धार्मिक पर्यटकीय गन्तव्य छायाँमा 

२०७५ चैत २० बुधबार १०:५४:०० मा प्रकाशित

पाल्पा, २० चैत । बगनासकाली गाउँपालिका–८ घिउसीबाँसस्थित धार्मिक पर्यटकीय गन्तव्यका रुपमा रहेको सिद्धबाबा ओमधाम क्षेत्रको प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ । एक सय आठ पिपल र १०८ शिवलिङ्ग रहेको सिद्धबाबाको मन्दिर धार्मिक पर्यटनका लागि उचित गन्तव्यका रुपमा रहेकोे 

स्थानीय राजेन्द्र बस्यालका अनुसार ९०० रोपनी घनाजङ्गल क्षेत्रमा रहेको मन्दिरमा तपस्या गर्नेलाई शान्त वातावरण छ । पिपलले घेरिएको मन्दिर सुन्दर र आकर्षक देखिन्छ तर पर्यटक आकर्षणका लागि पहल हुन नसक्दा यस क्षेत्र ओझेलमा परेको हो । कालीगण्डकी नदीदेखि नजिक रहेको मन्दिरको महत्वबारे प्रचारप्रसार हुन नसक्दा पर्यटक आगमनमा कमी आएको बस्यालले बताए।

पहिला यस क्षेत्र गाईभैँसीपालन गर्ने क्षेत्र थियो । हराएको भैँसी फेला पार्न मन्दिरमा भाकल गरेपछि भेटिएको किंवदन्ती छ । बस्यालका अनुसार हराएको भँैसी भेटिएपछि मन्दिरप्रति विश्वास जागेर मानिस वैशाखको शनिबार र साउनमा सोमबार मन्दिरमा पूजा गर्न आउँछन् । यी दिनमा दैनिक सय बढी भक्तालु यस क्षेत्रमा पुग्दा चहलपहल हुने गर्दछ । महाशिवरात्रिका अवसरमा विशेष मेला लाग्दछ ।

मन्दिरका पूर्वअध्यक्ष तथा सल्लाहकार युवराज गैरेले ऐतिहासिक महत्व बोकेको यस क्षेलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन राज्यबाट सहयोगको आवश्यक रहेको बताए। पर्याप्त बजेट अभावमा थप भौतिक संरचनाको विकास गर्न सरकारको सहयोग आवश्यक रहेको सल्लाहकार गैरेको भनाइ छ । रासस

ताजा खबर