४९ यात्रुलाई ओसारेको थियो । यहि संख्याको यात्रुको भार अब नेवानि लगायतको एयरलायन्सले बोक्नुपर्ने अवस्था आएको छ ।

नेवानिले अहिले दिल्लीको लागि सातामा ११ उडान भरिरहेको छ भने मुम्बईमा सातामा ३ उडान मात्र भर्ने गरेको छ ।

काठमाडौं–मुम्बईको लागि जेट हटेपछि नेवानिको मात्रै विकल्प छ । भारतका अन्य शहरहरु जानपनि दिल्ली अथवा मुम्बईकै रुट प्रयोग गर्नुपर्ने भएकाले पनि यी रुटमा यात्रुको चाप उच्च रहेको बताइन्छ ।

यस्तोमा नेवानिलाई उक्त रुटमा उडान थप्ने मौका रहेको छ । यात्रुको चाप उच्च रहेको कारण नेवानिले यस क्षेत्रमा केहि उच्च भाडा लिँदा पनि यात्रुलाई खासै मर्का पर्ने देखिँदैन । भारतीय एयरलायन्सहरुले अहिले दिल्ली रुटको लागि कम्तिमा २८ हजार देखि ४५ हजारसम्म र मुम्बई पुग्न पनि ३५ हजार देखि ५० हजारसम्म भाडा ठटाइरहेका छन् ।

नेवानिले दिल्ली रुटमा १४ देखि २० हजारसम्म र मुम्बई रुटमा १६ देखि २२ हजारसम्म भाडा लिँदा यात्रुले नेवानिकै जहाज छान्ने सम्भावना रहेको बागबजार स्थित ओल्गा ट्राभल्स एण्ड टुर्सका संचालक प्रभात दुलाल बताउँछन् । यात्रुले अहिले चर्को मुल्यमै यात्रा गर्नुपरेकोमा सहजै टिकट पाउने अवस्था आउन सकेमा खुशी साथ नेवानिको टिकट लिने उनले बताए ।

छोटो दूरीमा नेवानिले यो दरमा भाडा लिन सकेमा अन्य विकल्पमा खासै ध्यान दिनुनपर्ने जानकारहरु बताइरहेका छन् । लामो दूरीको उडान भर्दा दीर्घकालमा फाइदा भएपनि हाल घाममा सुकाइरहेको जहाजलाई पूर्ण क्षमतामा संचालन गर्न नेवानिसँग अवसर रहेको बुुझिएको छ ।

पछिल्लो समय नेवानिले दिल्ली रुटमा भने सातामा तीन उडान थप्ने निर्णय गरेको थाहा भएको छ । यतिले मात्र यात्रुको चाप थेग्न सम्भव नरहेको बताइन्छ । राष्ट्रिय ध्वजाबाहक भएकोले नेवानिले भारतीय शहरहरुको विभिन्न रुटमा उडान थप्नुपर्ने आवाज उठिरहेको छ । कमाउने उद्देश्यले मात्र नभइ यात्रुलाई सहज बनाउन भएपनि नेवानि अग्रसर बन्नुपर्ने यात्रुहरुको भनाइ रहेको छ ।

 

 

ताजा खबर