रारातालको महिमा यस्तो छ

२०७५ चैत १५ शुक्रबार १२:०७:०० मा प्रकाशित

प्रकृतिमा हुने सुन्दरताको अगाडि अन्य कृत्रिम सुन्दरता फिक्का नै हुन्छ । यो तथ्य राराताल पुग्नेले महसुस गर्ने गरेका छन् ।

समुद्र सतहदेखि २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा ताल मुगु जिल्लामा पर्दछ । पछिल्लो समय राराताल घुम्न जानेहरुको संख्या ह्वात्तै बढेको पाइन्छ ।
 
मुगु जिल्लाको सदरमुकाम गमगढिबाट करीब ३ घण्टा हिडेपछि रारातालको अद्भुद सुन्दरतासँग साक्षात्कार गर्न पाइन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफल भएको रारा तालको गहिराई १६७ मिटर रहेको छ ।

रारा ताल घुम्ने क्रममा रारा राष्ट्रिय निकुञ्जको मनमोहक सुन्दरतामा पनि भुल्न पाइन्छ । त्यहाँ पाइने कस्तुरी र रतुवा जस्ता वन्यजन्तुका साथै डाँफे लगायतका सुन्दर चराचुरुङगीले राराको घुमाइलाई अविस्मरणीय बनाउने गरेको छ ।

रारा तालमा पाइने हिमाली असला माछा पनि यहाँ विशेषता हो । त्यहाँबाट देखिने सैपाल हिमाल, सिस्ने हिमाल र कान्जिरोवाको दृश्य बयान गर्न शब्दहरुको कमि हुने बताइन्छ ।
 
जेठ देखि असोज महिनासम्म यस क्षेत्रमा फुल्ने फुलहरुले रारालाई दुलही झैं सुन्दर बनाउने गरेको छ । यस क्षेत्रमा घुम्नको लागि असोज देखि वैशाखसम्मको अवधिलाई उत्तम मानिन्छ । तथापी पुष माघमा अति चिसो हुने हुँदा त्यस अवधिमा राराको यात्रा कठिन भने हुन्छ ।

रारा यात्राको लागि जुम्लासम्म हवाइमार्गबाट गइ त्यहाँबाट यात्रा सुरु गर्न सकिन्छ । त्यसको लागि पहिलो दिन जुम्ला देखि पदमारासम्मको ट्रेकिङ गर्दा उपयुक्त हुन्छ । सो क्रममा देखिने स्थानीय सुन्दरता मनमोहक नै हुन्छ ।

दोश्रो दिन पदमाराबाट बुमारा, तेश्रोमा बुमराबाट पीने, अनि चौथो दिनको हिंडाइले पीने बाट रारा तालसम्मको यात्रा गर्दा उपयुक्त हुन्छ । यति दुख गरेर गएको रारामा कम्तिमा एक दिन बास बस्नु सुखद हुन्छ ।

फर्किने क्रममा राराताल बाट घोरसाइने, सिन्जा, चेरे चौर हुँदै चार दिनको हिंडाइमा जुम्ला आउन सकिन्छ । त्यहाँबाट हवाइ मार्ग हुँदै नेपालगंज अनि काठमाडौं फर्किन सकिन्छ ।
 
ट्रेकिङमा रमाउनेको लागि रारा तालको यात्रा अविस्मरणीय बन्ने गरेको बताइन्छ । पछिल्लो समय हेलिकप्टर मार्फत् पनि राराताल सम्मको यात्रा गरिने गरिएको छ ।

आगामी पर्यटन वर्ष २०२० को लागि यस सुन्दर रारातालले थुप्रै पर्यटकलाई आकर्षण गर्ने पर्यटन व्यवसायीहरु बताइरहेका छन् । यस्तो स्वर्गीय स्थान विश्वभरीका पर्यटकलाई देखाउन पाउनु नै खुसीको कुरा भएको उनीहरु बताउँछन् ।

 

 

ताजा खबर