इलाममा दुइ दिने साहित्य महोत्सव शुरु : नेपाली भाषाले एकता बलियो बनाएको नेम्बाड.को भनाई

२०७५ चैत २४ आइतबार १०:४१:०० मा प्रकाशित

इलाम, २४ चैत । इलामको देउमाई नगरपालिकाको मंगलबारेमा ‘देउमाई साहित्य महोत्सव २०७५’ शुरु भएको छ  । दुइ दिने साहित्य महोत्सव उद्घाटन गर्दै पूर्व सभामुख तथा नेकपाका नेता सुवासचन्द्र नेम्वाङले नेपाली भाषाले सवैलाई एकतामा बाँधेको बताएका छन् । अन्य मातृ भाषाको सरंक्षणले मात्र नेपाली भाषा समृद्ध बन्ने उनले बताए ।  

फरक प्रसंगमा उनले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहलाई पनि राजनितिको मुल धारमा आउन आग्रह गरेका छन् । उनले विप्लब माओवादी हिंडेको बाटो देश र स्वयं माओवादी पार्टीलाई उपयुक्त नभएको बताएका छन् ।

देउमाई साहित्य महोत्सवमा प्रा डा. अभि सुवेदीले राजधानी र मोफसलको साहित्यको बारेमा चर्चा गरे । त्यस्तै मदन पुरस्कार विजेता नारायण वाग्ले, एपीवान टेलिभिजनका प्रधान सम्पादक टीकाराम यात्री, मदन पुरस्कार विजेता राजन मुकारुङ समेतले प्यानल छलफलमा भाग लिएका थिए  ।

महोत्सवमा स्थानिय भाषा र साहित्य ,समकालीन साहित्य , सार्वजनिक जीवनमा महिला कति सकस कति सुविधा ,युवा अवसर र नेतृत्व , साहित्य र राजनीतिका विषयमा प्रवचन प्रस्तुति हुने भएको छ ।

महोत्सवमा साहित्यकार, कलाकार, पत्रकार, लेखक, विश्लेषक लगायतको उल्लेख्य उपस्थिती रहेको आयोजक समाजका लागि युवा का अध्यक्ष मोती गौतमले बताए । महोत्सवको दोस्रो दिन योगेश भट्टराई , प्रदिप पौडेल समेतका युवा नेतृत्वहरुको विचार प्रस्तुति हुने बताइएको छ ।

कार्यक्रममा प्रदेशका प्रख्यात कविहरुले एक घण्टा कविता सुनाउने कार्यक्रम छ ।

 

ताजा खबर