पृथ्वीनारायणका सेना बास बसेको बजार ओझेलमा

२०७५ चैत २८ बिहीबार १३:२०:०० मा प्रकाशित

इलाम । जिल्लाकै सबैभन्दा पुरानो तर प्रमुख व्यापारिक केन्द्रको रूपमा चिनिएको गोर्खे बजार अहिले सुनसान छ । बजारको चहलपहल न्यून भएकाले यहाँका अधिकांश व्यापारी अहिले विस्थापित भइसकेका छन् । 

राणाकाल अघिदेखि नै अस्तित्वमा रहेको यो बजार जिल्लाभर मात्र होइन, बाहिरी जिल्लाका बासिन्दाका लागि पनि जडीबुटीलगायत नगदेबाली बिक्री गर्ने र नून चामल किन्ने केन्द्र थियो । तीन दशक अघिसम्म गोर्खे बजार प्रमुख व्यापारिक केन्द्रको रूपमा रहेको थियो । 

ऐतिहासिक र पर्यटकीय महत्वको यो बजारलाई पुनर्जीवन दिनुपर्ने स्थानीयवासीको माग छ । हटियामा विभिन्न कार्यक्रम राख्दै रौनक बढाउन स्थानीयवासी लागिपरेका छन् । ‘हटिया शुरु भएपछि केही न केही चहलपहल बढेको छ,’ स्थानीय विशाल मास्केले भने, “जुन हिसाबले बजार खस्कँदै गएको थियो । अहिले भने केही सुधार आएको छ ।” पछिल्लो सयम त्यहाँबाट विस्थापित भएका ठूला व्यापारी पनि यहाँ आउन थालेका छन् । 

विभिन्न कार्यक्रमको आयोजना गर्दै हटिया लगाएर बजार ब्युँताउने प्रयासमा स्थानीयवासी लागिपरेका छन् । सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारबाट करीब ११ किलोमिटर उत्तरमा रहेको यो बजार सुनसान बन्नुमा प्रमुख कारण सडक सञ्जाल नै हो । 

मेची राजमार्ग खुलेसँगै दार्जि्लिङसँग सिधा सम्पर्क कायम गर्न अन्य रुट खुलेपछि गोर्खे बजारलाई ठूलो असर परेको स्थानीयवासी वेद सापकोटा बताउँछन् । 

सन्दकपुर पुग्ने पर्यटकीय सडक र फिक्कल–मानेभञ्ज्याङ सडक व्यवस्थित हुने भए बजारले कोल्टे फेर्नसक्ने स्थानीयवासी बताउँछन् । इलामलगायत पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुमलगायत जिल्लासम्म यही बजारबाट दैनिक उपभोग्य सामग्री जाने गरेको थियो । 

विगतमा यहाँ कृषि विकास बैंक, पशुसेवा कार्यालय, भन्सार, प्रहरी चौकीलगायतका सरकारी कार्यालय थिए । तर अहिले प्रहरी कार्यालय मात्र स्थापना भएको छ । यहाँ २०१८ सालमा नै भारतको दार्जिलिङबाट मोटर पुगेको थियो । गोर्खे बजार राणा शासनकै बेला पनि चल्तीमा रहेको स्थानीयवासी बताउँछन् । पृथ्वीनारायण शाहले सिक्किम आक्रमण गर्ने क्रममा गोर्खा फौज बास बसेकाले यस बजारको नामाकरण नै गोर्खे रहन गएको यहाँका बुढापाका बताउँछन् । 

आलु, अलंँैची र जडीबुटीका बिक्री र खाद्यान्न, नून, मट्टितेललगायत सामग्री खरीदका लागि यो बजारमा टाढाबाट ग्राहक आउने गरेका थिए । गोर्खेमा रहेको जिल्लाकै पहिलो लघु साना जलविद्युत् आयोजना अहिले बन्द छ । चौसठी किलोवाट क्षमताको सो लघु जलविद्युत् आयोजना पशुपतिनगर र गोर्खे बजारलाई लक्षित गरेर सञ्चालन गरिएको थियो । राससका अनुसार, यो विद्युत्लाई मर्मत सम्भार गरेर सञ्चालनमा ल्याउन सके पशुपतिनगर र गोर्खेबासीलाई विद्युत् सुविधा पुग्ने स्थानीयवासीको माग रहेको छ ।
 

ताजा खबर