नायिका सुहाना भन्छिन्- "अनमोल केसीलाई पाउने भाग्यमानी"

२०७५ चैत २८ बिहीबार १५:४८:०० मा प्रकाशित

काठमाडौं । नायिका तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापाको पहिलो चलचित्र ‘ए मेरो हजुर ३’ यही आउँदो शुक्रबारबाट रिलिज हुने तयारीमा छ । नायक अनमोल केसी र सुहानाको मुख्य भूमिका रहेको यो चलचित्र यो वर्षकै प्रतिक्षित चलचित्रका रूपमा हेरिएको छ । विशेषगरी युवास्टार अनमोल र ‘स्टार किड’ सुहानाको जोडीलाई लिएर पनि चलचित्र नगरीमा चर्चा हुन थालेको छ । चलचित्रमा सार्वजनिक ट्रेलर तथा गीतले चलचित्रलाई थप चर्चा ल्याएको छ । 

यसैबीच डेब्यु नायिका सुहाना र अनमोलबीचको प्रेमको चर्चा पनि हुन थालेको छ । कतिले चलचित्र चलाउने फण्डाको रूपमा हेरेका छन् भने कतिले चलचित्रको छायांकनबाट नजिक भए पनि साँच्चैनै प्रेममा छन् ? भन्ने प्रश्न पनि गर्न थालेका छन् । यसैबीच हिमालय टाइम्सका लागि गोपीकृष्ण चापागाईंले उनै सुहानालाई अनमोसँगको प्रेमको विषय र चलचित्रसँग सम्बन्धित केही प्रश्न गरेका छन् ।

अहिले तपाईं र अनमोल प्रेममा हुनुहुन्छ भन्ने चर्चा छ, साँच्चिकै हो कि फिल्म चलाउने फण्डा मात्र हो ? 

यो कुरा चलचित्रकै कारणले आएको हो । हामी चलचित्रमा प्रेम गरेका छौं, हरेक अन्तर्वार्तामा सँगै छौं, कार्यक्रममा सँगै छौं त्यसैले पनि यो कुरा आएको हो जस्तो लाग्छ । मैले अहिले नै प्रेमको विषयमा सोचेकी छैन । हामी प्रेममा छौं या छैनौंभन्दा पनि बाहिर यत्तिकै आएको कुरा हो ।

अनमोल र तपार्इंको धेरै कुरा मिल्दोरहेछ । दुवैजना कृष्ण भक्त भन्ने कहिले थाहा भयो ? 

म स्क्रिनमा पहिलोपटक मन्दिर दर्शन गर्न गएकी थिएँ, त्यहाँको माताले अनमोल पनि यहाँ आउँदा ऊ पनि कृष्ण भक्त हो भन्नुभएको थियो । त्यो बेला थाहा भएको थियो अनमोल पनि कृष्ण भक्त रहेछ । कोही व्यक्ति आफूजस्तै छ भने मन सान्त हुँदोरहेछ । कुरा सेयर गर्दा पनि आनन्द हुन्छ ।

प्रेमको चर्चा भइरहँदा सोच्न बाध्य हुनुभयो होला । अनमोल तपार्इंलाई कस्तो लाग्छ ? 

अनमोल एकदम मनको सफा मान्छे हो । प्रेमको विषयमा त्यस्तो सोचेकी छ छैन, पछिको कुरा के हुन्छ भन्न त सक्दिनँ तर उनलाई पाउने मान्छे भाग्यमानी हुन्छ । र, यदि ऊ मेरो जीवनमा आयो भने आफूलाई लक्की सम्झन्छु । 

चलचित्रमा आउन हतार गरेजस्तो लाग्दैन ? 

मलाई त बरु ढिलो आएँ कि जस्तो लागिरहेको छ । किनकि अहिले २१ वर्ष पुगिसकेकी छु । किनभने मेरो ममीले १८ वर्षको उमेरमै पहिलो चलचित्रमा काम गरिसक्नुभएको थियो । त्यो हिसाबले चाहिँ आपूm ढिलो भएकी जस्तो लाग्छ । 

ए मेरो हजुरमा तपार्इं जोडिनुमा मुख्य कारण कसको छ ? 

मुख्य कारण त मेरो ममी नै हुनुहुन्छ । यता, चलचित्रको स्क्रिप्ट र नायक अनमोल फाइनल भइसकेपछि म अमेरिकामै हुँदा ममीले फोन गर्नुभएको थियो । अब तिमीले फिल्म गर्नुपर्छ भन्दा मैले विश्वास नै गरेकी थिइनँ । मैले अहिले नै फिल्म गर्न सक्छु र भन्ने लागेको थियो । पछि कन्भिन्स भएँ र नेपाल आएँ ।

आप्mनै आमाले एक्सनकट गर्दा कत्तिको गाह्रो र सहज अनुभव भयो ? 

आप्mनै ममी डाइरेक्टर हो भन्दा केही सहज त हुन्थ्यो तर जब छायांकनस्थलमा गइन्थ्यो उहाँ मेरो ममीभन्दा पनि मैले डाइरेक्टरको नजरबाट हेर्थे । कडा निर्देशक भन्न चाहन्छु ममीलाई । कतिपय बेला परिवार नै हुँदा अल्छिपना हुन्थ्यो तर ममीले त्यस्तो बेला कडा गर्नुहुन्थ्यो ।

नेपाली चलचित्र क्षेत्रलाई उकास्न के पुगेको छैन जस्तो लाग्छ ? 

अहिले नेपाली चलचित्र क्षेत्रमा राम्रो ब्यानरको चलचित्र एकैसमय प्रदर्शन भइरहेका छन् । समय मिलाएर यस्तो चलचित्र प्रदर्शन हुने हो भने हलमा आउने दर्शकलाई नेपाली चलचित्र पनि राम्रो बनेको छ भन्ने अनुभव हुन्थ्यो । एकपटक दर्शकले हेर्दा नेपाली चलचित्र यस्तै त हो भन्ने भएको हुन्छ फेरि अर्कोपटक हेर्दा पनि त्यही फिल भयो भने फेरि दर्शक हलसम्म नजान सक्छन् । राम्रो ब्यानरको चलचित्रलाई समय मिलाएर प्रदर्शन गर्नु आवश्यक छ जस्तो लाग्छ । मेरो मनमा कहिलेकाहीँ भाग्यको खेल हो जस्तो पनि लाग्छ । कत्ति राम्रो चलचित्र बनिरहेको हुन्छ, प्रदर्शनको बेला कहिले ठूलो पानी परिदिन्छ, कहिले केही भवितव्य भइदिन्छ त्योबेला कसलाई के  भन्ने ? 

अब अर्को चलचित्रमा अनमोल नै चाहिन्छ कि अरू नयाँ कलाकार भए पनि हुन्छ ? 

अनमोल नै चाहिन्छ भन्ने होइन तर एकपटक काम गरिसकेकोले कसैले अनमोललाई नै लिएर चलचित्र बनाउनुहुन्छ भने म सहमति हुन्छु तर मुख्य कुरा स्क्रिप्ट नै हो । स्क्रिप्ट राम्रो छ भने अनमोल नै हुनुपर्छ भन्ने छैन, अन्य नयाँ कलाकारसँग पनि गर्छु । (हिमालय टाईम्स दैनिकबाट)

ताजा खबर