गुल्मी सांस्कृतिक एवं पर्यटन महोत्सव शुरु

२०७५ चैत २१ बिहीबार १०:४५:०० मा प्रकाशित


तम्घास, २१ चैत ।  ‘गुल्मीको समृद्धिका मुख्य आधार, संस्कृति, संरक्षण एवं पर्यटन विकासमा पुर्वाधार’ भन्ने नाराका साथ बुधबारदेखि गुल्मीमा प्रथम गुल्मी सांस्कृतिक एवं पर्यटन महोत्सव तथा व्यापार मेला शुरु भएको छ ।
 
जिल्लाको धार्मिक एवं पर्यटकीय क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले गुल्मी चेम्बर अफ कमर्शको आयोजना र स्थानीय एक दर्जन सङ्घसंस्थाको सहयोगमा उक्त महोत्सवको आयोजना गरिएको हो । महोत्सव सञ्चालनको पूर्वसन्ध्यामा जिल्लामा विभिन्न सङ्घसंस्थाले स्थानीय संस्कृति, भेषभूषा, रीतिरिवाज र परम्परा झल्किने विभिन्न झाँकी र पञ्चे बाजागाजासहित बजार परिक्रमा गरिएको थियो ।
 
महोत्सवमा जिल्लाका स्थानीय तहलाई आफ्ना उत्पादन प्रदर्शनी र बिक्रीवितरण गर्न निःशुल्क रुपमा छुट्टाछुट्टै स्टल उपलब्ध गराइएको छ । महोत्सवमा उपलब्ध गराइएको स्टलमा स्थानीय उत्पादनदेखि बोयर जातको बोका र स्थानीय बोकासमेत महोत्सव प्रर्दशनीका मुख्य आकर्षकको रुपमा रहेका छन् । त्यसैगरी महोत्सवमा बुल्मको सेरामिक्सबाट उत्पादन गरिएका विभिन्न प्रकारका माटाका भाँडाकुँडा, परालबाट निर्मित सामग्री, हस्तकलाका सामग्री, उखुको रसबाट निर्मित गुँड, खुदोलगायत जिल्लाका १२ वटै स्थानीय तहमा रहेका धार्मिक एवं पर्यटकीयस्थानको वृत्तचित्रसमेत प्रदर्शनीका थप आकर्षकको रुपमा रहेका छन् ।
 
महोत्सवमा अतिथिलाई खादा, दोसल्ला, ब्याच र प्रमाणपत्र निषेध गरिएको छ । अतिथिलाई पिपलको पातमा लेखिएको ब्याच, गुल्मीको कफी र गुँडलाई मायाको चिनो स्वरुप उपहारको रुपमा प्रदान गरिएको छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन र प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवमा अतिथिलाई स्वागत गर्ने तरिकामा परिवर्तन गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक युवराज न्यौपानेले बताए ।
महोत्सवमा नेपाली सेनाको वीरभद्रजङ्ग गुल्म २२ बाहिनीको तर्फबाट मौलिक ऐतिहासिक सरायँनाच प्रस्तुत गरिएको थियो । महोत्सवमा अपाङ्गता भएका र ७० वर्षभन्दा माथिका वृद्धवृद्धालाई निःशुल्क रुपमा टिकटको व्यवस्था गरिएको छ ।
 
महोत्सव उद्घाटन सत्रमा रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले जिल्लाको संस्कृति एवं पर्यटन प्रवद्र्धनमा यस्ता महोत्सवले ठूलो महत्व राख्ने र त्यसले स्थानीय उत्पादनको संरक्षण र प्रवद्र्धन गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सहयोग पु¥याउने बताए ।
 
चैत २० गतेदेखि ३० गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा सङ्कलित बचत रकममध्ये ४० प्रतिशत सामाजिक विकास र ६० प्रतिशत संस्थागत विकासमा खर्च गरिने गुल्मी चेम्बर अफ कमर्शका अध्यक्ष युवराज न्यौपानेले जानकारी दिए ।

ताजा खबर