यसकारण चकित परे जाभेद अख्तर

२०७५ चैत १० आइतबार ११:४७:०० मा प्रकाशित

एजेन्सी । भारतमा लोकसभा चुनावको रन्को चढेको मौकामा ‘पीएम मोदी’ फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जिवनीका राम्रा अध्यायहरुमा आधारित यस फिल्मको ट्रेलर बाहिरिएसँगै यसको खुब आलोचना भइरहेको छ ।

चुनाव जित्नको लागि मोदीले गरेको राम्रा कामको बढाइ चढाइ गरेको यस फिल्ममा उनको नकारात्मक कामहरुको उल्लेख पनि नभएको खबर बाहिरिएसँगै यसको चर्को आलोचना भइरहेको छ ।

यस्तोमा यस फिल्मको गीतकारको नाममा चर्चित लेखक जाभेद अख्तरको नाम पनि हालिएपछि स्वयं जाभेद नै चकित परेका छन् । उनले उक्त फिल्मको लागि आफुले केहि नलेखेको बताएपछि झनै आलोचनाको क्रम बढेको थियो ।

७४ वर्षिय सफल लेखक जाभेदको नाम बेचेर व्यक्तिमुखी यस फिल्मलाई चुनावको हथकण्डा बनाएको आरोप लागेपछि निर्माता सन्दीप सिंहले यसबारे स्पष्टीकरण दिएका थिए ।

उनले फिल्ममा जाभेद लेखेको गीत ‘इश्वर अल्लाह’ र ‘सुनो गौर से दुनियाँ वालो’ को शब्दहरु प्रयोग गरेको कारण अख्तरको नाम पनि गीतकारको सूचीमा राखेको बताए ।

फिल्ममा अख्तरको नाम बाहेक अन्य गीतकारहरुको नाम पनि लेखिएको उनले बताएपनि आलोचकहरुले फिल्मको बारेमा नकारात्मक टिप्पणीलाई निरन्तरता दिएका छन् ।  

 

ताजा खबर