यस्तो छ कमेडियन कपिल शर्माको सम्पत्ति विवरण

२०७५ चैत २१ बिहीबार १२:४२:०० मा प्रकाशित

एजेन्सी । कमेडियनको रुपमा कपिल शर्माको आगमनपछि भारतमा कमेडीको परिभाषा नै परिवर्तन भएको मानिने गरेको छ ।

‘स्ट्याण्ड अप’ कमेडियनको रुपमा कपिल स्थापित हुनुअघि भारतमा पाकिस्तानी कमेडियनहरुको बाहुल्यता हुने गरेको थियो । फिल्ममा छोटो रोलहरु देखिने कमेडियन बाहेक भारतमा खासै स्थापित कमेडियन नै हुने गरेको थिएन ।

सन् २००७ मा ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ प्रतियोगितामा आइ उपाधि नै जितेर भारतीय कमेडीमा आधिपत्य जमाइरहेका कमेडियन कपिल शर्मा पछिल्लो समय बलिउडका स्थापित कलाकारको हाराहारीमा आइसकेका छन् ।

सोसल मिडियामा फलोअरको आधारमा मात्र नभइ कमाइको आधारमा पनि धेरै बलिउडका स्टारलाई पछि पारेका कपिलले सन् २००७ को कमेडि शो जिते बापत् १० लाख भारु जितेका थिए ।

त्यसयता स्टेज शो, ठुलाबडाहरुको विवाहहरुमा ‘स्ट्याण्ड अप’ कमेडी, विज्ञापन हुँदै हाल आफ्नै शो चलाइरहेका कपिल धेरै कमाउनेहरुको सूचीमा अघि आइसकेका छन् । सन् २०१६ को फोब्र्सको सूची अनुसार उनि धेरै कमाउने बलिउड स्टार मध्ये २७ औं स्थानमा थिए भने अहिले त्यो आँकडा अझै सुधार भएको बताइन्छ ।

पछिल्लो समय उनले एक ट्वीट मार्फत् आफुले वार्षिक १५ करोड भारु आम्दानी कर बुझाउने गरेको खुलासा गरेका थिए ।

हाल कपिलले विभिन्न ब्रान्डको विज्ञापन, ब्रान्ड एम्बेसडर, स्टेज शो लगायतको काम तथा आफ्नो शो बाट मोटो रकम कमाइरहेका छन् । उनले स्टेज शो को मात्र ७५ लाख भारु लिने गरेको थाहा भएको छ ।

पछिल्लो विवरणहरुको अनुसार कपिलको कुल सम्पत्ती अहिले १ अर्ब ४५ करोड भारु रहेको छ । उनको पछिल्लो वर्षको आयमा ३८० प्रतिशत वृद्धि भएको पनि बताइन्छ ।

उनीसँग हाल महँगो एसयूभी गाडी तथा आफ्नै भेनिटी भ्यान रहेको छ । उक्त भ्यानको मूल्य ५ करोड ५० लाख भारु पर्ने बताइएको छ ।  

 

ताजा खबर