पूर्वमा घुमघामका आकर्षक गन्तव्य स्थल

२०७६ बैशाख २ सोमबार ०८:०५:०० मा प्रकाशित

झापा । विदाका बेला घुम्ने चलन अचेल बढ्दै गएको छ । परिवारसहित घुमफिर गर्नेहरुका कारण आन्तरिक पर्यटनको विकासमा मद्दत पुगेको    छ । प्रदेश १ मा घुम्नका लागि धेरै ठाउँ छन् । त्यस्ता स्थानहरुमा नयाँ वर्ष र अरु अवसरहरुमा पर्यटकको चहलपहल बढ्ने गरेको छ ।

धनकुटाको भेडेटारबाट सुरु भएको यात्रा हिले बजार, तेह्रथुमको बसन्तपुर हुँदै संखुवासभाको गुफापोखरीसम्मका लागि एउटा रुट हुन सक्छ । यसक्षेत्रमा ‘होम स्टे’ सुविधा पाइन्छ । यसैगरी झापाका चिया बगान हुँदै इलामको कन्याम, फिक्कल, पशुपतिनगर, श्रीअन्तुसम्मको गन्तव्य पनि आकर्षक मानिन्छ ।

इलाम सदरमुकामबाट उत्तरमा रहेका सन्दकपुर, माइपोखरी जस्ता रमणीयस्थल जानेहरुको संख्या पनि उल्लेख्य हुने गरेको छ । इलाम, धनकुटालगायत कृषि पर्यटनका लागि अघि छन् भने ताप्लेजङ, सुनसरी, खोटाङलगायत जिल्ला धार्मिक पर्यटनका दृष्ठिले महत्वपूर्ण मानिन्छन् । तेह्रथुम, संखुवासभा, मोरङलगायत जैविक विविधताका लागि चर्चित छन् ।

१ हजार ४ सय २० मिटर उचाइमा रहेको भेडेटार बजार धरानबाट १६ किलोमिटर उत्तर पर्छ । छिनमै कुहिरो लाग्ने छिनमा घाम लाग्ने भेडेटार घुम्न जानेहरुको रोजाइमा पर्छ । भेडेटार, नाम्जे, नमस्ते झर्नासम्म आन्तरिक पर्यटकहरुको चहलपहल देखिन्छ । 

धनकुटाबाट करिब ५० किलोमिटर कालोपत्रे सडक छिचोलेपछि तेह्रथुमको बसन्तपुर बजार पुगिन्छ । त्यहाँबाट उत्तर देउरालीसम्मको ५ किमी कच्ची सडकको यात्रापछि झण्डैं ५ घण्टा गुराँसे वनको अवलोकन गर्दै पैदल यात्रापछि गुफापोखरी पुगिन्छ । संखुवासभाको नुनढाकीमा गरेको गुफापोखरी २ हजार ८ सय ९० मिटर उचाइमा छ । तिनजुरे, पा“चपोखरी, चौकी, मंगलवारे, गुफाबजार, मिल्के डाँडासम्मको पैदलयात्रा रमाइलो हुन्छ । पर्यटकका लागि वसन्तपुर, टुटेदेउराली, पाँचपोखरी, चौकी, मंगलवारे र गुफावजारमा बास र खानाका लागि राम्रो व्यवस्था छ ।

इलामको सन्दकपुर क्षेत्र अर्को आकर्षक गन्तव्यस्थल हो । सदरमुकाम इलामबाट माइपोखरी माइमझुवा हुँदै गोरुवालेबाट सन्दकपुर पुग्न    सकिन्छ । त्यस्तै माबुबाट कालपोखरी हुँदै सन्दकपुर नजिकको बिखे भञ्ज्याङसम्म मोटर सञ्चालन मोटरबाटो भएर पनि सन्दकपुर पुग्न सकिन्छ । ३ हजार ६ सय ३६ मिटर उचाईमा रहेको सन्दकपुरबाट सगरमाथा, कन्चनजंघालगायत हिमशृंखला र सूर्योदय अवलोकन गर्न सकिन्छ । यो क्षेत्र र धार्मिक र जैविक विविधताले महत्वपूर्ण छ ।

यसैगरी इलाम सदरमुकामदेखि १३ किलोमिटर उत्तरको माइपोखरी अर्को गन्तब्यस्थल हो । यहाँ रैथाने गलैचे, झ्याउ, रुख भ्यागुतो, ठकठकेजस्ता दुर्लभ जन्तु, वनस्पति र दुर्लघ चराहरु पाइन्छन् । इलामकै अन्तु सूर्योदय अवलोकनका लागि उत्कृष्ट स्थान हो । ७ हजार छ सय ३७ फुट उचाईमा रहेको अन्तु पुग्न मेची राजमार्गको फिक्कलबाट १३ किलोमिटर सडक पार गर्नुपर्छ ।

ताप्लेजुङको कन्चनजंघा क्षेत्र पनि घुमघामका लागि उत्कृष्ठ मानिन्छ । सदरमुकामबाट कञ्चनजंघा जान भने ओलाङचुङ जाने बाटोको लेलेपबाट बाटो छुटिन्छ । लेलेपबाट जौबारी, सेकाथुम, ग्याब्ला, फले हुँदै  घुन्सा पुग्न सकिन्छ । घुन्सा योक्षेत्रमा धेरै मानिसहरुको बस्ती भएको क्षेत्र हो । खाम्बाछेन घुन्साबाट एक दिनको पैदल यात्रमा पुगिन्छ ।

इटहरीको तालतलैया पनि पछिल्लो समय गन्तव्य बन्न थालेको छ । यहाँ बालउद्यान तथा मिनी चिडियाखाना छ । पशुपछी उद्धार केन्द्रसमेत राखिएकाले यो मिनी चिडियाखानाको रूप परिचित हुन थालेको छ । मोरङको बेतना सीमसार पनि घुम्ने अर्को गन्तव्य हो ।

झापाको जामुनखाडी सीमसारमा पनि पर्यटकीय चहलपहल हुने गरेको छ । कन्काई नगरपालिकामा पर्ने यो सीमसार क्षेत्रमा दुर्लभ वन्यजन्तु आरक्ष, झोलुंगे पुल, हरिणपार्क, बालउद्यान अवलोकन गर्न सकिन्छ । तेह्रथुमको वसन्तपुर प्रसिद्ध पर्यटकीयस्थल तिनजुरे, मिल्के, जलजले टिएमजे क्षेत्रको प्रवेशद्वार हो । तीनजुरे पहाडको फेदीमा आकर्षक कलाकृति, जंगलभित्रका ठूला ढुंगा र रूख कुदेर बनाइएका जंगली जनावरको आकृति हेर्न लायक छन् ।
 

ताजा खबर