पानी तरल हो

२०७५ चैत ११ सोमबार १६:३३:०० मा प्रकाशित

पानी तरल हो
ठोस पनि त पानी हुन्छ
झन चम्किलो- स्फटिक

दृश्यमा पानी र हिउँको फरक
तातोमा कहाँ टिक्छ
चिसोको बीचमा न देखिन्छ।

तरल र ठोस दुई विपरित होईनन
देखिनु र यथार्थमा हुनुको द्वन्द
पानी जनता हो, हिउँ नेता हो ।

फरक अस्तित्वको एउटै सार
सपना,भाषण र ब्यबहार
के सबै पानीका फोका हुन ?

पानी वा हिउँ दुबैको खोजी फोकामा गर्न सकिन्छ
फोका हुनु र नहुनुको कुनै अर्थ छ र ?
तरल पनि हो, ठोस पनि हो।

कर्कलोको पातमा
गतिशिल छाँगामा
विशाल समुन्द्रको छालमा 
पानीको फोका आफ्नो स्वरुप देखाउँछ ।

पानीको फोका तरल वा ठोस
सत्य पनि हो, यथार्थ पनि हो
तर भ्रम पनि त हो नी
भ्रमको दुनियाँमा सत्यको खोजी ।

(नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालको २०७५,असोजमा लेखिएको यो कविता उनको फेसबूकवालबाट साभार गरिएको हो ।)

ताजा खबर