तीन हजारले अवलोकन गरे शुक्लाफाँटा निकुञ्ज

२०७५ चैत २२ शुक्रबार ११:०६:०० मा प्रकाशित


कञ्चनपुर, २२ चैत । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको शुक्लाफाँटा पर्यटन महोत्सवमा तीन हजार ३०० ले निकुञ्जको अवलोकन भ्रमण गरेका छन् ।
 
मोहत्सवका क्रममा मन्त्री, सांसद, उद्यमी व्यवसायी, बुद्धिजीवीसहित छिमेकी देश भारतका पर्यटकले निकुञ्ज भ्रमण गरेका हुन् । निकुञ्ज भ्रमणका क्रममा छ दिनमा १४५ सवारीसाधान निकुञ्ज प्रवेश गरेका महोत्सव मूल आयोजक समितिका संयोजक भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले बताए ।

बाह्रसिङ्गाको झुण्ड, घाँसेमैदान, निकुञ्जभित्रका तालतलैया, हात्तीसार, मयुरको नृत्यको मनोरम दृश्य, सीमसार, तालतलैयामा चराको चहलपलह अवलोकनकर्ताको रोजाइमा परेका छन् । नगरपालिकाले निकुञ्ज भ्रमण गर्ने कर्मचारीलाई एक दिनको बिदा दिने व्यवस्था गरेपछि कर्मचारीले पनि निकुञ्ज घुम्ने मौका पाएका छन् ।
 
नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी निकुञ्जको प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिएको हो । यस अघि विसं २०७२ मा नेपाल टुर एण्ड ट्राभल्स एजेन्सी (नाटा) ले पहिलोपटक महोत्सव आयोजना गरेको थियो । पहिलोपटक आयोजना गरिएको यही महोत्सवलाई निरन्तरता दिने गरी नगरपालिकाको संयोजनमा सबै स्थानीय तह र सरोकारवालाले संयुक्तरूपमा महोत्सव गरेको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई निकुञ्ज घुमाउने उद्देश्य राखेर आयोजना गरिएको महोत्सवलाई आगामी वर्षदेखि निरन्तरता दिइने भएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौडेलले पर्यटक सङ्ख्या न्यून आउने भएकाले महोत्सवबाट निकुञ्जको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको बताए । “महोत्सवका माध्यमबाट प्रचारप्रसार भएको छ”, उनले भने, “यसले गर्दा पर्यटक आवागमनमा वृद्धि हुने विश्वास लिएका छौँ ।” 

 

ताजा खबर