वालुवाटार प्रकरण: कुमारी बैंक तानिँदै,महासचिव पौडेल हटाईंदै

२०७६ बैशाख ६ शुक्रबार ०७:४२:०० मा प्रकाशित

काठमाडौं । एमाले र माओवादीबीचको एकता पछि नेकपा निर्माण भएसँगै पुनः अप्रत्यासित रुपमा उदाएका महासचिव विष्णु पौडेलको राजनैतिक जीवन यतिवेला धरापमा परेको छ । चितवनको दासढुंगामा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय हत्या भएपछि संगठन विभाग प्रमुखका रुपमा नेता पौडेलको उदय भएको थियो ।

तर, उदाउन त उदाइस, कसरी अस्ताउनेहोस् भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै पौडेलको राजनैतिक जीवन अहिले गम्भीर संकटमा फसेको   छ । नेता पौडेल संकटमा फस्नुका पछाडि अरु कुनै कारण भन्दा पनि उनको आफ्नै लोभी मनका कारक बनेको हो । समाज बदल्छु भनेर लामो समय राजनीतिमा विताएका पौडेल मीठो खाने लोभले महको रसमा झिंगा डुबे जसरी डुब्दा भूमाफियाको संजालमा दर्ज हुने अवस्थामा पुगेका   हुन ।

 
११३ रोपनीमध्ये ८ आना जग्गा नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनका नाममा पुगेको हो । स्रोतका अनुसार यो जग्गा हडप्न भूमाफियाहरुले काँग्रेस महासचिव शशांक कोईराला नेतृ सुजाता कोईरालालाई समेत प्रयोग गरेका थिए । 

पौडेल अहिले देशकै कार्यकारी प्रमुख प्रधानमन्त्री, न्यायपालिका प्रमुख प्रधानन्यायाधीश र व्यवस्थापिका प्रमुख सभामुखको निवास रहेको वालुवाटारसँगै जोडिएको ११३ रोपनी जग्गा प्रकारणमा गम्भीर ढंगले मुछिएका छन् । उक्त विवादास्पद जग्गा मध्ये पौडेल पुत्र नविनका नाममा आठ आना जग्गाको लालपूर्जा बनेको भेटिएको छ ।

यद्यपी आफ्नै पार्टीको शक्तिशाली सरकारले गोप्यरुपमा गठन गरेको आयोगको प्रतिवेदन अनुसार फन्दामा परेपछि पौडेलले आफूले कानुनबमोजिम मालपोत कार्यालयबाट जग्गा खरिद गरेको बताउँदै विज्ञप्ति जारी गरेर भनेका छन–‘समाचारहरूमा उल्लेख भएजस्तो जग्गा हिनामिनामा म र मेरो परिवारका कुनै सदस्यको संलग्नता नरहेको ब्यहोरा सबैलाई जानकारी गराउँछु ‘यस प्रकारका समाचारबाट भ्रममा नपर्न सबैलाई हार्दिक अनुरोध गर्दछु ।’ तर, ओरालो लागेको मृगलाई बाच्छाले पनि लखेट्छ भन्ने उखान पनि अहिले पौडेलमा लागू भएको छ । किनभने सामाजिक संजाल मात्र हेर्ने हो भने पौडेलको दावी मान्न उनका कोही मित भए उनी पनि मान्न तयार देखिदैन । हुनपनि घटना नै त्यस्तै छ ।

वालुवाटारको ललिता निवास नाम गरिएको त्यो जग्गा हडप्न पञ्चायती व्यवस्था समाप्त भएर वहुदलको उदय भएसँगै विभिन्न प्रपञ्चहरु भएका थिए । प्रपञ्चको लामो श्रृंखला चलिरहेको अवस्थामा एमाले जस्तो स्पातिलो अनुशासनदार पार्टीको संगठन विभाग प्रमुख, पटकपटक सांसद र मन्त्री अनि नेकपा जस्तो शक्तिशाली पार्टीको महासचिव भएको व्यक्तिले कानून बमोजिम खरिद गरेको भन्नु आफैमा हास्यास्पद रहेको छ । यो प्रकरणमा स्वर्गीय एमाले नेता तथा सांसद रामनाथ ढकालका पीए रहेको तारा ढकाललाई ल्याएर पाता कस्ने हो भने धेरैकुराको भेद खुल्ने जानकारहरु बताउँछन् ।

 
अधिकरण गरिएको २८५ रोपनी जग्गामध्ये १७२ रोपनीमा अहिले बालुवाटारस्थित प्रधानमन्त्री निवास, प्रधानन्यायाधीश निवास, सभामुख निवास र नेपाल राष्ट्र बैंकको कार्यालय समेत रहेका छन् । ललिता निवासका नाममा बाँकी रहेको ११३ रोपनी जग्गा कुमारी बैंकका संचालक समेत रहेका भूमाफिया ढकाललगायतको समूहले कानुनको ठाडो उल्लंघन गरी मालपोतका कर्मचारीलाई हातमा लिएर कब्जा गरेका थिए । यो जग्गा कब्जा गर्न ढकालले कुमारी बैंकमा जनताले जम्मा गरेको रकम समेत लगानी गरेको बुझिएको छ । 

गुल्मीबाट काठमाडौं आएपछि रामनाथको आश्रयमा रहेका ढकाल अहिले पौडेलको व्यापारीक चाँजोपाजोका हर्ताकर्ता हुन । त्यसो त ललिता निवास प्रकरणका मुख्य नाइके डा.शोभाकान्त ढकालसँग पौडेलको टाढाकै भएपनि नाता सम्वन्ध रहेको छ । यो अवस्थामा सरकारद्वारा गठित छानविन समितिको प्रतिवेदन अनुसार किर्ते गरी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न पौडेलले पदीय मर्यादा विपरित काम गरेको जानकारहरुको दावी छ । त्यही सहयोग वापत आठ आना जग्गा उनले ‘बक्सिस’ पाएको हुन सक्छ ।

यो प्रकरणमा मुछिएपछि महासचिव पौडेलले पार्टीका दुवै अध्यक्ष प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डलाई चन्द्रागिरी हिल्स रिसोर्टमा एक रात बासै बस्ने गरी लगेर आफ्नो सफाइ पेश गर्न समेत भ्याएका छन् । चैत्र २९ गते राति गृहमन्त्री रामबहादुर थापा बादलसमेतको उपस्थितिमा महासचिव पौडेल प्रष्टिकरण दिएपनि उनी जोगिने सम्भावना अत्यान्तै कम रहेको स्रोत बताउँछ । किनभने यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले छानविन थालिसकेका छन् । त्यस माथि प्रधानमन्त्री ओलीकै प्रत्यक्ष निर्देशनमा गोप्यरुपमा गठन भएको त्रिताल आयोगको प्रतिवेदन कार्यान्वयन हुनबाट रोक्न प्रधानमन्त्रीबाट निर्देशन हुने कुनै गुन्जायस छैन् । एक व्यक्तिलाई जोगाउन लाग्दा सिङ्गो सरकारको अनुहारमा दाग पोतिने भएकाले सरकार अब पछाडि फकर्ने अवस्थामा छैन । त्यसमाथि यो प्रकरणमा बल अर्को गोलपोष्टमा छिरिसकेको छ । 

त्यतिमात्र होईन पौडेललाई पदबाट बर्खास्त गर्नु पर्ने माग पार्टीमा उठिसकेको छ । पार्टी एकता प्रकृया नटुङ्गिएको र एकताका लागि पौडेलले महासचिवका हैसियतमा धेरै काम गरिरहेकाले उनलाई बर्खास्त गर्ने विषयमा पार्टीले निर्णय लिन नसकिरहेको स्रोत बताउँछ । महासचिव पौडेलको प्रष्टिकरण सुनेर फर्केको भोलिपल्ट अध्यक्षद्वयले अर्का वरिष्ठ नेता माधव नेपालसँग यस बारेमा गम्भीर वार्ता गरिसकेका छन् ।

 
सबैलाई मिलाउने अनि त्यसको फाइदा चाहीँ आफूले लिने चलख्याइँ गर्नका धूर्त पौडेलको नजर पछिल्ला दिनमा सरकार र संगठन दुवैतर्फ सोझिएको थियो । 

पौडेलले खेल्ने गरेको भूमिकाका बारेमा यस अघि पनि विभिन्न प्रश्न उठ्ने गरेका थिए । तर, दिनप्रतिदिन शक्तिशाली बन्दै गएका महासचिव विरुद्ध औला उठाउन कसैले सकिरहेका थिएनन् । पार्टीमा खतरनाक भूमिका निर्वाह गरिरहेको भन्दै सवै नेता उनीप्रति सशंकित रहेका छन् । यस अघि वामदेवलाई जसरी पनि संसदमा ल्याउने पहलमा लागेपछि पौडेल ओलीसँग नजिक देखिने तर प्रचण्ड र माधवसँग पनि समदुरीको सम्वन्ध कायम राखिरहेका थिए । सबैलाई मिलाउने अनि त्यसको फाइदा चाहीँ आफूले लिने चलख्याइँ गर्नका धूर्त पौडेलको नजर पछिल्ला दिनमा सरकार र संगठन दुवैतर्फ सोझिएको थियो । महासचिवका हैसियतमा संगठनमा पकड जमाउने र प्रचण्डसँग भएको पूर्व सहमती अनुसार ओली सरकार विस्थापित भइ अर्को सरकार बनेको खण्डमा आपूm दोस्रो बरियतामा सरकारमा प्रवेश गर्ने रणनीतिका साथ पौडलले एक तीरले दुई शिकार गरिरहेको जानकारहरु बताउँने गर्छन् ।

तर, अहिले ललिता निवास प्रकरण पछि पौडेलको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गइरहेको छ । उनी माथि विहारी शैलीमा काम गर्ने गरेको अकुत धन थुपारेर माडवारी जस्तै व्यापारी बन्दै गएको उजुरी पार्टी भित्रबाटै पर्न थालेका छन् । त्यतिमात्र होईन महासचिव पौडेलले रुपन्देहीमै रहेको त्रिवेणी डिस्ट्रिलरीले चर्चेको ४२ विगा जग्गा मध्ये ३५ विगा जग्गा रोहित श्रेष्ठबाट खरिद गरेर ड्रिमल्याण्ड रिसोर्ट नामको पाँचतारे होटल खोल्न लागेकाले त्यसमाथि पनि छानविन गर्न उजुरी पार्टी र सरकार दुवैमा परेको छ । पौडेलले आफू पर्दा पछाडि बसी आफ्नै वंशज शशी पौडेललगायतलाई अघि सारेर होटल संचालनको प्रकृया अघि बढाइसकेका छन् ।

के हो ललिता निवास प्रकरण ?

२०१७ सालमा राजा महेन्द्रले ‘कू’ गरेपछि सुवर्णशमसेर तथा उनको परिवारका नाममा काठमाडौंमा रहेको २९९ रोपनी जग्गा मध्ये तत्कालिन सरकारले सुवर्ण शमशेर र उनका छोरा कञ्चनशमशेर राणाको नाममा रहेको १४ रोपनी जग्गा जफत गरी बाँकी रहेको २८५ रोपनी जग्गा चाहीँ २०२१ सालमा मुआब्जा दिएर अधिकरण गरेको थियो ।

यसरी अधिकरण गरिएको २८५ रोपनी जग्गामध्ये १७२ रोपनीमा अहिले बालुवाटारस्थित प्रधानमन्त्री निवास, प्रधानन्यायाधीश निवास, सभामुख निवास र नेपाल राष्ट्र बैंकको कार्यालय समेत रहेका छन् । ललिता निवासका नाममा बाँकी रहेको ११३ रोपनी जग्गा कुमारी बैंकका संचालक समेत रहेका भूमाफिया ढकाललगायतको समूहले कानुनको ठाडो उल्लंघन गरी मालपोतका कर्मचारीलाई हातमा लिएर कब्जा गरेका थिए । यो जग्गा कब्जा गर्न ढकालले कुमारी बैंकमा जनताले जम्मा गरेको रकम समेत लगानी गरेको बुझिएको छ । अख्तियार र सिआईबीले यो प्रकरणमा कुमारी बैंकलाई समेत तान्ने तयारी गरिरहेको बताइएको छ । यही ११३ रोपनीमध्ये ८ आना जग्गा नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनका नाममा पुगेको हो । स्रोतका अनुसार यो जग्गा हडप्न भूमाफियाहरुले काँग्रेस महासचिव शशांक कोईराला नेतृ सुजाता कोईरालालाई समेत प्रयोग गरेका थिए । (प्रकाश खबरबाट)

ताजा खबर