दोलखाली गुराँस

२०७६ बैशाख २ सोमबार १०:५३:०० मा प्रकाशित

दोलखा : यतिबेला दोलखाका बनपाखा विभिन्न रङका गुराँसले ढकमक्क भएको छ । गुराँससँग रमाउन चाहनेहरुका लागि दोलखाली वनखापाले स्वागत गरिरहेको छ ।

प्राकृतिक सौन्दर्यको धनी दोलखा जिल्लामा ढकमक्क फुलेको गुराँसले झनै शोभा बढाएको छ । दोलखामा गुराँस फुल्ने यो मध्य मौसम हो । दोलखाको १५ सय मिटरदेखि ४ हजार मिटरको उचाइसम्मका सबैजसो ठाउँहरुमा गुराँस फुल्ने गर्छ । पुस महिनादेखि निम्न पहाडी क्षेत्रबाट फुल्न थाल्ने गुराँसको अहिले मध्य मौसम भएको छ । जिल्लाको माथिल्लो भेगमा जेठ महिनाभरि गुराँसको आतिथ्यसँग रमाउन सकिन्छ ।

नेपालमा पाइने ३२ प्रजातिका गुराँसहरुमध्ये दोलखा जिल्लामा १० भन्दा बढी प्रकारका गुराँसहरु पाइने गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका सूचना अधिकारी विष्णु पाण्डेले जानकारी दिए । यद्यपि यसको विस्तृत अध्ययन हुन अझै बाँकी रहेको उनको भनाइ छ । दोलखामा लालीगुराँस, गुराँस, रातो तथा सेतो चिमाल, सुनपाती र भाले सुनपाती आदि गरी १० प्रजातिका गुराँसको पहिचान भएको छ । तीमध्ये अहिले दोलखामा लालीगुराँस तथा गुराँस फुल्ने मौसम चलिरहेको छ । यहाँ हिजोआज लालीगुराँस सहित विभिन्न रङका गुराँसहरु फुलिरहेका छन् ।

 

 

हुन त दोलखाको सबैजसो क्षेत्रहरुमा गुराँस पाइन्छ । तर भीमेश्वर नगरपालिकाको लाकुरीडाँँडा, बोच, शैलुङ तथा कालिन्चोक क्षेत्र पर्यटकहरुका लागि आकर्षक र सहज क्षेत्रहरु हुन् । काठमाडौँबाट दोलखा चरिकोट आउने पर्यटकहरुका लागि भीमेश्वर नगरपालिकाको लाकुरीडाँडास्थित हलहले, झिँगाने लगायतका जङ्गलमा ढकमक्क फुलेका विभिन्न रङका गुराँस फूलले स्वागत गरिरहे जस्तो लाग्छ । बाटो वरपर फुलिरहेको गुराँसले काठमाडौँ–चरिकोट ओहोरदोहोर गर्नेहरुलाई एकपटक अडिन बाध्य पार्छ । आफ्नो गाडी बाटोछेउमै रोकेर गुराँससँग सेल्फी खिच्न बाध्य हुन्छन् यात्रुहरु ।

दोलखाका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरु कालिन्चोक र शैलुङ जाने बाटो क्षेत्र पनि गुराँस जङ्गलले भरिभराउ छन् । भर्खरै फुल्न सुरु भएको गुराँस र चिमालले यो क्षेत्रमा जेठ महिनाभरि नै स्वागत गर्दछ । त्यस्तै प्रस्तावित दोलखा फिल्म सिटी निर्माणस्थल पनि गुराँसको जङ्गलले ढाकिएको छ । यो क्षेत्रमा पनि जेठ महिनाभरि गुराँससँग रमाउन सकिन्छ ।

त्यसैगरी नेपालको स्विटजरल्याण्ड भनेर चिनिने जिरीसम्म पुग्ने पर्यटकहरुका लागि खावा तथा कलङको जङ्गलमा ढकमक्क गुराँसको न्यानो स्वागत देख्न सकिन्छ । त्यहाँ पनि यात्रुहरु गुराँसको सौन्दर्यसँग तस्विर खिचाउन बाध्य हुन्छन् ।

खरिढुङ्गा क्षेत्र होस् वा जिरीको खावा क्षेत्र होस्, ती क्षेत्रका बालबालिकाहरु जङ्गगलबाट गुराँस टिपेर गुच्छा बनाउँदै पर्यटकहरुको स्वागतमा बसिरहेका हुन्छन् । गाडी रोकेर जङ्गल पस्न नभ्याउने यात्रुहरुका लागि गुराँससँग रमाउने विकल्प बन्छ, बालबालिकाहरुको स्वागत ।

गुराँसको औषधीय मूल्य पनि छ । घाँटी दुःखेका बेला गुराँसको फूल खाँदा निको हुने मानिन्छ । गुराँसको फूल त्यसै खान मिल्छ भने यसको जुस पनि बनाउने गरिन्छ । उच्च पहाडी भेगमा पाइने सुनपातीको मिठो सुगन्ध आउने भएकोले धूपको रुपमा प्रयोग गरिन्छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

शव्दरतस्विरः शम्भु गौतम/सदृश्य डट कमबाट

ताजा खबर