मनमोहक चितवन

२०७५ चैत ११ सोमबार १४:४०:०० मा प्रकाशित

काठमाडौंबाट नजिकै रहेको उत्तम पर्यटकीय स्थल चितवनले वर्षेनी स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गरिरहेको छ ।

चितवनको सौराहा क्षेत्र र त्यहाँ रहेको जैविक विविधताले आकर्षित नहुने कमै होलान् । विशेषगरी एकसिंगे गैडा, हात्ती प्रजनन केन्द्र, घडीयाल प्रजनन केन्द्र जस्तो अद्भुद आकर्षणले चितवनलाई मनमोहक बनाएको छ ।

पछिल्लो समय चितवनमा पर्यटक लक्षित होटल तथा लजहरु खुल्नाले चितवन सुविधा सम्पन्न पर्यटकीय स्थल बन्न सकेको छ । विशेषगरी सौराहा क्षेत्र, मेघौली जस्ता क्षेत्रमा ठुला लगानीमा खुलेका रिसोर्टहरुले पर्यटकहरुलाई चितवन आइरहने बनाउन सकेको छ ।

चितवन घुमाइको क्रममा गरिने जंगल सफारी, हात्ती चढ्दै जंगलको घुमाइ, हात्तीको नुहाइ जस्ता मनोरञ्जन पनि चितवनको सबल पक्ष रहेको स्थानीयहरु बताउँछन् ।

बीसहजारी ताल, नारायणी नदी, पवित्र देवघाट स्थल, मौला कालिका मन्दिर क्षेत्रको अवलोकन तथा घुमाइले पर्यटकहरुलाई प्रशस्त आनन्द दिन सकिरहेको छ ।

चितवनमा रहेको थारु संस्कृति तथा खान्की, त्यहाँ रहेको मिश्रीत संस्कारले पनि चितवनलाई अन्य जिल्ला भन्दा पृथक बनाउन सहयोग गरेको छ । नेपालको पूर्व तथा पश्चिमबाट काठमाडौं आउन सहज रुट पर्ने चितवन जानको लागि हवाइ मार्ग तथा सडक मार्ग दुबै विकल्प उपलब्ध छ ।

मौसमको आधारमा असोज देखि चैत सम्मको अवधिमा चितवन घुम्न उत्तम हुने पर्यटन व्यवसायीहरु बताउँछन् ।

हात्तीपोलो खेलको विश्वकप खेलिने चितवन यसअघि नै उक्त खेलको कारण विश्वमाझ परिचित रहिसकेको छ ।

हाल धुर्मुस र सुन्तलीको संस्थाले चितवनको रामपुर क्षेत्रमा बनाउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनेपछि चितवनको नयाँ परिचय बन्ने विश्वास गरिएको छ ।

सन् २०२० को पर्यटन वर्ष सफल बनाउन चितवनको ठुलो भुमिका रहने सम्बन्धीत क्षेत्रका अधिकारीहरु बताइरहेका छन् । नेपालको सुन्दरता देखाउन चितवन उपयुक्त हुने पनि उनिहरुको दाबी रहेको छ ।  

पछिल्लो समय आवास तिव्र रुपमा बढेसँगै पर्यटन व्यवसायीहरुको संख्या पनि ह्वात्तै बढ्नाले पनि चितवन आतिथ्यको लागि उत्तम क्षेत्रको रुपमा परिणत हुँदै गइरहेको बताइन्छ ।
    

 

ताजा खबर