अवसरवादीको घेरावन्दीमा परेको कांग्रेस र देउवा 

२०७५ चैत १३ बुधबार १५:२०:०० मा प्रकाशित

धतुराको बोटमा सयपत्री फुलाउन खोज्नु आफैंमा मूर्खतापूर्ण कुरा हो । सिस्नुघारीमा पस्ने, अनि सिस्नुले पोल्यो भनेर ‘आत्था’ भन्नु पनि बेकारै हो । त्यसैगरी दुध खुवाएर सर्पबाट अमृत पैदा हुन्छ भनेर आशा गर्नु झनै बहुलठ्ठीपन हो । शेरबहादुर देउवा नेतृत्वको वर्तमान नेपाली कांग्रेसबाट प्रजातान्त्रिक अभ्यास होला भनेर त्यस पार्टीका कार्यकर्ता एवं शुभ–चिन्तकले सोचेका हुन् भने यस्तो व्यर्थ चिन्तनमा समय फाल्नु बेकार हो । 
अर्कातिर शेरबहादुरलाई जिताउन मुख्य भूमिका खेलेका कृष्णप्रसाद सिटौला आजभोलि देउवाको खूब विरोध गर्दैछन् । एउटा बाँदरले रुखको एउटा हाँगो हल्लायो भने अर्को बाँदरले झन् बेस्सरी आफू बसेको हाँगो पनि हल्लाउँछ । यस्तो प्रतिस्पर्धाबाट रुखका दुईवटा हाँगा मात्र हैन रुख नै भाँचिन सक्छ । अहिले कांग्रेसभित्र देखिएको गालिगलौजका परिणाम बाँदर–कर्मजन्य परिणाम भन्दा केही फरक देखिँदैन । 

महासमिति बैठक कांग्रेसको विधान अनुसार केन्द्रीय समितिको बैठकभन्दा धेरै शक्तिशाली हो । महासमितिका सदस्यहरु दलको विधान निर्माता व्याख्याता एवं संशोधनकर्ता हुन् । महासमिति बैठकमा सदस्यहरुले गरेको निर्णय केन्द्रीय समितिका लागि अनिवार्य पालना गर्नुपर्ने आदेश हो । तर कांग्रेस केन्द्रीय समितिका सामन्तहरुले त्यो आदेश पालना गरेनन् । उल्टै लत्याइदिए । नेपाली कांग्रेस पार्टीको आवरणमा निरङ्कुश एवं गैर–लोकतान्त्रिक चरित्रको अभ्यास भइरहेको छ । 

आदर्श र त्यागका प्रतिमूर्ति गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई अट्न नसकेर जुनदिनदेखि पार्टीबाट बाहिरिनु भयो त्यही दिनबाट नेपाली कांग्रेस पार्टीको मौलिक लोकतान्त्रिक चरित्र र पहिचान गुम्दै जान थाल्यो । त्यसपछिका हरेक गतिविधिहरु गैर–लोकतान्त्रिक हुन थाले । केवल सत्ता एवं शक्तिका लागि राजनीतिक अभ्यास हुन थाल्यो । तश्करहरु, काला व्यापारीहरु एवं कमिशनखोरहरुको झुण्ड कांग्रेस नेताहरुका वरिपरि घुम्न    थाले । अनेक चाकडी अनि चाप्लुसीका भाषाबाट कांग्रेस–नेतृत्वलाई आफ्नो पक्षमा प्रयोग गर्न थाले । तिनै अराजनीतिक झुण्डलाई नेतृत्वले आफ्नो हितैषि कार्यकर्ता ठान्न थाल्यो । माओवादीको डरलाग्दा हिंसालाई थेगेर कांग्रेसको धरातल जोगाउन सफल वास्तविक कार्यकर्ताहरु नेताहरुको नजरमा अयोग्य एवं काम नलाग्ने ठहरिन थाले ।

 नेताहरुको घरमा मात्रै हैन पार्टी कार्यालयमा समेत देशलाई गैरकानूनी रुपले दोहन गरी अकूत धन आर्जन गर्ने तश्करहरुको उपस्थिति बाक्लो हुन थाल्यो । माओवादीको खुकुरीले अपाङ्ग भएका कार्यकर्ताले नेता भेट्न त कुरै छोडौं, नेताको तगारो देख्नसम्म पनि नपाउने परिस्थिति पैदा हुँदै    गयो । कोही युरोपियन यूनियनको पैसामा नेपालको संस्कृति माथि अतिक्रमण गर्ने एजेण्ट बन्न थाले भने कोही नेता दक्षिण तथा उत्तरतिरका वफादार कारिन्दा बन्न थाले । कांग्रेसको राजनीतिक, आर्थिक एवं लोकतान्त्रिक एजेण्डालाई लत्याउँदै कम्यनिष्ट एजेण्डामा रमाउने नालायकहरुको झुण्डले नेपाली कांग्रेसको मौलिक अस्तित्व नै समाप्त गरिदिएका छन् । 

नेपाली कांग्रेसमा रहेका अयोग्य, लुब्ध, चरित्रहीन, निष्ठारहित, वेइमान एवं अकर्मव्य व्यक्तिहरुको हातमा नेतृत्व पुगेका कारण सभ्य मानव समाजका लागि नसुहाउने कम्युनिष्ट राजनीति नेपालमा हाबी हुन पुग्यो । हत्या–हिंसाको अमानवीय राजनीति गरेका अधिनायकवादी कम्युनिष्टहरुको अशिष्ट एवं नृशंश शासनले नेपालको भविष्य नै धरापमा पर्ने संभावना बढीरहेको छ ।

कम्युनिष्ट शासनलाई मात्रै गाली गरेर संसदीय लोकतन्त्रमा प्रतिपक्षीलाई छाडा छोड्न सकिँदैन । सत्तापक्षको भन्दा पनि महत्वपूर्ण जिम्मेवारी प्रतिपक्षको हुन्छ । तर अहिलेको प्रतिपक्षको गतिविधि हेर्ने हो भने यति अनैतिक, निर्लज्ज, गैर–जिम्मेवार एवं अलोकतान्त्रिक चरित्र नेपाली कांग्रेसको इतिहासमा कहिल्यै थिएन । शेरबहादुर देउवासँग न त आचरण छ, न त विचार, न त निष्ठा देखिन्छ न त जिम्मेवारीबोध । यिनी त जति अनैतिक बनेर भएपनि सत्ता एवं पदमा टाँसिएर बस्ने एक लालची नेताका रुपमा चिनिए,उनका व्यवहारले नै देखाइदिएको छ । 

अर्कातिर उनीसँग सभापति लडेर झिनो मतले हारेका रामचन्द्र पौडेल अनिर्णयका बन्दी, बाहिर समाजवादका कुरा गर्ने तर व्यवहारमा चरम संकीर्ण, असहिष्णु, अडान नभएका निरीह नेताका रुपमा प्रस्तुत भएका छन् । कहिले शेरबहादुर देउवाको कार्यकर्ता जस्ता देखिन्छन् त कहिले पिंध नभएको लोटा गुल्टिएझैं गन्तव्यहीन दिशातर्फ लड्वडिन्छन् । पैत्रिक सम्पत्तीका रुपमा महामन्त्री हुन सफल भएका हुन् शशांक कोइराला । तर ती कोइरालासँग ‘पैत्रिक ब्राण्ड’ बाहेक अरु केही देखिएन । उनका बारेमा चर्चा गर्नु नै बेकार छ ।

अनेकौं गुट–उपगुटले क्षत–विक्षत भएका कांग्रेसमा पछिल्लो समय कृष्णप्रसाद सिटौलाले पनि आफ्नो गुट तयार गरिरहेका छन् । तर विगतमा शेरबहादुर देउवालाई जिताउन कुनै अदृश्य शक्तिको अरोटमा सभापतिको उम्मेद्वार भएका भनी उनीमाथि लागेको आरोपलाई मिथ्या भनिहाल्न पनि नसकिने देखिन्छ । स्व.गिरिजाप्रसाद कोइरालालाई समेत आफ्नो चातुर्यपूर्ण प्रतिभालाई दुरुपयोग गर्दै “मिसगाइड” गरेर नेपाली कांग्रेसको एजेण्डा समाप्त गर्ने र कम्युनिष्टसँग अनावश्यक रुपमा सहकार्य गरी नेपाल र नेपालीको स्वाभिमानलाई विव्रmी गराउन दलाली गरेको भनेर उनीमाथि लगाइने गरिएको आरोपलाई निराधार भन्ने कुनै आधार भेट्न सकिएको छैन ।

कांग्रेसभित्र युवाहरुको चर्चा पनि निकै हुने गर्छ । तर आजसम्म युवाहरुको प्रभाव शून्य नै छ । युवा नेताका रुपमा गगन थापाले केही आशा जगाउन खोजे पनि उनी समेत गुट–उपगुटको छुद्र राजनीतिबाट पूर्णतः अछुत रहन सकेनन् । त्यसैगरी मीठो बोल्ने, शालीन व्यवहार एवं सक्रिय देखिने विश्वप्रकाश शर्मा पनि व्यवहारमा अब्बल दरिन नसकेको देखिन्छ । मीठो बोल्न सक्ने, नैतिक चरित्र दरिलो भएका सुदूर–पश्चिमबाट उदाएका प्रखर वक्ता बद्रीप्रसाद पाण्डे पनि जाडोयामको फूल झैं फव्रिmनै नसकी वैलाउने हो कि भन्ने अवस्था देखिँदैछ ।

 त्यसैगरी विगतमा मन्त्री हुँदा आशलाग्दो गरी आफ्नो जिम्मेवारी सम्हालेर आजसम्म कतै पनि नैतिक रुपमा नचुकेका सरल एवं इमान्दार नेता नवीन्द्रराज जोशी “फ्रन्ट लाइन” मा आउन सकेको नै देखिएन । अरु केही आफूलाई सशक्त युवा नेता भन्नेहरु कि त रातो पासपोर्ट काण्डमा फसेका छन् कि त आफ्नै पार्टीका सभापति सन्त नेता कृष्णप्रसाद भट्टराईलाई हराउन खुलेआम लागेर कलंकित भईसकेका छन् । कतिपय आफ्नो मौलिक पहीचान भन्दा पनि कि त शेरबहादुरको कार्यकर्ता कि त अरु कोही नेताको “किचेन मेम्बर” हुनमा नै रमाइरहेका देखिन्छन् ।

यसरी हेर्दा नेपाली कांग्रेस इतिहासमै सबैभन्दा जटिल मोडमा आइपुगेको छ । अलि पुरानो पुस्ताका असल एवं इमान्दारहरु पार्टीमा टिक्नै नसकेर पाखा लागिसकेका छन् । प्रकाशमान सिंह, विमलेन्द्र निधि शेखर कोइराला लगायतका नेतामा पनि परिवर्तनगामी संवेग देख्न सकिएको छैन । विमलेन्द्र निधि अत्यन्त विवादित ‘होली वाइन’ काण्डमा चूँक्कसम्म बोलेनन् तर स्वभाविक परम्परा मुताविक अयोध्याबाट जनकपूर जन्ति आउने परम्परामा योगी आदित्यनाथ आउन लाग्दा उधुम विरोधमा उभिए । उनको यो व्यवहारले उनी पनि कसैका गोटी हुन् भन्ने आशंका गर्न नपाइने कुरा भएन । यसरी नेपाली कांग्रेस नेतृत्वको गंभीर संकटमा फसेको छ ।

 यो संकटबाट उत्रन जस्तोसुकै भएपनि अब युवा–पुस्ता अर्थात् गगन, बद्री, विश्वप्रकाश पुस्तामा नै नेतृत्व पु¥याउनुपर्छ । यो पुस्ताबाट कमसेकम भए पनि आशा गर्न सकिन्छ ।  उनीहरुलाई खारिने अवसर दिनुपर्छ । जिम्मेवारी दिएर राजनीति कमाउने या पद–विलासमा लठ्ठिने क्षेत्र हैन, यो त युगान्तकारी परिवर्तनको इतिहास रच्ने अवसर हो भन्ने महसुस गराउनु पर्छ । 
 

ताजा खबर