वेद निर्देशित जीवन विज्ञानको शिक्षा

२०७६ बैशाख ८ आइतबार ०८:००:०० मा प्रकाशित

 

अनादिकालदेखि नै कृषि हाम्रो जीवनको मूल आधार हो । दैवी सृष्टिको मान्यतालाई स्वीकार गरे पनि मानिसले प्रकृतिको निकट रहेर, प्रकृतिकै संरक्षण गरेर, प्रकृतिबाटै जीवन जिउने कला सिकेर आफूलाई यथासमय विकसित बनाउँदै आएको हो । जीवका लागि जीव नै जीवन, बाँच्ने आधार हो भन्ने सत्यलाई वैदिकदेखि पौराणिकसम्मका सबैखाले वाङ्मयले स्वीकार गरेका छन् । यहाँ जीवले जीवन जिउन कुनै पनि जीव तथा प्रकृतिमाथि अत्याचार गर्न छुट दिइएको छैन । “जतिले पेट भरिन्छ, त्यतिसम्म मात्रै यी शरीरधारीको अधिकार रहन्छ तर जसले पेट भरिनेभन्दा बढीमा अधिकार देखाउँछ, त्यो चोर हो; त्यो दण्डित गर्नलायक छ” भन्ने स्मृतिवाक्यले पनि यसको पुष्टि गरेकै छ । वेद ज्ञान र विज्ञानको मूल स्रोत पनि हो । वर्तमान विश्वमा वैदिक वाङ्मय र यसको उपयोगिताबारे भए–गरेका अनुसन्धान र तिनका उपलब्धिबाट स्थापित मान्यताले समेत यस तथ्यलाई प्रमाणित गर्दै आएका छन् । 
 

हाम्रो विगत 

मूलतः स्वस्थ जीवनको आधार स्वच्छ र स्वस्थ भोजन हो । त्यसको मुख्य आधार वेदविज्ञानसम्मत प्रकृतिअनुकूल कृषिप्रणाली नै हो । परम्परित कृषिप्रणाली मुख्य गरी पशुपालनमा आधारित थियो । पशुपालन दैनिक भोजनमा हुनुपर्ने खाद्य तŒवको आपूर्तिको माध्यम मात्र नभएर, हाम्रो रोजगार र आर्थिक समृद्धिको पनि प्रमुख स्रोत थियो । शिक्षामा अँगालिएको गुरुकुलीय पद्धतिले कृषिलाई पनि आडभरोसा दिएको थियो । आचार्यकुल–गुरुकुलमा अध्ययन गर्ने छात्रहरू आश्रमका लागि आवश्यक पर्ने भोजन जुटाउन गोपालनादि कार्य पनि गर्थे । यो परम्परा धेरै पछिसम्म पनि चल्दै थियो । आवहवा (स्थानीय हावापानी) अनुकूल अन्नबीजको खोजी र तिनको संरक्षण यस प्रणालीको अर्काे महŒवपूर्ण पक्ष  थियो । 

हामी कृषिमा आत्मनिर्भर थियौँ र स्वस्थ जीवन बिताइरहेका थियौँ । नेपालको सन्दर्भमा त हामी विगत चालीसको दशकसम्म खाद्यान्न र नगदेबालीको निर्यात गर्दै आएका थियौँ, भलै राजनीतिक व्यवस्था वर्तमानको जस्तो थिएन । आज हामी खाद्यान्न आयात नगरे भोकमरीमा पर्ने खतरामा छौँ । एउटा ऊर्जाशील जमात खाडी र अन्य मुलुकमा अर्धशिक्षित वा अशिक्षित कामदारको जीवन बिताइरहेको छ । यताका हामी तिनीहरूलाई यतै फर्काउन होइन, अपितु तिनीहरू त्यहीँ बसिदिए रेमिटेन्स (विप्रेषण) आउँथ्यो र हामी बाँच्थ्यौँ; यहाँ जनसङ्ख्याको चाप पनि कमै रहन्थ्यो भनेर अक्रिय बाँचिरहेका छौँ । 

यताका तीस÷पैँतीस वर्षको अन्तरालमा परिस्थितिले हामीलाई रेमिटेन्सको मुख ताक्ने र परनिर्भर त बनाइदिएकै छ; यसका अतिरिक्त हामी अल्छी र विकृत मानसिकताको दास बनेका छौँ । श्रम गरेर खानु लज्जाको विषय बनेको छ । श्रमको सम्मान गर्ने विषय नारामा सीमित भइदिएको छ । योग्यहरू बेरोजगार छन्; अयोग्यहरू पछाडिको द्वारबाट पसेर सीमित योग्यहरूमाथि शासन गरिरहेका छन् । इमानदारी आकाशको फल बनेको छ । वाक् स्वतन्त्रताको उपयोग स्वच्छन्दताका लागि हो भन्ने मान्यता विकसित भएको छ । राष्ट्र र राष्ट्रियताका मूल्य भोको पेटको अग्निज्वालामा भष्म भएका छन् । विनापरिश्रमको समृद्धि र सुखी जीवन सबैखाले नेपालीको लक्ष्य बनेको छ । मानवीय भावना संवेदनाहीन मानसिकताका कारण मृतप्रायः छ । नेपाली धर्ती कृषिका कारणले मात्र होइन, धेरैै हिसाबले बञ्जर बनेको छ– पूर्णतया अनुत्पादक । 
 

बिग्रियो कसरी ?

हामीले आफूलाई, आफ्ना मूल्य र मान्यतालाई, हामीसँगै भएका हाम्रा पुर्खाले विरासतमा दिएका ज्ञान–विज्ञानका विद्यालाई अनि नैतिक आचरण र मर्यादामा अडेका हाम्रा मानवीय मूल्यलाई उपेक्षाका दृष्टिले हेर्दै पन्छाउँदै आयौँ । कैयौँ वर्ष लगाएर अनुसन्धान गरी सकारात्मक परिणाम देखिएको स्थितिमा मात्रै पद्धतिमा योजनामा राख्ने र व्यवहारमा अपनाउने पश्चिमा शैलीको विज्ञानवादलाई हामीले हाम्रो आवहवा र नेपाली माटोको कति अनुकूल छ भन्नेबारे अनुसन्धान नगरी जस्ताको तस्तै भिœयायौँ । जुन देशमा जन्मे हुर्केको प्राणी हो, त्यसका लागि त्यही देशका औषधि (जडीबुटी, खाद्यान्न, हावापानी, बालीनाली आदि सबै) हितकर हुन्छन् भन्दै स्मृतिवाङ्मयले प्रतिपादन गरेको आदर्शतर्फ ध्यान दिएनौँ । 

हामीले गुणस्तरीय अन्नबीजको विस्थापन गरी वर्णशङ्कर बीउ उपयोग गर्न थाल्यौँ । यहाँका गाईको गोबर र गहुँतको उर्वर मल छाडेर रासायनिक मल उपयोग गर्न थाल्यौँ । हामो माटो बिग्रियो; पानी बिग्रियो; हावा बिग्रियो; समग्रमा वातावरण, पर्यावरण पनि बिग्रियो । पशुपक्षीमा पनि वर्णशङ्रकीकरणलाई बढावा दियौँ । तिनको उत्पादन दूध, घिउ आदिलाई पनि शुद्ध रहन दिएनौँ । परिणामस्वरूप चिकित्सक र चिकित्सालयको वृद्धिमा लगानी बढ्यो, जब कि त्यो लगानी कृषि र शिक्षामा बढेर जानुपथ्र्याे । 

शिक्षामा पनि मूल्यवान् परम्परित गुणात्मकतामाथि विचारै नगरी आधुनिकताका नाममा हाम्रो मूल मानवीय मर्ममाथि प्रहार गर्दै धर्म, संस्कार, संस्कृतिका आधारको मूलोच्छदन गर्ने र समाज व्यवस्था नै खलबलिने किसिमको नयाँ परिपाटी ल्यायौँ । नैतिकता, सदाचार र मर्यादाको परिपालन; मानव, प्रकृति, समाज र राष्ट्रप्रतिको कर्तव्य र समर्पणभाव जगाउने ज्ञानको शिक्षण; अर्थशुद्धियुक्त, पवित्र भावमय जनशक्तिको उत्पादनजस्ता विषयलाई परनिर्देशित भई बिस्तारै पन्छाउँदै लग्यौँ । कार्यक्षेत्रमा प्रमाणपत्रमा भएसरहको योग्यता प्रदर्शन गर्ने शिल्पी जनशक्तिको उत्पादन हुन सकेन । परनिर्भर र पलायनवादी शिक्षित बेरोजगार उत्पादन गर्ने कारखाना शिक्षालय बन्दै आए । हामीले गर्न सक्थ्यौँ; गरेनौँ तर दोष भने अरूमाथि थोपरिरह्यौँ । शिक्षाको अव्यवस्थाले नै सर्वत्र विकृत पारेको हो भन्ने बुझ्न हामीलाई अझै समय लाग्ने छ । 
 

कसरी जीवन्त बनाउने ?

उत्तर सजिलो छ– वैदिक ज्ञान–विज्ञानलाई व्यवहारमा रूपान्तरित गर्ने । एक्काइसौँ शतकको आरम्भमै पश्चिमा विद्वान्ले गरेको प्रक्षेपण हो– यो शताब्दी पूर्वतिर फर्किने र पूर्वीय ज्ञानको पुनरुत्थान अनि पुनर्जागृतिको शताब्दी हुनेछ । यस शतकको प्रथम चौखण्डी व्यतीत हुने समय नजिकिँदै गर्दा पश्चिमको दृष्टि पूर्वतिर फर्केको हामी देखिरहेका छौँ । आज पश्चिम वैदिक ज्ञानको पिपासु बनेर अहर्निश अनुसन्धानरत छ । वैदिक यज्ञ र वैदिक विधिविधानअनुकूल अध्ययन, अनुसन्धान नित्य निरन्तर चलिरहेका छन् । यस अर्थमा वेदले गरेको निर्देशनको पालना गर्दा हाम्रा सबै व्यवहार प्रकृतिअनुकूल बन्न जान्छन् । 

शिक्षा जीवनपद्धति सिकाउने बनाउनु सर्वाेपरि प्राथमिकताको विषय हो । प्रकृतिको जीवनशैली प्रकृतिकै निकटमा रहेर सिक्ने शिक्षण पद्धति जो आचार्य–गुरुकुलीय शिक्षा प्रणालीमा थियो, त्यसको पुनरुत्थान आज अत्यावश्यक भएको छ । आफैँले दुःख गरेर परिश्रम गरेर सिकेका कुरा व्यवहारमा उतारेर अनुभवका आधारमा अघि बढ्ने अनि आफूमात्र नभई, सबैलाई सँगसँगै अघि बढाउने संस्कृति सिकाउने शिक्षाको खाँचो छ । आधुनिक विज्ञानले प्राविधिक यान्त्रिक र प्रायः संवेदनाहीन बनाएको मानवीय जीवनशैलीलाई परिवर्तन गर्न संज्ञान र विज्ञानको तादात्म्ययुक्त वेद

निर्देशित जीवन विज्ञानको शिक्षा दिनु अत्यावश्यक छ । शिक्षणपद्धति यस्तो होस् कि शिक्षित जनशक्तिले सम्पूर्ण प्रकृति र जगत्को जीवन बुझोस् । सबैसँग मैत्री र सद्भावनायुक्त व्यवहार गरोस् । गुरुकुलीय पद्धतिको शिक्षा अनि तदनुकूल प्रकृतिमैत्री जीवनपद्धतिलाई आधुनिक विज्ञानको उपयोगद्वारा जीवन्त बनाई, जब समष्टिगत रूपमै हामी वसुधालाई कुटुम्बवत् बनाउन सक्छौँ, तब हामीले खोजेको जीवन्तता पुनरुज्जीवित हुनेछ । 
(लेखक, नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक हुन/गोरखापत्र दैनिकबाट)

ताजा खबर