सेतो मच्छेन्द्रनाथको रथ लगनटोलमा

२०७६ बैशाख ३ मंगलबार १३:१८:०० मा प्रकाशित

          
काठमाडौँ, ३ वैशाख । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथलाई सोमबार राति लगनटोल पु¥याइएको छ ।

हनुमानढोका दरबार अघिबाट बेलुकी ४ः३० बजे तान्न शुरु गरिएको रथ राति लगनटोल पु¥याएपछि पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको रथ व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका–२५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए ।

सोमबार रथ लगन पु¥याएपछि जीवितदेवी कुमारीलाई पनि मच्छेन्द्रनाथको दर्शन गराइएको उनले बताए । रथ मङ्गलबार दिनभर लगनटोलमा राखी बेलुकी ५ः३० बजे सेतो मच्छेन्द्रनाथकी आमा (माँ सीमा) लाई तीन पटक घुमाइन्छ । वैशाख ४ गते बुधबार बिहान भक्तजनले नै लगनटोलमा रथ तान्ने छन् । बेलुकी लगनमै विशेष पूजा गरेर सानो रथमा राखी पूजारीले मच्छेन्द्रबहालस्थित मन्दिरमा प्रवेश गराउँछन् । बिहीबार बिहान क्षमा पूजा गरी मच्छेन्द्रनाथको मूर्तिलाई पुरानै स्थानमा राखेपछि यो जात्रा समाप्त हुन्छ ।

चैत्रशुक्ल नवमीका दिन दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु गरिएको हो । त्यस दिन रथलाई असनमा पु¥याइएको थियो । रथ असनमा पु¥याइएको राति नै राष्ट्रपति विद्यादेवी भण्डारीले सेतो मच्छेन्द्रनाथको दर्शन गरेकी थिइन् ।

प्राचीनकालदेखि नै सेतो मच्छेन्द्रनाथको रथयात्रा असन पु¥याएपछि राष्ट्राध्यक्षले दर्शन गर्ने परम्परा छ । १७ औँ शताब्दीमा शुरु भएको रथयात्रा काठमाडौँ उपत्यकाको प्राचीन सभ्यता मानिन्छ । रथयात्राले धार्मिक सहिष्णुता र राष्ट्रिय एकतामा सहयोग पुग्ने समितिले जनाएको छ ।   
 
सेतो मच्छेन्द्रनाथको रथ तानेर रात्रि विश्राम गर्ने स्थलमा भक्तजनको भीड लाग्ने गर्छ । रथयात्रा गरेपछि वर्षा हुने र अनिकाल हटी सहकाल प्राप्त हुने धार्मिक विश्वास छ । यस्ता जात्राले नेपालको सभ्यता र संस्कृतिलाई भावी सन्ततिसम्म जीवित राख्ने राजधानीवासीको विश्वास छ । रासस

 

ताजा खबर