धार्मिक पर्यटनको गन्तव्य बन्दै ठूलाकोट

२०७५ चैत २९ शुक्रबार ११:५०:०० मा प्रकाशित

कास्की, २९ चैत । धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्व बोकेको पोखरा महानगरपालिका–२८ मा अवस्थित ठूलाकोटमा पर्यटन प्रवद्र्धनको अवधारणा अघि सारिएको छ ।
 
यहाँ रहेको कालभैरव र चण्डी देवीको मन्दिरमा पूजाआजा गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वासले चैतेदशैँ तथा बडादशैंको अवसरमा टाढाटाढाबाट पनि दर्शनार्थीको घुइँचो लाग्न थालेपछि धार्मिक पर्यटनलाई अघि बढाउन सकिने सोचका साथ योजना अघि सारिएको बताइन्छ ।

उत्तरमा सुन्दर माछापुच्छे« र अन्नपूर्ण हिमशृङ्खला, दक्षिणमा बेगनास, रुपा, गुदे, न्यूरेनी, खाष्टे, दिपाङ्ग र फेवाताल गरी सात ताल र पोखरा उपत्यकाको अधिकांश क्षेत्रलाई नियाल्न सकिने, लमजुङ र तनहुँका केही भागको दृश्यावलोकनका लागि उपयुक्त गन्तव्यको रूपमा ठूूलाकोटलाई लिइएको छ ।
 
पोखराबजारबाट १५ किमीको दूरीमा रहेको यस ठाउँबाट सूर्योदय र सूर्यास्त नजिकबाट दृश्यावलोकन गर्न सकिने यस स्थानमा पछिल्लो समय पर्यटकीय पूर्वाधार निर्माणले पनि गति लिएको र होटल, कटेज तथा घरबास (होमस्टे) को विकास हुँदा पर्यटनको प्रचुर सम्भावना रहेको वडाध्यक्ष निर्मल दियालीले बताए ।

उत्तरमा मादी नदी, पश्चिममा विजयपुर, दक्षिणमा सेती नदी र पूर्वमा पचभैया गाउँसहित चार किल्लाभित्र रहेको करीब १६० वर्गकिमी क्षेत्रफल र ८० हजार जनसङ्ख्या रहेको क्षेत्रलाई तत्कालीन अवस्थामा ठूलाकोट मौजाको रुपमा लिइएको थियो ।
 
विसं १५४२ देखि १५८२ सम्म कास्कीका राजा कुलमण्डल शाहको पालामा राज्यमा ठूलो अनिकाल पर्दा तान्त्रिकविज्ञको सल्लाहअनुसार अष्ठसिद्धिदायक कालभैरवको पूजाआजा गरी यज्ञ सञ्चालन गरिएको र यज्ञको अन्तिम दिन चैतेदशैँ नवमीको मध्यरातमा कालभैरव आफ्नो बहान कुकुरको रूपमा प्रकट भई मण्डप घुमी नवैद्वारमा अन्न ओकल्दा अन्नको राश लागेको र छिमेकी राज्यमा पनि अनिकाल टार्न वरदान सावित भएको भन्ने विश्वासले यस क्षेत्रको धार्मिक महत्वलाई अझ बढाएको बताउँछन्, स्थानीय तिलकशाली अधिकारी ।

राजा कुलमण्डलले लमजुङ राज्यबाट आइपर्ने खतराको सामना गर्न आफ्ना साहिँला छोरा चैतु शाहलाई उमराव (राज्य सहायक) बनाएर ठूलाकोटमा पठाएपछि उनले त्यस भेगमा किल्ला जमाएर बसेको इतिहासकारको भनाइले पनि यस क्षेत्रको ऐतिहासिक र सामरिक महत्वलाई उजागर गरेको छ ।
 
कुलमण्डल शाहले यस क्षेत्रमा बसोबास गर्ने जयकृष्ण तिवारीलाई ताम्रपत्र गरी ठूलाकोटमा चैतेदशैँ र विजयादशमीमा दुर्गाकवच, चण्डी र देवी पाठ गरी नवरथामा कालरात्रि पूजा गर्ने अख्तियारी र केही जमीन बिर्ता दिएको तथा पछि विभिन्न व्यक्ति एवं संस्थाबाट ठूलाकोटका देवीदेवताका नाममा विभिन्न ठाउँमा गुठीको रुपमा जमीन दान गरेबाट पनि यसको महत्व स्पष्ट हुने अधिकारीले बताए ।
      
उनी भन्छन्, “प्राचीनकालदेखि नै यस पुण्यस्थललाई ऋषिमुनि, साधु, सन्त तथा तपस्वीले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले तपस्यास्थलको रुपमा लिए । नवदुर्गा र चण्डीदेवी मन्दिरमा बडादशैँको फूलपातीमा बढाइँका अवसरमा विभिन्न २५ स्थानबाट पूजा सामग्री सङ्कलन गरिएबाट पनि यसको महिमा थाहा हुन्छ ।”

यहाँको पर्यटकीय सम्भावनालाई देखेरै  धार्मिक मठमन्दिर, देउराली, कोटहरु, वराहक्षेत्र, ताल तलैया, सांस्कृतिक धरोहरलगायतका महत्वपूर्ण क्षेत्रको रूपमा रहेको ठूलाकोटलाई केन्द्रविन्दु मानी यस क्षेत्रको एकीकृत विकास गरी धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने योजना अघि सारिएको भनाइ उनको छ ।
     
“यस ठाउँले जुन महत्व र सम्भावना बोकेको छ, आवश्यक पूर्वाधार निर्माण गरी प्रचारप्रसारमा हाम्रो ध्यान पुग्न सकेन । अब यसलाई साक्षात् देवीको दर्शन गरी एकै थलोबाट हिमाल, ताल, वनजङ्गल तथा सुन्दर शहरको दृश्यावलोकनको गन्तव्यको रुपमा विकास गर्दछौँ”, उनले भने ।
 
ठूलाकोट मौजाभित्र रहेका ७२ मठमन्दिर, आश्रम तथा बेगनास, गुदे, न्यूरेनी, खास्टे र दीपाङ तालको विकासका लागि ठूलाकोटलाई केन्द्रविन्दु मानेर यस क्षेत्रको एकीकृत विकासका लागि २० वर्षे गुरुयोजना बनाउने लक्ष्य रहेको वडाध्यक्ष दियालीले बताएका छन् । गुरुयोजनाका लागि तयार गरिएको अवधारणामा कालभैरव र चण्डीदेवी मन्दिर परिसरको स्तरोन्नति गरी मन्दिर, सत्तल, आश्रमको निर्माण गर्ने, कालभैरवको ५१ फिट अग्लो मूर्ति निर्माण, शिवालय, वराह, देउराली, बौद्ध स्तुपाको निर्माण गर्ने योजना छ ।

भैँसे, गढुवा, स्याङखुदीबाट ठूलाकोटसम्म केबलकार निर्माण, कोटको टाकुरासम्म पुग्ने भगवतीटार, भैँसे, सुनपदाली, गढुवा, दिपाङ्ग्ग, मैदी, भुर्तेलगाउँ र सौर्यबाट पर्यटक पैदलमार्ग निर्माण, देवमणि, चितेपानी, ठूलास्वारा, कालिका, आरुपाटा, लामास्वाँरा, शान्ति मैदानमा घरबास स्थापना गरी पर्यटकको आकर्षणको केन्द्रको रुपमा विकास गर्ने योजना छ ।
 
दृश्यावलोकनका लागि उपयुक्त स्थानमा दृश्यावलोकन स्तम्भ निर्माण तथा ठूलाकोट जलाधार क्षेत्रमा रहेका सम्पूर्ण सामुदायिक वनमा पर्यटनलाई बढवा दिने खालका पर्यापर्यटनको विकास गर्ने सोच रहेको स्थानीय समाजसेवी ऋषिराम त्रिपाठीले बताए ।
     
ठूलाकोटबाट ओख्लेसम्म बन्जीजम्प, ठूलाकोटबाट चुत्रेकोट, लामाश्वारा हुँदै स्याङखुदीसम्म जिप फ्लायर, यहाँ रहेको महभीरमा हनी हन्टिङ सञ्चालन, धार्मिक सांस्कृतिक जातजातिका वेषभूषाको प्रदर्शन गरी राख्नका लागि सङ्ग्रहालय स्थापना, खास्टे, दीपाङ्ग, मैदी तालमा पर्यटकको आकर्षण बढाउन डुङ्गा चलाउने व्यवस्था गर्ने लक्ष्य राखिएको छ ।

त्रिपाठीका अनुसार गुरुयोजना अनुसारका क्रियाकलाप अघि बढाउन ठूलाकोट धार्मिक पर्यटन विकास समिति गठन गरिने तथा  वडाले संरक्षकत्व लिई सङ्घ, प्रदेश तथा स्थानीय सरकार एवं विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग समन्वय गरिनेछ । रासस       

 

ताजा खबर