नेकपाको एकताः धार्नी न बिसौली

२०७५ चैत ८ शुक्रबार १२:५६:०० मा प्रकाशित

 काठमाडौं । दुई वर्षभित्रै एकता महाधिवेशन गर्ने घोषणा गरेर एक भएका तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताले एक वर्ष टेक्न आँटिसक्दा पनि दलको सम्पूर्ण एकता हुन सकिरहेको छैन । गत जेठ ३ गते राष्ट्रिय सभागृहमा आयोजित समारोहका बीच एकता घोषणा गरेका यी दुई दलको सांगठनिकलगायत वर्गीय तथा भ्रातृ संगठनको एकता यतिबेलासम्म हुन सकिरहेको छैन । पार्टी भित्र चरम रूपमा मौलाएको गुटगत राजनीतिकै कारण पनि एकताले अन्तिम रूप पाउन नसकिरहेको हो । दलको अवरुद्ध एकताप्रक्रियालाई हेर्दा निर्णायक तहमा रहेका नेतामा एकताप्रक्रियाप्रति उतिसाह्रो चासो नदेखिएको तर जसलाई एकताप्रक्रिया चाँडोभन्दाचाँडो सक्नु छ ऊ भने निर्णायक तहमा नभएको अवस्था यतिबेला सत्तासीन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको छ ।

कछुवा गतिमा चलेको एकताप्रक्रिया यतिबेला निर्णायक तहका नेताको चासोबाहिर रहेको अवस्था देख्नमा आएको छ । दुवै दलका लाखौं कार्यकता यतिबेला निष्क्रिय अवस्थामा छन् भने सम्भावना बोकेका कतिपय नेता यतिबेला बेरोजगार छन् । यस्तोमा पार्टी एकतालाई गति दिएर सबैमा जिम्मेवारी सुम्पनु अपरिहार्य भए पनि मुलुक चलेकै कारण नेताहरुले उति साह्रो चासो नदिएको जस्तो अवस्थाबाट नेकपा अहिले गुज्रिरहेको छ ।
त्यसै पनि धूमवाराहीमा नेकपाको एकीकृत कार्यालय रहेकै छ ।

केन्द्रमा सबै एकीकृत अवस्थामा नै छन्, त्यसैले पनि तत्कालै एकतालाई अन्तिम रूप दिई नहाल्दा कुनै आकाश नखस्ने बुझाइ शीर्ष नेताहरुको रहेको दलकै कतिपय नेताले बताउन थालेका छन् । नाम उल्लेख नगर्ने शर्तमा नेकपाकै एक स्थायी समितिका सदस्यले भनेका छन्– ‘अहिले नै सबैमा किन एकता चाहियो, केन्द्रमा एकता भएकै छ । प्रदेशसम्म पुगेकै छ । सहमति भएका स्थानीय तहसम्म कुरो मिलेकै छ । नमिलेका ठाउँमा भागबण्डा चलेकै छ, अनि किन चाहियो एकता ?’ एकताप्रक्रियामा देखा परेका गतिरोधको प्रमुख कारण भने पार्टीभित्रको गुटगत राजनीति नै हो भन्नेहरु पनि पार्टीभित्र छन् । उनीहरुका अनुसार दलमा फैलिएको गुटको ऐंजेरुका कारण पनि एकताको गाँठो फुक्न नसकेको हो । पार्टीभित्र यसै पनि दुई पार्टी पूर्व एमाले र पूर्व नेकपा माकेको सिंगो गुट रहने नै भयो, त्यसमा पनि थप ती दुवै दलका गुट÷उपगुटको चलखेल उत्तिकै रहेको छ ।

पार्टीभित्र अध्यक्ष ओलीको आफ्नै गुट छ । अर्का अध्यक्ष प्रचण्ड पनि गुटकै खेतीमा संलग्न छन् । यी प्रमुख दुई गुटबाहेक पनि तत्कालीन एमाले र नेकपा माकेभित्र हिजै देखि अस्तित्वमा रहेका अरु गुट पनि सरेर नेकपाभित्र आइपुगेका छन् । ती गुटमा माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, रामबहादुर थापालगायतका गुट छन् । उपगुटभित्र छिर्ने हो भने अझ बढी समस्या देखिन्छ– जसको प्रत्यक्ष शिकार बनेको छ दलकै एकता प्रक्रिया । एकतालाई टुंगोमा पु¥याउने भन्दै पटक÷पटक बस्ने दलको नौ सदस्यीय सचिवालय बैठक हरेकपटक बेग्ला बेग्लै निहुँमा अनिर्णित हुँदै सकिने गरेको छ । पछिल्लो समय पत्नी सीता दाहालको उपचारार्थ प्रचण्ड अमेरिका गएपछि भने पार्टी एकताको कुरा कमसेकम यो महिना प्राथमिकतामा नपर्ने निश्चितजस्तै भएको छ ।

पछिल्लोपटक फागुन महिनाभरमा एकताप्रक्रिया टुंगोमा पुगिसक्ने प्रतिबद्धता दिने अध्यक्ष नै यतिबेला दलका काम थाँती राखेर अमेरिका लाग्नुले पनि यो महिनाको सम्भावना टरेर गएको हो । यद्यपि प्रचण्डले एकताका विषयमा दिएको यो म्याद नौलो भने हैन । प्रचण्डले गत दशैंदेखि नै यस्ता भाका कार्यकर्तालाई सुनाउँदै आएका छन् । पटक÷पटक भाका तोक्दै आएका प्रचण्ड नै नभएपछि अवरुद्ध बन्न पुगेको एकताप्रक्रियाबारे दलकै वरिष्ठ नेता माधव नेपालले मुख खोल्ने भएका छन् । पार्टी एकीकरणप्रक्रिया अनावश्यक रूपमा लम्ब्याइएको भन्दै वरिष्ठ नेता माधवको टिप्पणी सार्वजनिक भएको छ । माधवले, दलको तल्लो तहसम्मको एकीकरणको काम लम्ब्याइएको भनी चिन्ता व्यक्त गर्दै यसले सिंगो पार्टी र यसमा आबद्ध कार्यकर्तामा निराशा छाएको बताएका छन् । अठोटका साथ काम गरेएक महिनाभित्रै एकीकरणका सबै बाँकी काम सकिने उनको भनाइ छ । यद्यपि नेपालले प्रचण्ड अमेरिकाबाट फिर्ता भएपछि कामले गति लिने आशा भने त्यागेका छैनन् । 

प्रचण्ड अमेरिकाबाट फर्केपछि दलको सांगठनिक एकीकरणको काम टुंगोमा पुग्नेमा आफू आशावादी रहेको नेपालले बताएका छन् । प्रचण्ड १० दिनका लागि भनेर चैत ३ गते प्रचण्ड अमेरिका उडेका हुन् । यद्यपि तोकिएकै समयमा प्रचण्डको फिर्ती भने नहुन सक्छ । यसैबीच एकताप्रक्रियालाई टुंग्याउने भन्दै विभिन्न समयमा गठित कार्यदलहरुले समेत एकतालाई टुंगोमा पु¥याउन नसकेपछि सम्पूर्ण कामको जिम्मा दुवै अध्यक्षले लिएका थिए । तर,दुवैले एकताको कामलाई समय दिनेभन्दा पनि अन्यत्रै बढी रुची दिन थालेपछि एकताप्रक्रियाले गति लिन नसकेको कार्यकर्ताको बुझाइ छ ।

विगतमा एकता घोषणा गर्दा मूल समितिमात्रै एकीकृत भएको र बाँकी काम एक महिनाभित्रै सक्ने घोषणा भए पनि आज १० महिना बितिसक्दा पनि एकताको काम वरबाट पर सर्न सकेको छैन । त्यसैका लागि विभिन्न कार्यदल बने तर कार्यदल पनि सफल नभएपछि पछिल्लो चरणमा सम्पूर्ण एकताप्रक्रिया र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँटको विषयमा टुङ्गो लगाउने जिम्मेवारी सचिवालयले लिए पनि कामले गति लिन सकेको छैन । 

एकताप्रक्रिया लम्बिएको विषयलाई स्वयं दलकै महासचिव विष्णु पौडेल पनि स्वीकार गर्छन् । पौडेलको भनाइ छ– ‘दलको एकताप्रक्रिया लम्बिएकै हो । यसले पार्टीभित्र पनि पीडाबोध भएको छ । हामी फरक–फरक पृष्ठभूमि, फरक योगदान र इतिहासका साथ एक ठाउँमा आइपुगेका छौं । साझा सैद्धान्तिक, कार्यनीतिक निष्कर्षमा आइपुग्यौं । यसले गर्दा हामीलाई एकतातर्फ अघि बढ्न बलियो आधार प्रदान गरेको अवस्थामा एकताप्रक्रिया अवरुद्ध हुनु राम्रो हैन ।’ महासचिव पौडेल पनि प्रचण्ड अमेरिकाबाट फर्केलगत्तै एकताका बाँकी रहेका सबै काम टुंगिनेमा आफू विश्वस्त रहेको बताउँछन् । पार्टीभित्र गुटगत राजनीति हावी रहेको तर्फ घुमाउरो पाराले संकेत गदै महासचिव पौडेलले बताएका छन्– ‘अब हामीले विगतका समीकरणको सम्झना गरेर चल्ने होइन ।

त्यसरी हिंड्ने हो भने नयाँ ठाउँमा पुगिँदैन । अहिले हामी चल्ने भनेको बृहत् राष्ट्रिय आवश्यकतालाई केन्द्रभागमा राखेर चल्ने हो । आज नेकपा र यसको सफलता तथा असफलता केही नेताको सफलता अनि असफलतामा मात्र सीमित रहने अवस्था छैन । यसको सफलता र असफलता सिंगो देश अनि जनताको जीवनसँग जोडिएको छ । हामी फराकिलो राष्ट्रिय आवश्यकतालाई केन्द्रमा राखेर एकता प्रक्रिया टुंग्याउन चाहन्छौं । यससँगै पौडेलले, एकताका लागि अब कुनै पनि कोणबाट छलफल हुन बाँकी छैन भन्दै कुनै पनि निर्णयमा पुग्न तर्क, प्रतितर्क संकलन गर्न बाँकी छैन भनी बताउनुभएको छ । पौडेलका अनुसार, विगतमा गठित कार्यदलहरुले सबै प्रकारका तर्क संकलन गरेको, सबै प्रकारका प्रतितर्क र तथ्य पनि संकलन गरेका कारण तिनका आधारमा नै छलफल र विमर्श पनि भएको अनि त्यसमा आधारित रहेर एकताले अन्तिम रूप ग्रहण गर्ने छ । (आजको साप्ताहिक विमर्शमा पत्रकार कृष्ण पोखरेलको समाचार विश्लेषण)
 

ताजा खबर