चुनाव लाग्यो हेमा मालिनीलाई, चलाइन् ट्रयाक्टर

२०७५ चैत २४ आइतबार १६:३७:०० मा प्रकाशित

एजेन्सी । बलिउडकी चर्चित पूर्व अभिनेत्री हेमा मालिनी अहिले भारतीय राजनीतिमा सक्रिय छिन् ।

भारतको आगामी लोकसभा चुनावमा मथुरा क्षेत्रबाट चुनाव लड्ने पक्का भइसकेकी नायिका चुनावी प्रयोजनको लागि कृषकको खेतमा नै पुगेकी छिन् । यसअघि सन् २०१४ मा पनि भारतीय जनता पार्टी (भाजपा) को तर्फबाट उनले यहि क्षेत्रबाट चुनाव जिती विधायक बनेकी थिइन् ।

उनले यसपटकको चुनावी रणनीति अनुरुप वृन्दावनबाट १० किलोमिटर परको क्षेत्रमा गइ ट्रयाक्टर चलाउँदै गहुँ काटेकी छिन् । साडी सुसज्जीत भएर खेतमा गएकी हेमाको तस्विरहरु सामाजिक संजालमा भाइरल हुने क्रममा छ ।

उक्त तस्विरमा हेमाकी पुत्री ईशा देवलले गरेको कमेन्ट पनि चर्चित बनेको छ । ‘बसन्ती समयको साथ अघि बढ्दै छिन्, टाँगाबाट ट्रयाक्टरसम्म’ भन्दै ईशाले सामाजिक संजालमा प्रतिक्रिया दिएकी छिन् ।

हेमा मालिनीले ‘शोले’ फिल्ममा निभाएको भुमिका बसन्ती अति चर्चित थियो । सोही चरित्रलाई जोड्दै ईशाले यस्तो कमेन्ट गरेको बुझिएको छ ।  

केहिले भने हेमाको यो कार्यलाई नौटंकी भनेका छन् । चुनावमा गहुँ काटेर देखाउँदैमा चुनाव नजितिने पनि उनिहरुको भनाइ रहेको छ ।

 

ताजा खबर