एक पटक पुग्नैपर्ने गोसाइँकुण्ड

२०७५ चैत २६ मंगलबार १३:१९:०० मा प्रकाशित

रसुवा जिल्लामा अवस्थित गोसाइँकुण्ड धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको छ । समुद्री सतहभन्दा ४,३८० मिटरको उचाईंमा रहेको गोसाइँकुण्डको वरिपरि अन्य १०८ वटा कुण्ड रहेका छन् ।

लाङटाङ राष्ट्रिय निकुञ्ज भित्रको यस पवित्र स्थललाई सन् २००७ को सेप्टेम्बर महिनामा रामसार क्षेत्रमा समावेश गरिएको थियो । यहाँको मुख्य कुण्डलाई शिवकुण्ड भनिन्छ भने त्यहाँ पार्वती कुण्ड पनि रहेको छ ।

धार्मिक–पौराणिकस्थल गोसाइँकुण्ड पछिल्लो समय विदेशी पर्यटकको लागि पनि आकर्षण बन्न सफल भएको छ । हरेक वर्ष दशहरा र रक्षाबन्धनका अवसरमा यहाँ विशेष मेला लाग्ने गरेको छ  ।

पौराणिक कथाहरुका अनुसार अनादिकालमा समुद्रमन्थनको बेला हलाहल विष निस्कीएको र भगवान शिवजीले उक्त विष घाँटीमा लिएको बताइन्छ । विषको सेवनबाट डाह भई शीतलता प्राप्त गर्न शिवजीले पार्वतीको माइती हिमालय पर्वतमा जान हिँडेका बेलामा नीलाद्री पर्वतमा त्रिशूल रोप्दा पानीको तीनधारा बगेको उल्लेख छ ।

सो पानीले शिवजीलाई शान्त बनाएको र त्यहि पानी नीलखेतमा जमेर गोसाइँकुण्ड उत्पत्ति भएको मान्यता रहि आएको छ । स्थानीयहरु शिवजीले त्यहि कुण्डमा शयन गरेको र अहिले पनि त्यसको आकृति देख्न सकिने बताइरहेका छन् ।

त्यस क्षेत्रसम्म पुग्न गरिने हाइकिङ र यात्राको क्रममा देखिने सुन्दर दृश्यले सबैलाई मोहित पार्ने बताइन्छ । पर्यटन वर्ष २०२० मा गोसाइँकुण्डले प्रशस्तै पर्यटकलाई तान्ने विश्वास गरिएको छ ।

यसरी जान सकिन्छ गोसाइँकुण्ड

गोसाइँकुण्ड यात्रा सुन्दरीजल अथवा त्रिशूली दुबै स्थानबाट जान सकिन्छ । तथापी सुन्दरीजलको बाटो छोटो मानिन्छ । सुन्दरीजलको बाटो हिड्दा पहेँलो र रातो रंगाको कमेरे माटोको चिप्लो बाटो हुँदै यात्रा गर्नुपर्दछ । यसरी यात्रा गर्दा मुलखर्क हुँदै बोड्लाङ भन्ज्याङसम्म पुग्न सकिन्छ । । यो भञ्ज्याङ काटेर अझै उकालो लागेपछि चिसापानी पुगिन्छ । चिसापानीबाट कुटुम्साङ हुँदै लाङटाङ राष्ट्रिय निकुञ्ज प्रवेश गर्दै थारेपाटी पुगिन्छ ।

यहाँबाट तामाङहरूको वस्ती गोल्फू छेपार हुँदै गोलभन्ज्याङ पुग्न सकिन्छ । । त्यसपछि पाटीभन्ज्याङ हुँदै थारेपाटी र स्याउको गाउँ तार्केघ्याङ पुगिन्छ ।  त्यसपछि ठाडेपाटी हुँदै उत्तरको रालो झर्ने अनि तेर्सो हिँडेपछि शुरु हुन्छ लौरीविनाको उकालो ।

यसरी यात्राको क्रममा पहिलो कुण्डको भेट ‘सूर्यकुण्ड’ सँग हुन्छ । त्यहाँबाट केही तल झरेपछि आइपुग्छ, ‘गोसाइँकुण्ड’ । यो कुण्डमा शिवको आकृतिको मूर्ति जस्तो गेरु रङको चट्टान देखिन्छ । गोसाइँकुण्डका वरिपरि नौ कुण्ड छन् भने त्योभन्दा माथि पश्चिमपट्टि पाँच कुण्ड छन् । गोसाइँकुण्ड त्रिशूली नदीको उद्गम हो। विषले निस्लोट भएका शिवले जमीनमा गाडेको त्रिशूलबाट तीनवटा जलधारा निस्केको विश्वास गरिन्छ, जुन पानीको नदीलाई त्रिशूली भनिन्छ ।

गोसाइँकुण्ड स्नान गरेर तल र्झ्दै गर्दा भैरवरनाग कुण्ड देखिन्छ । फर्किने क्रममा चन्दनबारी घ्याङ हुँदै धुन्चे पुग्न सकिन्छ ।  धुञ्चेबाट गाडी मार्फत् काठमाडौं आउन सकिन्छ ।

 

ताजा खबर