प्रचण्ड किन सुटुक्क गैरहन्छन् सुकुटे ?

२०७६ बैशाख ७ शनिबार ०८:०४:०० मा प्रकाशित

काठमाडौं- केही महत्त्वपूर्ण निर्णय गर्नुपरेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दहाल उपत्यका बाहिर जान्छन्। त्यसमा पनि उनले सधैंजसो सिन्धुपाल्चोकको सुकुटेलाई रोज्छन्। पार्टी वा देशको राजनीतिबारे केही निर्णय लिनुपर्याे भने दाहाल सधैं सुटुक्क ‘सुकुटे इक्वेडर बीच’ रिर्सोट पुग्छन्। 

२०३८ सालदेखि नै उनको सुकुटेसँग साइनो गाँसिएको छ। कहिले परिवारका सदस्यका साथ पुग्छने त कहिले आफूनिकटका नेतालाई मात्रै लिएर जान्छन्। उनले ठूला निर्णयहरु यहीबाट लिएका छन्। दाहालले यो ठाउँमा सम्बन्ध जोडेदेखि नै सँगै छन् सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने नेता अग्निप्रसाद सापकोटा।  

दाहाललाई अहिले नेकपाको तल्ला कमिटी प्रक्रिया बैशाख ९ गतेभित्र टुंग्याउनुपर्ने तनाव छ। पार्टीभित्र सहमति नजुट्दा मध्यस्तकर्ताको भूमिका खेल्नुपर्ने जिम्मेवारी दाहालको काँधमा छ।  अहिले उत्पन्न राजनीतिक तनाव छल्न पनि बिहीबार सुकुटे गएको उनीनिकट स्रोत बताउँछ।

‘महत्त्वपूर्ण निर्णय गर्नअघि अध्यक्षज्यू यहाँ आउनुहुन्छ। यहाँबाट ठूला निर्णय र महत्त्वपूर्ण दस्तावेज तयार भएका छन्’, अध्यक्ष दाहालसँगै रहेका नेता सापकोटाले भने, ‘यो ठाउँ राजधानीबाट पनि नजिकै छ। मौसम पनि राम्रो छ। उहाँको यो ठाउँसँग अब भावनात्मक नाता पनि जोडिएको छ। तर यसपटक सामान्य छलफलबाहेक केही भएन। तल्ला तहको एकताको प्रेसर छ जसरी गर्नुपर्छ भन्ने धारणा उहाँ (दाहाल) को थियो।’

दाहाल जति पटक सुकुटे जान्छन् उनी सधैं सुकुटे इक्वेडर बीच रिर्सोटमा बास बस्छन्। दाहाल जहिले जाँदा पनि साँझ ४ वा ५ बजे मात्र सुकुटे पुग्ने गरेको उनीनिकटका नेता बताउँछन्।

कहिले–कहिले गए दाहाल सुकुटे ?

दाहाल पहिलो पटक २०३८ सालमा सिन्धुपाल्चोक गएका थिए। हालको चौतारा साँगाचोकगढी नगरपालिका तत्कालीन साँगाचोकमा दाहाल तत्कालीन माओवादी नेता ध्रुव्र पराजुलीको बेसीघरमा बसेका थिए। बसेका थिए। दोस्रो पटक २०५१ सालमा सशस्त्र युद्धको तयारीका लागि सिन्धुपाल्चोक सदरमुकाम चौतारास्थित गौरीगाउँको तामाङ टोलमा एकरात प्रशिक्षण दिएर फर्किएका थिए। तर त्यसपछि भने उनी युद्धभर सिन्धुपाल्चोक फर्किएनन्।

०५२ सालदेखि दाहालकै नेतृत्वमा तत्कालीन माओवादीले युद्ध सुरु गर्यो। युद्धभर दाहाल सिन्धुपाल्चोक गएनन्। देशमा शान्ति प्रक्रिया आएपछि ०६३ सालको दशैँ मनाउन दाहाल परिवासहित नेता सापकोटाको नौबिसेमा रहेको घरमा गए। दाहाल तीन दिन बसेर काठमाडौं फर्किएका थिए। त्यसपछि २०६८ मा तत्कालीन माओवादीको स्थायी कमिटी बैठक पनि सुकुटेमै बसेको उनीनिकट नेता सापकोटाले बताए।  

०७१ सालमा जुरेमा पहिरो गएको बेलामा पनि दाहाल पहिरो छिचोल्दै हिँडेरै बाह्रबिसे पुगेका थिए।  दाहाल ०७२ सालको विनाशकारी भूकम्पले ढलेको साँगाचोकस्थित जनजागृति माविमा टहरा बनाउन पनि गएका थिए। त्यसपछि ०७५ बैशाख ७ गते पनि सुकुटे गएका थिए। त्यसै दिन साँझ ओलीसँग पार्टी एकताको विषयमा छलफल गर्ने बताइए पनि दाहाल दिउँसै परिवारसहित सुकुटे गएका थिए।

त्यसो त अहिले पार्टीको तल्ला कमिटीको एकता प्रक्रिया टुंग्याउने भनिएको छ। तर धेरै विषयहरुमा सहमति हुन बाँकी छ। दाहालले सहमतिका लागि प्रधानमन्त्री तथा अर्का पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नेता वामदेव गौतमसँग पटक–पटक छलफल गरेका छन्। तर सहमति हुन नसकिरहेको बेला दाहाल सुटुक्क सुकुटे गएका छन्। (नागरिक न्युजबाट)

ताजा खबर