मुक्तिनाथः पवित्र र रोमाञ्चक पर्यटकीय क्षेत्र

२०७५ चैत २४ आइतबार १३:१३:०० मा प्रकाशित

प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मुस्ताङको मुक्तिनाथ घुम्दै मनोरञ्जन लिन तथा धर्मप्रतीको आस्था व्यक्त गर्न स्वदेशी लगायत विदेशी पर्यटक जाने गरेका छन् ।

मुक्तिनाथ दर्शनले मनोकांक्षा पूरा हुने विश्वासमा वर्षेनी ठूलो सङ्ख्यामा नेपाली तथा भारतीय तीर्थयात्री मुक्तिनाथ आउने गर्दछन् । भारतीयहरु मुक्तिनाथलाई पवित्र तीर्थस्थलका रुपमा लिन्छन् ।

मुक्तिनाथ मन्दिरको दर्शन गरेमा ‘मोक्ष’ प्राप्त हुने जनविश्वास पनि छ । बौद्ध धर्मावलम्बी भने करुणाका अवतार अवलोकितेश्वरका रुपमा मान्छन् । त्यस्तै पश्चिमा मुलुकका नागरिकहरु भने त्यस क्षेत्रको सुन्दरता अवलोकनको लागि त्यहाँ पुग्ने गरेका छन् ।

स्थानीयहरुको भनाइमा मुक्तिनाथस्थल रहेको मुस्ताङ घुम्नेमा नेपालीपछि भारतीय पर्यटक बढी रहेको बताए । अधिकांश भारतीय पर्यटक तीर्थयात्राको उद्देश्यले मुक्तिनाथ आउने गरेको उनको भनाइ छ । पर्यटकीय सिजनमा दैनिक सयौँ भारतीय पर्यटक मुस्ताङ प्रवेश गर्ने गरेका छन् ।

पोखरादेखि हवाई र सडकमार्ग हुँदै भारतीय पर्यटक मुक्तिनाथ पुग्ने गर्छन् । हवाइमार्गबाट जाँदा जोमसोमसम्म मात्र जान सकिन्छ । वर्षका मुख्य दुई पर्यटकीय याममा पर्यटकको चाप बढ्ने गरेको मुक्तिनाथका होटल व्यवसायीहरु बताउँछन् । असोजदेखि मंसिरसम्म र चैतदेखि जेठसम्म मुक्तिनाथमा पर्यटकीय चहलपहल बढी हुने उनको भनाइ छ । अन्य समयमा मुस्ताङका गन्तव्यमा छिटफुट रुपमा पर्यटक देखिने गर्छन् ।

संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्ने अन्नपूर्ण पदमार्ग क्षेत्रमा पर्ने भएकाले पनि मुक्तिनाथको प्रसिद्धि चुलिएको हो । मुस्ताङ र मनाङ जोड्ने चर्चित ‘थोरङ्ला पास’ जाने पर्यटक पनि मुक्तिनाथ भएर जाने गर्छन् ।

मुक्तिनाथ हिन्दू मात्र नभएर बौद्ध धर्मावलम्बीको पनि तीर्थस्थलका रुपमा परिचित छ । मुक्तिनाथलाई हिन्दूले मुक्तिक्षेत्र र बौद्धमार्गीले तिब्बती भाषामा (छुमिङ ग्यास्ता) अर्थात् सय पानीका रुपमा लिने गर्छन् । समुद्री सतहदेखि तीन हजार ८०० मिटरको उचाइमा अवस्थित मुक्तिनाथ मन्दिर शालिग्राम भगवान्का कारण पनि प्रसिद्ध छ ।

मुक्तिक्षेत्र भएर बहने कालीगण्डकी नदीमा मात्र पाइने पवित्र शिला शालिग्रामलाई विष्णु भगवान्को प्रतीकका रुपमा पुज्ने चलन छ । मनोकांक्षा पूरा हुनाका साथै पितृ उद्धारको विश्वासमा तीर्थयात्री मुक्तिनाथ आउने गरेको मन्दिरका पुजारीहरु बताउँछन् ।

सन् २०२० को पर्यटन वर्षमा नेपाल घुम्न आएका पर्यटकहरुलाई मुक्तिक्षेत्रको बारेमा बताउन सके त्यहाँ जाने अन्य मुलुकका पर्यटक पनि बढ्ने यस क्षेत्रमा व्यवसाय गरिरहेका व्यक्तिहरु बताउँछन्  ।

धर्मको लागि मात्र नभइ प्रकृतिको अनुपन वरदान दर्शन गर्नको लागि पनि यो क्षेत्रले नाम कमाइ रहेको छ ।

काठमाडौंबाट जाने पर्यटकहरु पोखरा–बाग्लुङ–जोमसोम हुँदै मुक्तिनाथ जान सक्छन् । ठुलो संख्यामा मानिसहरु आउने जाने गरिरहेकोले पनि यो क्षेत्रमा जान सजिलो रहेको बताइन्छ ।

 

ताजा खबर