रमणीय म्याग्दीका अनेक आकर्षण

२०७५ चैत १८ सोमबार १५:२४:०० मा प्रकाशित

हिमालपारिको जिल्ला मुस्ताङको प्रवेशद्वारको रुपमा रहेको म्याग्दी जिल्ला रमणीय पर्यटकीय स्थल हो । विश्व चर्चित पून हिल र घोरेपानीले यस क्षेत्रलाई आकर्षक बनाएको छ । 

प्राकृतिक सुन्दरताले भरिपूर्ण म्याग्दीले पर्यटनमा अथाह सम्भावना बोकेको छ । आउँदै गरेको पर्यटन वर्ष २०२० मा म्याग्दी पनि पर्यटकको रोजाइमा पर्न सक्ने व्यवसायीहरु भन्ने गर्छन् ।  

म्याग्दीमा दर्जनौँ हिमाल रहेका छन् । मनोरम भू–बनोट तथा पृथक कला तथा संस्कृतिले यस ठाउँलाई घुम्न योग्य बनाउनुका साथै यहाँ रहेका ऐतिहासिक स्थलहरुका कारण पर्यटन यस जिल्लाको बलियो पाटो हो । 

विश्वकोे सातौँ अग्लो शिखर धौलागिरि हिमाल (८,१६७ मिटर) अवस्थित म्याग्दीमा अन्नपूर्ण प्रथम, चुरेन, गुर्जा, मानापाथी, पुठा, बराह शिखरलगायत दर्जनौं हिमशृङ्खला रहेका छन् ।

मुस्ताङको प्रवेश द्वारको रुपमा समेत रहेको म्याग्दीमा हिमालहरुसँगै अग्ला झरना, तालतलैया, धार्मिक र ऐतिहासिक सम्पदाहरुसमेत छन् । यहाँ भ्रमण गर्न आउने पर्यटकले लामो यात्रामा राउण्ड धौलागिरि, अन्नपूर्ण आधार शिविर, अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग, गुरिल्ला पदमार्ग, धौलागिरि आइसफल, धौलागिरि सेञ्चुरी, पश्चिम धौलागिरिलगायतका पदमार्गको भम्रण गर्न सक्छन् ।

यी पदमार्गको भम्रणमा एक सातादेखि दुई साताभन्दा बढी समय खर्चिनुपर्छ । छोटो दूरीमा दुईदेखि पाँच दिनसम्मको यात्रामा आउने पर्यटकहरु घोडेपानी पुनहिल, फुलवारी, करबाकेली, खोप्रा, मोहोरडाँडा, टोड्के, जगन्नाथ, रुइसे, भेडीओढार, रिखार, स्वर्गाश्रम, बेलढुंगा, बेगको नेपालकै लामो झोलुङ्गे पुल, रुप्से झरना, अन्ध गल्छी, रुमको दुरलेक, भालेबास्ने ताल, मालिका धुरी, लुकेको बस्ती गुर्जा, हिमालको काखमा रहेको मुदी, तातोपानी कुण्डहरुमा पुग्न सक्छन् ।

त्यसैगरी, नौलीबराह, खयरभारनी, नागी बराही, पेरी भारनी, निस्कोट बराहीलगायतका तालतलैयाहरु पनि यहाँ छन् । 

आधुनिक बसाइँको व्यवस्थासँग खानपिनको सुविधामा पनि अब्बल बन्दै गइरहेको म्याग्दीले पर्यटकलाई चाहिने हरेक सुविधा उपलब्ध गराउने दाबी गर्ने गरिएको छ । 

सडकमार्गबाट सहजै पुग्न सकिने म्याग्दी पर्यटकको रोजाइमा पर्ने गरेको ट्राभल तथा टुर व्यवसायीहरु बताउँछन् । 
 

 

ताजा खबर