त्रिविमा पञ्चायतकालदेखिको १३ अर्ब बेरुजु

२०७४ भदौ २ शुक्रबार ०६:४४:०० मा प्रकाशित

त्रिभुवन विश्वविद्यालयको बेरुजु १३ अर्ब ८ करोड ३९ लाख ३३ हजार पुगेको छ। त्रिविमा पञ्चायतकालदेखिको बजेट फस्र्योट नहुँदा आर्थिक वर्ष ०७३-७४ सम्ममा १३ अर्बभन्दा बढी बेरुजु देखिएको हो। 

त्रिविले बेरुजु फस्र्योटलाई प्राथमिकमा राखेर यस्ता काममा सक्रिय हुने कर्मचारीलाई पुरस्कारको समेत व्यवस्था गरेको छ। त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीका अनुसार बेरुजु फस्र्योट गर्ने कर्मचारीलाई प्रोत्साहन गरी आर्थिक एकाइलाई कारोबार रकमका आधारमा पाँच हजारदेखि १० हजार रुपैयाँसम्म पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ। त्रिविले बेरुजु फस्र्योटलाई प्राथमिकता दिए पनि आव ०७३/७४ सम्मको बेरुजुको रकम ३ अर्ब आठ करोड रुपैयाँभन्दा बढी पुगेको हो।

रजिस्ट्रार उप्रेतीका अनुसार त्रिविमा सैद्धान्तिक बेरुजु धेरै रहेको बताए। त्रिविका आंगिक क्याम्पसले पहिले बजेटमा नराखेर पछि खर्च गरेको र पछि केन्द्रबाट अनुमोदनसमेत नगरेकाले बेरुजुको आकार ठूलो भएको हो। आन्तरिक कार्यक्रमलगायतमा सैद्धान्तिक बेरुजु आंगिक क्याम्पसका अधिकांश रहेको छ।

पञ्चायतदेखिको बेरुजु

त्रिविमा पञ्चायतकालदेखिको बेरुजु रहेको त्रिविका आर्थिक प्रमुख कुमार हुमागाईंले बताए। पञ्चायतकालमा अध्ययन संस्थानहरूले विभिन्न प्रोजेक्ट ल्याएर काम गरेको, तर त्यसको रेकर्डसमेत पाउन कठिन भएको उनले बताए। पञ्चायतकालमा विद्यार्थीलाई खुवाउने गरेको खानाको विषयमा समेत बेरुजु देखिएको छ। हुमागाईंले यो आर्थिक वर्षमा बेरुजु फस्र्योटको वर्षका रूपमा मनाउने बताए। ‘कसरी हुन्छ हामी बेरुजु फस्र्योट गर्ने तयारीमा छौँ,’ उनले भने। अधिकांश बेरुजु सैद्धान्तिक रहेको, केही असुलउपर गर्नुपर्ने र केही पेस्की लगेको रकममा बेरुजु रहेको हुमागाईंको भनाइ छ। त्रिविले इकाइगत बेरुजु फस्र्योटलाई समेत अघि बढाएको छ।

त्रिविको बजेट १९ अर्ब

त्रिवि सभाले आव ०७४-७५ का लागि १९ अर्ब ३१ करोड सात लाख ५८ हजार रुपैयाँको बजेट पारित गरेको छ। प्रधानमन्त्री एवं त्रिवि कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले पुनर्निर्माणबाहेकको १९ अर्बभन्दा बढीको बजेट पारित गरेको हो। अघिल्लो वर्ष पुनर्निर्माणसहित १८ अर्बको बजेट विनियोजन भएको थियो। नियमित कार्यक्रमतर्फ १० अर्ब ८२ करोड ५० लाख २२ हजार रुपैयाँ रहेको छ। त्यसैगरी, पुँजीगत खर्च आठ अर्ब पाँच करोड ७२ लाख ३६ हजार र विकास कार्यक्रममा ४२ करोड ८५ लाख रुपैयाँ रहेको छ।

कहिले कति भयो बेरुजु फस्र्योट ?

केही वर्षयता त्रिविले बेरुजु फस्र्योटको प्रयास गरेको छ। बेरुजु फस्र्योट तथा अनुगमन समितिको तथ्यांकअनुसार आव ०७२-७३ मा कुल १२ अर्ब ५७ करोज ३० लाख ५० हजार रुपैयाँ बेरुजु रहेको थियो। गत आवमा एक अर्ब ५९ करोड ३० लाख ५८ हजार फस्र्योट भएको थियो। सो आवसम्मको बाँकी १० अर्ब ५७ करोड ९९ लाख ९२ हजार रहेकामा ४३ करोड ८७ लाख ९१ हजार संपरीक्षणका क्रममा रहेको त्रिविले जनाएको छ। ०७३-७४ मा पुनः बेरुजु दुई अर्ब १० करोड ३९ लाख ४१ हजार थप भई १३ अर्ब ८ करोड ३९ लाख ३३ हजार रुपैयाँ पुगेको हो। त्रिविले आव ०७२-७३ मा पेस्की फस्र्योटतर्फ २७ करोड तीन लाख ४७ हजार दुई सय २८ रुपैयाँ असुलउपर गरेको थियो। त्रिविले अब बेरुजु र पेस्कीको मात्रा न्यून गर्नेसमेत जनाएको छ। नयाँ पत्रिकाबाट ।

ताजा खबर