गुराँस क्षेत्रमा पर्यटकको आकर्षण

२०७५ चैत १७ आइतबार १२:१४:०० मा प्रकाशित

गुराँसको राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढेको छ । सरकारले केही समयअघि घोषणा गरेको नेपालका उत्कृष्ठ सय पर्यटकीय गन्तव्यको सुचीमा समेटिएको उक्त क्षेत्र एकै स्थानमा २८ प्रजातिका गुराँस पाइने भएकाले चर्चित छ ।

तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल क्षेत्रमा पर्ने टिएमजे क्षेत्रको जैविक विविधता संरक्षण र पर्यटन प्रवद्र्धनका लागि लामो समयदेखि काम हुँदै आएको छ ।

पर्यटन वर्ष २०२० मा यस क्षेत्रले पर्यटकलाई आकर्षित गर्ने जानकारहरुको भनाइ रहेको छ ।  

प्रदेश १ का सांसद लक्ष्मण तिवारीका अनुसार यो क्षेत्रलाई समुदायमा आधारित संरक्षण क्षेत्र घोषणा गरी पर्यटकीय गन्तव्यका रुपमा बिकास गर्न माग हुँदै आएको छ ।

तीन जिल्लामा फैलिएको लेकाली बन, नागी र घाँसे क्षेत्र समेटिएको यो क्षेत्र  लोपोन्मुख वन्यजन्तु र जडिबुटी पाइने स्थान समेत हो । सरकारले यो क्षेत्रलाई वातावरण सरक्षण ऐन २०५३ अनुसार ०५५ सालमा संरक्षण क्षेत्र घोषणा गरेको थियो । स्थानीयले यो घोषणा खारेज गरी वन ऐनअन्तर्गत समुदायमा आधारित संरक्षण क्षेत्र घोषणा गर्न माग गर्दै आएका थिए ।

टिएमजे क्षेत्रमा ३८ हजार ५ सय ९० हेक्टर घना वन, ६ हजार ९ सय ६१ घाँसे मैदान, ४ सय ४२ हेक्टर खाली जमिन, ११ हजार ६ सय ४४ हेक्टर आवादी जमिन, ६ दशमलव ३ हेक्टर सिमसार, ५ सय ८७ हेक्टर हिउँ परिरहने क्षेत्र रहेको तेह्रथुमस्थित डिभिजन बन कार्यालयको तथ्यांक छ ।

त्यसमध्ये ८ हजार ८ सय ७४ हेक्टर क्षेत्रफलमा गुराँस वन छ । यो क्षेत्रमा १३ जलाधार क्षेत्र र ३३ वटा पोखरी छन् ।

गुराँस क्षेत्रसहित प्रदेश १ का १४ वटै जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल गन्तव्य सूचीमा समेटिएका छन् । ताप्लेजुङको पाथीभरा र फुङफुङे झरना, तिम्बुङ पोखरीलाई नयाँ तथा विकास गरिनुपर्ने पर्यटकीय गन्तव्यको सुचीमा राखिएको छ ।

इलामको सन्दकपुर गाउँपालिकामा रहेको सन्दकपुर माइपोखरी क्षेत्रलाई भने स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने पर्यटकीय गन्तव्यको सुचीमा समेटिएको छ । संखुवासभाको अरुण उपत्यकालाई मन्त्रालयले स्थापीत तथा प्रबद्र्धन गरिनुपर्ने सुचीमा राखेको छ ।

 

तस्विरः तेह्रथुमको गुराँस क्षेत्रमा घुम्न पुगेका पर्यटक ।

 

ताजा खबर