सूचना प्रविधिको क्षेत्रमा कृयाशील संस्था सम्मानित

काठमाडौं । नेपालले सूचना प्रविधिको क्षेत्रमा फड्को मार्ने प्रयास गरिरहेको अनुभव सुनाउँदै सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नुुपर्ने संचार मन्त्री मोहन बहादुर बस्नेतले बताएका छन्।
लिभिङ विथ आइसिटीले आयोजना गरेको दोस्रो संस्करणको नेटिस आइसिटी अवार्ड २०१७ कार्यक्रममा मन्त्री बस्नेतले सूचना प्रविधिको विकास गर्न सके मुलुकको कुल ग्रार्हस्थ उत्पादनमा वृद्धि गर्न सकिने विश्वास व्यक्त गरे। मन्त्री बस्नेतले विभिन्न स्पर्धाका विजेता संस्थालाई सम्मान गरे।
अवार्ड समारोहमा उद्योग मन्त्रालयका सचिव शंकर कोइरालाले सूचना प्रविधिलाई उद्योगको रुपमा लैजान सरकारले तयारी गरेको जानकारी दिदै नयाँ बन्न लागेको औद्योगिक नीतिमा आइसिटीलाई पनि उद्योगको रुपमा स्वीकारेर यससम्बन्धी नीति व्यवस्था गर्न लागेको बताएका थिए।
स्टार्टअप अवार्ड
अवार्ड समारोहमा विभिन्न ३ आइटी कम्पनीलाई उत्कृष्ट आइसिटी स्टार्टअपको अवार्ड प्रदान गरियो। अवार्ड पाउनेमा बसोबास नेपाल प्रालि, पाइला टेक्नोलोजी प्रालि र जेफ्टवेयर सोलुसन्स प्रालि छन्।
आइसिटी प्रडक्ट अवार्ड
यस संस्करणको बेस्ट आइसिटी इनोभेटिभ अवार्डबाट पाइला टेक्नोलोजीले विकास गरेको परी रोबोट, आइटेक नेपालले विकास गरेको एभरेस्ट कास्ट र सिमान्टेक क्रिएसनले विकास गरेको नेपाल भिआरलाई प्रदान गरियो।
आइसिटी पायोनियर अवार्ड
मन्त्री बस्नेतले करिब ४० वर्षदेखि नेपालको आइसिटी क्षेत्रमा क्रियाशील उद्यमी सुरेशकुमार रेग्मीलाई यस संस्करणको आइसिटी पायोनियर अवार्ड प्रदान गरे। रेग्मी आइटी कम्पनी प्रोफेसनल कम्प्युटर सिस्टमका संस्थापक एवं प्रबन्ध निर्देशक हुन् भने विभिन्न संघसंस्थामा रहेर काम गरिरहेका छन्।
आइसिटी डायस्पोरा अवार्ड
हलिउड उद्योगमा लामो समयदेखि एनिमेशन प्रविधिमा काम गरिरहेका नेपाली किरणभक्त जोशीलाई यस संस्करणको आइीसटी डायस्पोरा अवार्ड प्रदान गरिएको छ। उनी राजधानीस्थित एनिमेशन स्टुडियो इन्सेसान्ट रेन स्टुडियोका संस्थापकसमेत हुन्।
पत्रकार पनि सम्मानित
पत्रकारितामार्फत आइसिटी क्षेत्रको विकासमा योगदान दिइरहेका ५ आइसिटी पत्रकारलाई पनि सो अवसरमा मन्त्री बस्नेतले सम्मान गरे। सम्मानित हुनेमा कारोबार दैनिककी सरस्वती ढकाल, गोरखापत्र दैनिकका विश्वास रेग्मी, नयाँ पत्रिका दैनिकका कृष्ण रिजाल, नागरिक दैनिकका विष्णु पौडेल र लिभिङ विथ आइसिटीका शिव बस्नेत छन्।