पशुपतिनाथमा अम्बाको पनि चन्दन

२०७५ चैत १२ मंगलबार ०७:५०:०० मा प्रकाशित

काठमाडौँ, १२ चैत । पशुपतिनाथमा श्रीखण्ड बाहेक अम्बा, धुपी, पारिजात, कपुर र भीमसेनपातीको डाँठ घोटेर पनि चन्दन बनाइन्छ । यो चन्दन बिक्री समेत हुने गरेको छ । पशुपतिनाथ मन्दिर परिसरको दक्षिण कृष्ण मन्दिरको भित्री कोठामा यस प्रकारको चन्दन बनाइन्छ । 

चन्दन घोट्ने हरि बुढाथोकीका अनुसार धुपी, अम्बा, पारिजात, भीमसेनपातीका काठबाट चन्दन बनाइने गरिएको छ । पशुपतिनाथका बिसेट अरुण श्रेष्ठका अनुसार यस्ता चन्दन तयार हुने गरेको भए पनि चन्दन घोट्ने व्यक्ति आधिकारिक नियुक्तिका होइनन् र यो चन्दन पशुपतिनाथलाई अर्पण गर्ने गरिएकै छैन । उहाँले चन्दन माग गर्नेले यस्ता काठ ल्याउने गरेका छन् भन्ने सुनिएको जानकारी दिनुभयो ।

पशुपतिनाथका कोटवाल पूर्णनारायण जोशीका अनुसार अम्बा, धुपी, पारिजात, कपुर र भीमसेनपातीका काठबाट चन्दन बनाइने गरिए पनि यो चन्दन निजी प्रयोजनका लागि मात्र हुन सक्ने बताउनुभयो । चन्दन बनाउनेले व्यक्तिको माग अनुसार तयार गर्ने गरेको छ, बिहान आउने भक्तजनले चन्दन मागेमा चिनेजानेका आफन्तलाई सालको पातमा बेरेर दिइने चन्दन यही हो ।

जानकारका अनुसार दक्षिणाको लालचमा चन्दन घोट्ने यो कार्य चलेको दसकौँ भइसकेको छ । यो अघोषित रूपमा फस्टाउँदै आएको पनि छ ।
विसेट अरुण श्रेष्ठका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट उपहार प्राप्त भएको श्रीखण्ड पशुपतिनाथमा प्रयोग भइरहेको छ । वासुकीमा, पशुपतिमा र भक्तजनको वितरणका लागि क्रमशः एक, एक र १५ किलो श्रीखण्ड मासिक रूपमा प्रयोग भइरहेको श्रेष्ठ बताउनुहुन्छ । 

यस बाहेक पशुपति गुठी गोश्वाराबाट मासिक एक धार्नी र तत्कालीन कौषी तोषाखाना (हाल अर्थ मन्त्रालय निवृत्तिभरण व्यवस्थापन कार्यालय) मा मौज्दात रही पशुपतिनाथलाई प्राप्त भएको मासिक एक धार्नी श्रीखण्ड नियमित रूपमा प्राप्त भइरहेको छ । ‘‘यही चन्दन पशुपतिनाथलाई अर्पण हुन्छ र भक्तजनका लागि पनि प्रदान गरिन्छ,’’ श्रेष्ठ स्पष्ट पार्नुहुन्छ । 

पशुपतिमा चन्दनको व्यवस्था भए पनि अन्य काठको चन्दन कुन आवश्यकताले बनाउन परेको हो भन्ने खुल्न नसकेको स्वयं अधिकारीहरूको भनाइ छ । विसेट श्रेष्ठ थप्नुहुन्छ, ‘‘अन्य काठबाट बनेको चन्दन बिक्री हुन्छ भन्ने सुनिए पनि आधिकारिक रूपमा कोषका कुनै व्यक्ति र निकायको संलग्नता छैन ।’’ 

गुठी संस्थान, पशुपति गुठी गोश्वारा कार्यालय प्रमुख लछुना शर्मा काफ्लेले श्रीखण्ड बाहेकको अन्य काठबाट चन्दन बनिरहेको छ भन्ने आफूलाई जानकारी नभएको बताउनुभयो । काफ्लेका अनुसार असली श्रीखण्डबाटै चन्दन तयार भइरहेको छ भन्नेसम्म गोश्वारालाई जानकारी छ । 

चन्दन घोट्ने हरि बुढाथोकी २०७२ सालको भूकम्पपछि आफूखुसी चन्दन घोट्न मन्दिर परिसर पसेको बताउनुहुन्छ । यसअघि अर्कैले चन्दन  घोट्थे । पशुपतिनाथका मूल भण्डारी कविन्द्रलाल राजभण्डारीले चन्दन घोट्नेलाई आफूहरूले आफ्नैतर्फबाट सामान्य खर्च दिने गरेको बताउनुभयो । यस्ता काठका चन्दनले चर्मरोग पनि देखापर्दै आएको आनन्द खेरा फ्रेन्ड एन्ड फेमिली ट्रष्टका डा. पदमराज भारती बताउनुहुन्छ । उहाँले महाशिवरात्रिको शिविरमा चन्दनले छालामा फोका तथा दाद आएका विरामी भेटिएको बताउनुभयो । (गोरखापत्र दैनिकबाट)

ताजा खबर