मेरी ‘सुजाता’लाई शुभकामना !

२०७५ चैत २९ शुक्रबार १७:१६:०० मा प्रकाशित

 

सोचेको होलाऊ तिमीले प्रिया,
म चोट र पीरमा चुर्लुम्मै डुबेर
हतास र दुःखी छु भनि–
सोचेको होलाऊ तिमीले प्रिया,
नशाको वेहोसी हालतमा
अर्धचेतन वनि मूर्दा झै ढलेको होला

 

तर... हेर त मलाई– प्रिया
संसारलाई गर्लम्म अँगालो हालेर
कति खुशी भै हाँसेको छु
चोट र पिडाहरुलाई एकातिर थन्काएर
निर्धक्क, बिन्दास जीवन बाँचेको छु
झोक्राएको कहिल्यै देखेको छ्यौ ?

 

आँखाबाट पीर बनि आँसु खसाको 
कहिं कतै भेटेको छ्यौ प्रिया ?
हेर न– म त सधैं भिडमा पसेर
खुशी भै अविरल नाँचेको छु
अरुको दुःख र कष्टसँग हातेमालो गर्दै
छिनछिनमा तिम्रै सम्झनामा 
हाँस्दै हाँस्दै पनि नराम्ररी रोएको छु

 

साँच्चै भनुँ प्रिया– 
विगत र वर्तमानलाई एक सिरामा गाँसेर
आगतको लागि मीठा मीठा सपनाहरु
धेरै धेरै साँचेको छु

 

...र... कहिं कतै मैले देखेका सपनाहरु
नविथोलियोस् भनेर नजर 
चनाखो र खुल्ला राखेको छु
रै पनि यो मन कहिले काहिं
वेचैन वनिदिन्छ, 

 

एक्लोपनको आभास अनायासै भैदिन्छ
जव–खुशीको क्षणहरुले अंकमाल गर्छ मलाई
एकान्तसँग साउती गर्न सक्दिन
तव– एकतमासले मन निस्सासिन्छ
जब–पीडाहरुमा डाको छोडेर रुन मन लाग्छ
एकान्तमा न्यानो काख पाउँदिन 
तब–मन टुहुरो लाग्छ

 

तैपनि वियोगको चोटलाई कुल्चँदै कुल्चँदै
बाँची रहेछु, हाँसी रहेछु
फगत– म तिम्रै लागि

 

लाग्छ, वरु मेरो आयु सुख, खुशी सवैसवै
तिमी मै थपिओस्, गाँसिओस, टाँसिओस
म त तिम्रो खुशीको चम्किलो मुहार
एक कुनामा बसी नियाल्न सकुँ
अनुपम ती पलहरु, क्षणहरु
मुटुभित्र, छातीभित्र साट्न सकुँ...

 

 र अन्त्यमा
मेरो ‘कालु’ मेरो ‘सुजाता’–
लाखौं लाख शुभकामना छ नयाँ वर्ष २०७६ को
बस– शुभकामना !!!

(फुटबलका कुशल खेलाडि र प्रशिक्षक मंगेश बस्नेत एक सिध्दहस्त कवि पनि हुन् । उनको कविता संग्रह निकट भविष्यमा प्रकाशन हुन लागेको बुझिएको छ । नयाँ वर्षको शुभकामना सन्देश स्वरुप भर्खरै उनले लेखेको यो कविता उनकै फेसबूकवालबाट साभार गरिएको हो ।)

ताजा खबर