अक्षय कुमार र सलमान खानको फिल्म भिड्ने ?

२०७५ चैत १० आइतबार ११:१३:०० मा प्रकाशित

एजेन्सी । बलिउडका दुई चर्चित नायक अक्षय कुमार र सलमान खानको फिल्म एकै समयमा रिलिज हुँदै एक आपसमा भिड्ने सम्भावना बढेको छ ।

सामान्यतया बलिउडमा सकेसम्म स्टारहरुले फिल्मको समय जुधाउने गरेका छैनन् । यसरी एकै समयमा दुई फिल्म आउँदा एउटा पछारिने सम्भावनाका कारण पनि सकेसम्म फिल्म जुधाइहाल्ने परिपाटी बलिउडमा छैन ।

यसका बावजुद अक्षय र सलमानको फिल्म जुध्ने सम्भावना ह्वात्तै बढेको छ ।

सलमान खानको फिल्म ‘इन्साअल्लाह’ निमार्णको क्रममा रहेको छ । निर्माता तथा निर्देशक सञ्जय लिला भन्सालीको उक्त फिल्ममा सलमान बाहेक आलीया भट्ट पनि रहेकी छिन् ।

उक्त फिल्म यसअघि नै सन् २०२० को ईदमा रिलिज हुने बताइ सकिएको छ । सलमान खान अति नै व्यस्त नायक भएकाले उनको फिल्मको तिथी मिति सामान्यता तोकेकै समयमा हुने गरेको छ । अझ विशेषगरी हरेक वर्ष ईदको समयमा सलमानको फिल्म रिलिज हुने पक्का जस्तै छ ।

यस्तोमा अक्षय कुमारको प्रमुख भुमिका रहेको निर्देशक रोहित शेट्टीको आउँदो फिल्म ‘सूर्यवंशी’ पनि सोही मितिमा रिलिज हुने खबर बाहिरिएको छ ।

यस फिल्ममा अजय देवगन र रणबीर सिंहको पनि छोटो भुमिका रहेको र यो फिल्म तमिल फिल्मको रिमेक रहेको पनि बताइएको छ ।

यि दुबै फिल्मको सम्भावित रिलिज मिति एउटै बताइएपछि यि फिल्म एकआपसमा भिड्ने भएको हो । यि मध्ये कुन चाहिं फिल्मले दर्शक तान्छ, त्यो हेर्न केहि समय कुर्नुपर्नेछ ।   

 

ताजा खबर